गरिब चेलीहरूको जीवन बदल्ने एक शिक्षिकाको असाधारण यात्रा
चीनको युन्नान प्रान्तभित्र लिचियाङ पहाडी भागमा अवस्थित एउटा विद्यालयको ढोका खोल्न हरेक बिहानको पहिलो घाम झुल्किन नपाउँदै दुब्लो शरीर पुगिसकेको हुन्छ। त्यो शरीर चाङ कुईमेइको हो । ६८ वर्षीया शिक्षिका,जसले जीवनका सबै सपना अरूका छोरीहरूको भविष्यमा साटिन् ।
गरिबीका कारण विद्यालय छोड्न बाध्य किशोरीहरूलाई देख्दा उनको मन सँधै विचलित रह्यो । धेरैका लागि त्यो अवस्था सामान्य थियो,तर चाङका लागि भने परिवर्तनको सुरुवात बन्यो । ‘यदि विद्यालय छैन भने,उसको भविष्य पनि छैन,’ भन्ने विश्वाससहित उनले हुआपिङ गर्ल्स हाई स्कूल स्थापना गरिन् । उक्त विद्यालय चीनकै पहिलो निःशुल्क बालिकाहरुको आवासीय विद्यालयमध्ये एक हो ।
सोही विद्यालय पढाइको थलो मात्र होइन,हजारौँ छोरीहरूका लागि आश्रय, भरोसा र आत्मविश्वासको आधार बन्यो । आर्थिक अभावले थिचिएका ग्रामीण भेगका चेलीहरूले सोही विद्यालयमा अक्षर चिने,सपना देखे र आफ्नो जीवन आफैँ बदल्ने साहस पाए ।

दशकौँ बितिसक्दा पनि चाङको दैनिकी भने उस्तै छ । रोग,पीडा र थकानसँग जुध्दै उनी अझै कक्षाकोठामा उभिने गर्दछिन् । उनका पाइला बुढ्यौलीका कारण हिजोको तुलनामा ढिला भएका छन्,तर प्रतिबद्धता अझै बलियो छ। भन्छिन्, ‘म थाक्न सक्छु,तर छोरीहरूको भविष्य थाक्न पाउँदैन।’
हरेक वर्ष कलेज प्रवेश परीक्षाको दिन चाङ आफ्ना छात्राहरूसँगै परीक्षा केन्द्रसम्म पुग्छिन् । उनीहरूका काँधमा हात राख्दै हौसला दिन्छिन्,आँखाभरि विश्वास बोकेर बिदाई गर्छिन् । ती क्षण केवल परीक्षा होइनन्—ती भविष्यतर्फको यात्राका स्वर्णीम द्वार पनि हुन् ।
चाङ कुईमेइको जीवनकथाबाट प्रेरित टेलिभिजन श्रृंखला ‘सि एण्ड हर गर्ल्स’ ले यही असाधारण यात्रालाई पर्दामा उतारेको छ । यो श्रृंखला केवल एक शिक्षिकाको कथा होइन; यो त्याग, साहस र शिक्षाले जीवन बदल्न सक्छ भन्ने विश्वासको यथार्थ कथा हो।
आज चीनमा चाङ गुईमेइ एक व्यक्ति मात्र होइनन् । हजारौँ छोरीहरूको आवाज,आशा र उज्यालो बनेकी छन् । सोही ज्ञानका कारण दक्षिण पश्चिम चीनको ग्रामीण भेगमा शिक्षाले अन्धकारलाई जनताको भाग्य बदलिदिएको छ ।
टिप्पणीहरू