गृहमन्त्रीलाई प्रश्न - सहकारीको एक करोड रकम जम्मा भएको रवि लामिछाने तपाईं नै हो ?

गृहमन्त्रीलाई प्रश्न - सहकारीको एक करोड रकम जम्मा भएको रवि लामिछाने तपाईं नै हो ?
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन सुझाएका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै उनले छानविन निष्पक्ष तुल्याउन पद छोड्नु उपयुक्त हुने बताएका हुन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले छानविनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्नेमा जोड दिए । त्यसक्रममा उनले गृहमन्त्री लामिछाने प्रवन्ध निर्देशक रहँदाका बखत ग्यालेक्सी टेलिभिजनमा भएको सहकारीको लगानीबारे प्रश्न उठाए । 

'ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको को कि होइन ? १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो । यदि यो उहाँ नै हो भने छानविनको निष्पक्षता र विश्वसनीयतालाई अझ सुनिश्चित गर्नका निमित्त उहाँले छानविन नसकिदाँसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो । त्यसकारण यो अवस्था हुन्छ कि हुँदैन ? त्यो भइदियो भने छानविन निष्पक्ष र विश्वसनीय हुन्छ । अहिलेको आवश्यकता नै त्यति हो', उनले भने । 

सांसद बडूले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीलाई छानविन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेकोप्रति पनि असन्तुष्टि व्यक्त गरे । चौधरीमाथि पूर्वाग्रहवश अनुसन्धान गरिएको हो कि भन्ने आशंका पैदा भएको उनको भनाई छ ।

‘संविधानमा यो व्यवस्था छैन कि कसैमाथि छानविन हुँदैछ है भनेर पूर्वजानकारी गराइदिएर चिट्ठी लेख्नुपर्ने कारण के रहेछ ? कुन संविधानको व्यवस्था हो ? कुन नियमावलीको व्यवस्था हो ? हामी बुझ्न सकिरहेका छैनौँ । त्यसकारण यो कसैलाई ह्यारेसमेन्ट गर्ने मात्रै उद्देश्य हो कि ?, बडुले भने, 'अनुमान त जे पनि लगाउन सकिने भयो । सावधान होउ यस्तो हुँदैछ, आफ्नो ठाउँ लिइहाल भनेको पो हो कि ? के अर्थ हो यसको ? हामी बुझ्न सकिरहेका छैनौँ ? यसले कतै, कुनै किसिमको पूर्वाग्रह राखेको हो कि ? शंकाको ठाउँ छ ।'

टिप्पणीहरू