मोदीसामु ओलीलाई फर्काउने गोप्य मन्त्रणा

मोदीसामु ओलीलाई फर्काउने गोप्य मन्त्रणा

मौका मिले भागबण्डामा सामेल भइहाल्ने, नत्र आन्दोलनको चेतावनी दिने ! एक वर्षदेखि सत्ता राजनीतिबाट टाढा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपनाइरहेको रणनीति हो यो । राष्ट्रियसभा चुनावमा सत्तारुढ गठबन्धनसँग सिट भागबण्डा मिलाउन अथक प्रयास गर्नुभएका उहाँ अघिल्लो साता दिनहुँजस्तो बालुवाटार र सिंहदरबार पुग्नुहुन्थ्यो । तर, गठबन्धनसँग सिटमा कुरा नमिलेपछि रिसाउनुभएका ओली आन्दोलनबाट सरकार ढाल्ने भन्न थाल्नुभएको छ ।

गत बिहीबार पार्टी मुख्यालय च्यासलबाट उद्घोष गर्नुभयो, ‘०८४ सम्म कुर्न सकिँदैन । यो गठबन्धन जसरी पनि भत्काउने हो । आन्दोलन शुरु गर्ने हो । सिठ्ठी फुक्नेबित्तिकै कुदेर आइहाल्नुपर्ने हुनसक्छ, तयार भएर बस्नु !’

प्रमुख प्रतिपक्ष दलले सरकारको विकल्प खोज्न प्रयास गर्नु अन्यथा होइन । यसै पनि प्रतिपक्षी दलको नेतालाई ‘प्राइम मिनिष्टर इन वेटिङ’ भनिन्छ । तर, प्रश्न उठ्छ– संवैधानिक बाटो छोडेर सरकार फेर्न सडकमै जानुपर्ने अवस्था हो त अहिले ? २०४६ पछि निरन्तर संसदीय राजनीतिमा रहेको एमाले र अध्यक्ष ओलीलाई यो थाहा छ, संसदको गणित नपुग्दासम्म सडकबाट सरकार ढल्दैन । तर, किन आन्दोलनको बेमौसमी बाजा बज्दै छ ? यसबारे एमालेको एक जना उपमहासचिव तहका नेताले समेत अनभिज्ञता प्रकट गर्दै भने –शायद कार्यकर्ता जोस्याउन आन्दोलन गर्छु भनेको हुन सक्छ । 

ओलीले सरकार र सत्ता गठबन्धनविरुद्ध आन्दोलनको चेतावनी दिनुलाई छोरी कुटेर बुहारी तर्साउन खोजेको ठान्नेहरू पनि छन् । सर्पको खुट्टा सर्पले मात्रै देख्छ भनेझैँ दक्षिणको छिमेकी भारत सत्तारुढ गठबन्धनसँग निकट भएको ओलीलाई राम्रोसँग थाहा छ । आफ्नो पार्टीलाई ‘राष्ट्रिय शक्ति’का रूपमा परिभाषित गर्दै बाह्य शक्तिले ‘घेराबन्दी’ गरिरहेको उहाँको पटक–पटकको दावी पनि त्यही हो । पार्टीका पछिल्ला केही सचिवालय बैठकमा उहाँले भारतको नामै लिएर एमालेविरुद्ध षड्यन्त्र भैरहेकाले त्यसलाई असफल पारिने बताउनुभएको थियोे । भनिँदैछ, कांग्रेस–माओवादीको सहकार्यलाई ‘कम्फरटेबल’ मान्दै आएको दक्षिणको छिमेकी एमालेप्रति थप कठोर बनेको बुझेपछि ओली आक्रोशित हुनुहुन्छ । तर, प्रचण्ड र माधव नेपालले कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको सेवा गरिरहेको भाषण गरेर चित्त बुझाउनुपर्ने बाध्यता छ उहाँलाई । 

खासमा कांग्रेसभित्र खेलेर गठबन्धन टुटाउने रणनीति थियोे एमाले अध्यक्षको । त्यसका निम्ति भारतीय संस्थापनको रोजाइका पात्र भनिएका डा. शेखर कोइराला समूहलाई बिद्रोह गराएर कोशीमा सरकार बनाउने प्रयास पहिलो चरणमा सफल पनि भयो । तर, कोइरालाले खुट्टो टेक्न नसकेपछि पुरानै गठबन्धन कायम भयो भने एमाले सरकारबाट बाहिर निस्कियो । यस घटनालाई एमाले नेताहरूले भारतले घेराबन्दी गरेको अर्थमा विश्लेषण गर्ने गरेका छन् । त्यसपछि नै हो, अध्यक्ष ओलीले सचिवालय बैठकमा ‘हामीविरुद्ध घेराबन्दी छ’ भन्न थालेको । 

त्यसो त, नाकाबन्दीका कारण राष्ट्रवादी हुनुअघि भारतसँग असल सम्बन्धमा रहनुभएका ओलीको सम्बन्ध ‘र’ प्रमुख सामन्त गोयलसँग मध्यराती भेट्दासम्म ठीकठाक नै देखिन्थ्यो । तर, पछिल्लो समय सम्बन्ध हार्दिकतापूर्ण नरहेको एमाले नेताहरूकै अभिव्यक्तिबाट बुझिन्छ । भनिँदैछ, नेपालको सार्वभौम संसदबाट सर्वसम्मत पास भएको ‘चुच्चे नक्सा’ ओलीकै कारण सम्भव भएको भारतीयहरूको बुझाइ छ । त्यस्तै, ठोरीमा राम मन्दिर स्थापना गर्ने कदमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूमाथिको प्रहार ठानेका छन् । मोदी हिन्दु धर्मको आडमा राजनीति गरेर लोकप्रियता कमाइरहेका नेता हुन् । अयोध्यामा बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउन सारा ध्याउन्न लगाएका उनले ठोरीमा राम मन्दिर बनाउने कुरालाई च्यालेञ्ज ठान्ने नै भए । भगवान राम नेपालमा जन्मेको भनेर ओलीले सार्वजनिक मञ्चबाट भाषण गर्दा उनको इगोमा कति प्रहार भयो होला ? भन्ने सहजै अनुमान गर्न सकिन्छ । भनिँदै छ, त्यसलाई काउण्टर गर्न उत्तराखण्डमा पशुपति बनाउँदै छ भारतले । 

विश्वासिलो स्रोतले बताएअनुसार भारतसँगको सम्बन्ध सुधारेर ओलीलाई प्रधानमन्त्री बनाउने अभियानअन्तर्गत भित्रभित्रै एउटा समूहले गरेको प्रयास यसबीच खेर गएको छ । स्रोतले दावी गरेअनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतका कारण देशको अर्थव्यवस्था बिग्रिएको र आफ्नो व्यापार खस्किएको ठान्ने व्यापारीहरूको एउटा समूहले आरएसएसमार्फत मोदीसँग ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको थियोे । तर, मोदी त्यसमा सहमत नभएको सन्देश आएपछि त्यो समूह अहिले चुपचाप रहेको बताइन्छ । 

‘देश बर्बाद हुने भयो, अब ओलीलाई प्रधानमन्त्री बनाऊँ भनेर आरएसएसका मान्छेसँग कुरा भएको रहेछ । तर, मोदीले चुच्चे नक्सा छापेको र संसदमा सिंहमेव जयते भनेर आफूमाथि च्यालेञ्ज गरेकाले ओलीसँग सम्बन्ध सुधार्न सकिंदैन भनेछन्’, स्रोतले सुनायो । निकै गोप्य भनिएको यो विषय मोदीको गृहनगर गुजरातमा ट्रेड सम्बन्ध रहेका एक व्यापारीबाट चुहिएको बताइएको छ । व्यापारीलाई उद्धृत गर्दै स्रोतले मोदीको भनाई सुनायो, ‘मै तेली हुँ, ओलीका कैसे तेल निकाल्ना है जान्ता हुँ, तेल निकालुङ्गा मैँ उसका ।’

 

टिप्पणीहरू