युवा नेताको युवा काण्ड

युवा नेताको युवा काण्ड

युवा संघका जुझारु नेता महेश बस्नेतको नयाँ काण्ड सार्वजनिक भएको छ । उहाँको बारे नयाँ काण्ड मिडियाभरि चर्चा छ ।

उहाँ यदि साहित्यकार हुनुभएको भए नयाँ पुस्तक सार्वजनिक हुने थियो । कलाकार हुनुभएको भए नयाँ एल्बम सार्वजनिक हुने थियो । निर्माता हुनुभएको भए नयाँ फिल्म सार्वजनिक हुने थियो । उहाँ पर्नुभयो युवा नेता ।

अब एउटा युवा नेताको सार्वजनिक हुने कुरा भनेको यही त हो नि ! योभन्दा बाहेक अर्को के सार्वजनिक हुन्थ्यो ? युवा नेताको कुनै महिलासँग ‘अवैध’ सम्बन्ध ! यो कुनै काण्ड हो ? कुनै महिलासँग कुनै अवैध सम्बन्ध राखिन्छ भने त्यो राख्ने समय त युवा हुँदै हो नि ।

बालक हुँदा राख्ने कुरा आउँदैन, वृद्ध हुँदा राख्न सकिँदैन । सम्बन्ध राख्ने युवा बेलैमा हो । आखिर यही सम्बन्धका कारणले त प्रमाणित भयो कि महेश बस्नेत वास्तवमै युवा हुनुहुन्छ । होइन भने उहाँ युवा हुनुको प्रमाण के ? सबैभन्दा ठूलो प्रमाण नै यही हो– महिलासँगको सम्बन्ध । त्यो पनि अवैध । वैध सम्बन्ध त बूढाले पनि राख्छन् नि ! 

त्यसैले मलाई लाग्छ, यी सम्बन्धहरू तपसिलका कुरा हुन् । मुख्य कुरा उहाँ युवा हुनुहुन्छ कि हुनुहुन्न भन्ने हो । युवा संघजस्तो जुझारु संगठन चलाउनु पर्ने मान्छे । यो काण्डपछि मलाई पूरापूर विश्वास भयो, उहाँ निसन्देह युवा संघ चलाउन योग्य युवा हुनुहुन्छ । योग्य युवालाई योग्य संगठन चलाउन दिएकोमा ‘बा’ लाई पनि गर्व नै लागेको होला । कि कसो ? 
 

टिप्पणीहरू