काठमाडौंको कवाडी

काठमाडौंको कवाडी

काठमाडौं महानगरपालिकाले अब महानगरभित्र कवाडी दुकान राख्न नपाइने नियम ल्याएको छ । नियम ल्याएको मात्र होइन, कवाडी दुकानहरूमाथि डोजरसमेत चलाउन थालेको छ । डोजरविरुद्ध केही कवाडी दुकानदारहरू सडकमा पनि उत्रेका थिए । तर सडकमा उत्रे पनि यसबाट महानगरपालिकालाई कुनै असर परेन । किनभने सडक महानगरपालिका अन्तर्गत पर्दैन । त्यसैले कोही कुनै कारण देखाएर सडकमा उत्रन्छ भने त्यो संघीय सरकारको टाउको दुखाइ हो । यसमा बालेनलाई बाल मतलब छैन । 

अँ, कुरा कवाडीको चलिरहेको थियो । महानगरपालिकाले कवाडी हटाउने निर्णय त गर्‍यो । निर्णयलाई राम्रै भन्नुपर्छ । तर कवाडी हटाउँदैमा काठमाडौंको कवाड भने हट्ने सम्भावना छैन । कवाडी हट्दैमा काठमाडौं सफासुग्घर पनि हुने हैन । साँच्चै काठमाडौं सफासुग्घर नै गर्ने हो भने सबैभन्दा पहिले हटाउनुपर्ने त सिंहदरवार हो । किनभने काठमाडौंको सबैभन्दा ठूलो कवाडीखाना सिंहदरवार हो ।

सिंहदरवारलाई जस्ताको तस्तै राखेर काठमाडौं सफासुग्घर हुन्छ ? काठमाडौंको सबैभन्दा ठूलो, गन्हाउँदो, फोहोर कुडाकर्कट त सिंहदरवारमा छ । पहिले त्यो हटाउनुस् । अनि हुन्छ काठमाडौं सफासुग्घर । कवाडी मात्र हटाएर त केही पनि हुँदैन । कि कसो ? 

टिप्पणीहरू