लोग्ने–स्वास्नीको झगडा

लोग्ने–स्वास्नीको झगडा

लोग्ने–स्वास्नीको झगडालाई परालको आगो भनिन्थ्यो । तर, नागरिक उन्मुक्ति पार्टीमा यतिबेला के–को आगो बलेको हो बुझ्न कठिन छ । पार्टीमा नेता–कार्यकर्ताबीच झगडा हुनु स्वाभाविक हो । त्यस्तो झगडा सबैतिर चलिरहेकै हुन्छ ।

तर एउटै पार्टीमा लोग्ने–स्वास्नीको झगडा भने पहिलो पटक चलिरहेको छ, नागरिक उन्मुक्ति पार्टीमा । लोग्ने–स्वास्नी झगडा परेपछि आगो त बल्छ नै । त्यहाँ विशेष गरी परालको आगो बल्ने हो । तर नागरिक उन्मुक्ति पार्टीमा लोग्ने–स्वास्नी झगडा परेर परालको होइन, अर्कै वस्तुको आगो बलिरहेको छ ।

अब यो कस्तो आगो हो, कार्यकर्ताले पनि ठम्याउन सकिरहेका छैनन् । ठम्याउन नसक्नु स्वाभाविक हो । किनभने पार्टीमा लागिरहेको यो आगो जो छ, त्यो पार्टीको केन्द्रीय समिति वा पोलिटब्युरोबाट आएको होइन ।

यो त अध्यक्ष एवं संरक्षकज्यूको भान्छाबाट आइरहेको छ । अथवा हुनसक्छ, बेडरुमबाट आइरहेको होस् । अथवा अर्कै ठाउँबाट आइरहेको पनि हुन सक्छ । त्यो कार्यकर्ताले थाहा पाउने कुरा भएन । यस्तो खालको आगो अहिलेसम्म कुनै पनि पार्टीमा लागेको छैन । त्यसैले यसको स्रोत पत्ता लगाउन गाह्रो परिरहेको छ ।

घर आगलागी हुँदा बीच–बीचमा ग्यास–स्याँस पड्केर ढ्वाङ्ग आवाज आउने गर्छ नि, अहिले नागरिक उन्मुक्तिमा पनि त्यस्तै ढ्वाङ्ग–ढिङ्ग आवाज आउन थालेको पाइन्छ । पार्टी ‘डिभोर्स’ हुन्छ कि क्या हो ?  
 

टिप्पणीहरू