राष्ट्रिय फलको सकस

राष्ट्रिय फलको सकस

कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले भर्खरै मात्र उद्घोष गर्नुभयो कि अब सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरिनेछ । सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने जानकारीले देशका तमाम सुन्तला व्यवसायीलाई खुशी बनाएको हुनुपर्छ । 

सुन्तला राष्ट्रिय फल घोषणा हुनु खुशीको कुरा त हो नै ! साथसाथै उत्तिकै खतरनाक पनि । किनभने राष्ट्रिय फल घोषणा भइसकेपछि मान्छेले सुन्तला खान मिल्छ कि मिल्दैन ? यो प्रश्न उठ्ने निश्चित छ ।

हाम्रो राष्ट्रिय जनावर गाई हो । राष्ट्रिय जनावर भएकाले गाई खान मिल्दैन । यदि, राष्ट्रिय जनावर खान मिल्दैन भने राष्ट्रिय फल पनि त खान मिल्दैन होला नि ! मिल्छ ? राष्ट्रिय जनावर खानेलाई जेलमा कोचेजस्तै भोलि राष्ट्रिय फल खानेलाई पनि जेलमा कोच्ने हो कि ? राष्ट्रिय फल सुन्तलाबारे संविधानले के भन्छ ?

अर्को कुरा । सुन्तलाको राष्ट्रिय फल घोषणाले आजभोलि विभिन्न हास्यकार्यक्रममा महिला बनेर आउने पुरुष कलाकारलाई पनि अप्ठ्यारोमा पार्न सक्छ । ती पुरुष कलाकारले सुन्तलालाई ठाउँ–बेठाउँ प्रयोग गर्ने सबैलाई थाहा छ । त्यो भनेको सुन्तलाको प्रयोग होइन, दुरुपयोग हो । अब राष्ट्रिय फल घोषणापछि राष्ट्रिय फललाई त्यसरी ठाउँ कुठाउँ प्रयोग गर्न मिल्छ कि मिल्दैन, त्यो पनि प्रश्न आउँछ नै होला । आउँदैन र ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू