माधव नेपालको खोजी

माधव नेपालको खोजी

एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला माधव नेपालको खोजीमा हुनुहुन्छ । राजनीतिमा कहिले कुन बेला कसको खोजी हुन्छ भन्न सकिँदैन । केपी ओलीले माधव खोज्नु भनेको पनि त्यही भन्नै नसकिने कुरा हो ।

तर खोजी भइदियो । तथापि केपी ओलीलाई चाहिएको माधव नेपाल हो कि माधव नेपालसँग भएका सांसदहरू हुन् त्यो अझै थाहा भइसकेको छैन । किनभने संसदमा सत्ताको समीकरण क्षण प्रतिक्षण बदलिँदो छ । कहिले कहाँनिर के हुन्छ भन्नै सकिँदैन । यस्तो अवस्थामा आफू सुरक्षित हुन पनि केही न केही गर्नैपर्ने हुन्छ । त्यही कारणले पनि केपी ओलीलाई माधव नेपाल नभई नहुने अवस्था सिर्जना भएको छ । 

अब स्थिति जेसुकै होस्, अगाडि बढ्नु छ । किनभने सत्ता अगाडि नै छ, पछाडि छैन । सत्ता यदि अगाडि छ भने अगाडि नै बढ्नु पर्‍यो । यसको लागि पनि माधव नेपाल नै चाहिन्छ । पुनः समस्या यहींनिर छ ।

एमालेलाई यतिबेला माधव नेपाल चाहिएको पार्टीको लागि हो कि, सत्ताको लागि हो कि, वाम एकताको लागि हो, देश निर्माणको लागि हो कि, जबज अगाडि बढाउनलाई हो कि, अथवा मिशन ८४ को लागि हो ? केको लागि हो ? उसै पनि माधव नेपाल हरेक संकटको लागि आवश्यक पर्ने र संकट टरेपछि आवश्यक नपर्ने नेता भनेर चिनिएका नेता हुनुहुन्छ ।

मदन भण्डारीको निधनपछि पार्टीमा संकट पर्‍यो, माधव नेपाल चाहियो । संविधानसभा चलाउनु पर्‍यो, माधव नेपाल चाहियो । संविधान जारी गर्नुपर्‍यो, माधव नेपाल चाहियो । लखनउ गएर माओवादीसँग वार्ता गर्नुपर्‍यो, माधव नेपाल चाहियो । अहिले पनि माधव नेपाल चाहिइरहेको छ । तर केका लागि ? कसैले बुझेको छ ? 

टिप्पणीहरू