पाकिस्तानी चुनावले सिकाएको पाठ,जनता जनार्दन जिन्दावाद !

पाकिस्तानी चुनावले सिकाएको पाठ,जनता जनार्दन जिन्दावाद !
सुन्नुहोस्

आवधिक निर्वाचनलाई राजनीतिक दलको लोकप्रियता मापन गर्ने सबैभन्दा भरपर्दो विधि मानिन्छ । तर, कहिलेकाहीं चुनावी परिणाम निकै अनपेक्षित हुने गरेका थुप्रै उदाहरण छन् । नेपालमा स्वतन्त्रहरुको उदयसँगै कतिपयले दुई दलीय प्रणालीको वकालत गरिरहँदा नजिकैको छिमेकी पाकिस्तानको आमचुनावमा त्यस्तै आश्चर्यजनक परिणाम आएको छ । 

आमनिर्वाचनको मतगणना जारी रहँदा स्थापित र ठूला पार्टीलाई झड्का दिनेगरी 'स्वतन्त्र उम्मेदवार'को पक्षमा आएको नतिजाले सबैलाई आश्चर्यचकित पारेको हो । सत्ताधारी नवाज सरिफको दल पाकिस्तान मुस्लिम लिग (पीएमएल)लाई प्रतिवन्धित इमरान खान नेतृत्वको तेहरिक ए इन्साफ (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारहरुले कडा चुनौती दिएका छन् । 

पछिल्लो परिणामअनुसार इमरान खानको पीटीआई समर्थित उम्मेदवारहरु ४८ सिटमा विजयी भैसकेका छन् । १२० सिटमा उसका उम्मेदवारहरु अगाडि रहेको दाबी गरिएको छ । सत्ताधारी पीएमएलले भने ३८ सिट जितेको छ । बिलावल भुट्टो जर्दारीको दल पाकिस्तान पिपुल्स पार्टी (पिपिपि)ले जम्मा १९ सिट जितेर तेस्रोमा खुम्चिने लगभग निश्चित देखिन्छ ।

"इमरानको राष्ट्रवादी छवि र नवाजको सैन्य सत्ताविरुद्ध मतदाताको विद्रोहका रुपमा चुनावी परिणामलाई हेरिएको छ । पाकिस्तानको राजनीतिमा एकले अर्कालाई पछार्ने सिलसिलाको पछिल्लो शिकार भएका खान देश छोडेर गएनन् ।" 

३३६ सिटमध्ये २६५ सिटमा हिजो निर्वाचन भएको थियो । बाँकी आरक्षित सिटमा निर्वाचनको परिणामपछिको शक्तिका आधारमा दलहरुले सिट पाउने छन् । यस हिसाबले कम्तिमा १५० सिट इमरानको दलले जित्ने प्रक्षेपण भैरहेको छ । सरकार गठनका लागि १६९ सिट आवश्यक पर्ने भएकाले बाँकी साना पार्टीहरुलाई मिलाएर पीटीआईले सामान्य बहुमतको सरकार बनाउने र जेलमा रहेका इमरान प्रधानमन्त्री हुने सम्भावनाको समेत दाबी गरिएको छ ।

 

कतिपयले भने चुनावको यो परिणामले लोकतान्त्रिक अभ्यासमा कमजोर रहेको पाकिस्तानको राजनीतिक अस्थिरतालाई थप बढावा दिने पनि भनेका छन् । जे होस्, सरकारी प्रतिवन्धका बाबजुद पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरु मतदाताको रोजाईमा पर्नुलाई इमरानप्रतिको आकर्षणका रुपमा हेरिएको छ । 

सैन्य समर्थित वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार आरोपमा १४ वर्ष जेल सुनाउँदै पीटीआईलाई निर्वाचन लड्नसमेत प्रतिबन्ध लगाएको थियो । जसका कारण पीटीआई समर्थित उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनाव लडेका हुन् । सरकारले समातेर जेलमा हालेका कतिपय उम्मेदवारहरु जेलबाटै विजयी भएका छन् ।

पन्चायतका बेला नेपालका कम्युनिष्टहरुले जनपक्षीय उम्मेदवार उठाएजस्तै पीटीआईले हरेक निर्वाचन क्षेत्रमा दुईदेखि पाँच जनासम्म स्वतन्त्र उम्मेदवार उठाएको थियो । त्यसमध्ये उक्त पार्टी समर्थित भनेर खुलेकाहरुलाई चुनावकै दौरान पनि सरकारले समातेर जेल हालेको थियो । सरकारले चुनावी गतिविधिमाथिसमेत रोक लगाएको थियो । खुलेर भोट माग्नसमेत नपाएका पीटीआई समर्थित उम्मेदवारहरुले ठावैँपिच्छे छुट्टाछुट्टै निर्वाचन चिन्ह पाएपछि मात्र बोलेका थिए । 

यसका बाबजुद पीटीआईले यत्रो जनसमर्थन कसरी पायो ? इमरानको राष्ट्रवादी छवि र नवाजको सैन्य सत्ताविरुद्ध मतदाताको विद्रोहका रुपमा चुनावी परिणामलाई हेरिएको छ । पाकिस्तानको राजनीतिमा एकले अर्कालाई पछार्ने सिलसिलाको पछिल्लो शिकार भएका खान देश छोडेर गएनन् । यसअघिका नेताहरु मुद्दा लागेपछि देशै छोडेर जाने गरेका थिए । उनको देशभक्तिपूर्ण कदमलाई मतदाताले मतदानमार्फत अनुमोदन गरेको पाकिस्तानको आन्तरिक राजनीतिबारेका जानकारहरु बताउँछन् । 

यसअघि इमरानका समर्थकहरुले उनको गिरफ्तारीप्रति असहमति जनाउँदै बृहत प्रदर्शन गरेका थिए । खानको पक्षमा उत्रिएका प्रदर्शनकारीहरुले सैनिक हेडक्वार्टर,तालिम केन्द्रलगायतका विभिन्न सैन्य इलाकामा समेत आक्रमण गरेका थिए । त्यसले मतदातामा पैदा गरेको सत्ताप्रतिको नैराश्यता मतदानमा प्रकट भएको संकेत गर्छ । 

पाकिस्तानको राजनीति स्वभाविक हिसाबले अघि बढे खान प्रधानमन्त्रीको कुर्सी नजिक देखिन्छन् । तर, इमरानलाई रोक्न स्वतन्त्र उम्मेदवारहरुलाई प्रभावमा पारेर सत्ताधारी नवाज सरिफको दलमा आवद्ध गराउने र भुट्टोको दल पिपिपिसँग मिलेर सरकार बनाउने सम्भावना पनि छ । त्यसो हुँदा नवाज र बिलावलमध्ये एकजना प्रधानमन्त्री हुने अवस्था रहन्छ ।

टिप्पणीहरू