आगामी निर्वाचनमा हामी एक्लै चुनावमा जान सक्छौंः अनिलकुमार रुङ्गटा

आगामी निर्वाचनमा हामी एक्लै चुनावमा जान सक्छौंः अनिलकुमार रुङ्गटा
सुन्नुहोस्

अनिलकुमार रुङ्गटा दोस्रो संविधान सभा सभासद् हुन् । वीरगञ्जका प्रतिष्ठित मारवाडी समुदायबाट राजनीतिमा उदाएका उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् । विद्यार्थीकालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावमा प्रतिस्पर्धा गरे । तर, विजयी हुन सकेनन् । रुङगटा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छ । व्यापार व्यवसायसहित जनताको बीचमा राजनीति गर्दै आएका उनी मधेशमा काँग्रेस बलियो रहेको दाबी गर्छन् । औद्योगिकनगरी वीरगञ्जका बासिन्दा हुन् । 

नेपाली काँग्रेसभित्र संस्थापक र इतर संस्थापक पक्षबीच विवाद र आलोचना हरेक मञ्च र भाषणमा सुनिँदै आएको छ । काँग्रेसमा एकता छैन, खुट्टा तानातान छ भन्ने आमबुझाइले पार्टीलाई कहाँ पुर्याउँछ जस्तो लाग्छ ? 

–    नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टीको रुपमा जनता, अन्तर्राष्ट्रिय समुदाय र शुभचिन्तकहरुको बुझाइ छ । यो जीवन्त र चलायमान पार्टीमा सहमति, असहमति र स्वतन्त्र ढंगले आआफ्ना दृष्टिकोषहरु आउनु स्वाभाविक हो । एउटा लोकतान्त्रिक पार्टीभित्र असन्तृष्टि पोख्नु पनि अस्वाभाविक होइन । यो लोकतन्त्रमा स्वाभाविक हो । यो अभ्यासलाई अन्यथा लिनुहुँदैन । पार्टीको आफ्नो मूल्य, मान्यता र सिद्धान्तप्रति सबै नेता–कार्यकर्ता तथा आम मतदाता, शुभचिन्तक प्रतिबद्ध छन् । यसकारण कुनै नेता–कार्यकर्ताले आफ्नो व्यक्तिगत धारणा राख्नुलाई नकारात्मक रुपमा लिनुहुँदैन । सबैको राय, सल्लाह र सुझावसहित पार्टी सभापति देउवाले समावेश गरी अगाडि बढ्नुभएको छ । यो सुन्दर पक्ष हो । यो लोकतन्त्रको लागि सुखद् नै मान्नुपर्छ । पार्टीभित्र खुट्टा तानातान छ भन्ने कुनै संकेत हामीले पाएका छैनौं । नेतृत्वले सबैको आवाज सुनेको छ । 

गगन थापा, शेखर कोइरालालगायत नेताहरुले पार्टी सभापति असफल हुनुभएको आरोप र आलोचना गर्दै आएका छन् । त्यस्तो होइन भन्ने आधार चाँही के छ ? 

– विषयगत रुपमा त्यस्तो कुनै समस्या छैन । कुनै खास विषयमा त्यस्तो आरोप लगाउनुभएको जस्तो मलाई लाग्दैन । आफ्नो राजनीतिक सक्रियतालाई क्रियाशील बनाउन मात्रै कुनै ठाउँमा, कुनै भेलामा, कुनै मञ्चमा उहाँहरुले कुनै कुरा बोल्नुभएको हो भने त्यो पार्टीभित्रको प्रतिस्पर्धाको कुरा मात्रै हो । केन्द्रीय कार्यसमितिमा सबैले आफ्ना आवाजहरु उठाउँदै आउनुभएको छ । त्यसलाई सभापतिले सकारात्मक रुपमा लिँदै उहाँहरुले औंल्याएको आवाजलाई पनि समेट्ने गरी अगाडि बढ्नुभएको छ । जनताको हित र राष्ट्रको भलोमा सभापति अगाडि बढ्नु भएको हामीले पाएका छौं । शेरबहादुर देउवा एक अनुभवी र लोकतान्त्रिक नेता हुनुहुन्छ । उहाँको नेतृत्व सफल भएको मलाई लाग्छ । 

नेपाली काँग्रेसलाई जनताले विश्वास गर्न छोडेको भनेर उठ्ने गरेको आवाजलाई के भन्नुहुन्छ ? 

– नेपाली काँग्रेसलाई नै जनताले विश्वास गरेको छ । विभिन्न प्रतिकूल अवस्थामा पनि नेपाली जनताले माया र विश्वास दिएर पहिलो पार्टी बनाएको छ । जनताले विश्वास गर्न छाडे भन्ने प्रश्न नै गलत हो । जनताले नेपाली काँग्रेसलाई नै विश्वास गरेको छ । प्रजातन्त्रको निम्ति, लोकतन्त्रको निम्ति साथै गणतन्त्रको निम्ति नेपाली काँग्रेसले नै नेतृत्व गरेको थियो । र, यो सबैमा नेपाली काँग्रेस सफल पनि भएको छ । नेपाली जनताको समृद्धिको निम्ति हामी क्रियाशील छौं । विभिन्न प्रतिकूल परिस्थितिका कारण हामी जुन गतिले अगाडि बढ्नुपथ्र्यो त्यसमा केही तलमाथि भएको होला । तर, हामी निरन्तर अबको संघर्ष राष्ट्रलाई कसरी माथि उठाउने भन्ने सवाल मुख्य बनाइएको छ । जनताको जीवनस्तरमा समृद्धि ल्याउन हामी लागिपर्ने छौं । यही हाम्रो मुख्य एजेण्डा हो । 

 जम्मा ३० सिटको नेकपा माओवादी केन्द्रलाई अघि लगाएर सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सरकारमा समाहित भएको छ । यसलाई के भन्ने ?

 – गठबन्धन संस्कृतिको सम्मान गर्नुपर्ने हाम्रो बाध्यता र अवस्था छ । सबैभन्दा ठूला दलको नाताले मुलुकमा राजनीतिक दुर्घटना नहोस्, निरंकुुशता लादने वातावरण नहोस् र सबैभन्दा ठूलो दल भएकाले राजनीतिलाई कोर्समै दोहोर्याउन राज्य सत्तामा सहभागी हुनु हाम्रो बाध्यता रह्यो । वर्तमान राजनीतिक समीकरण र परिस्थितिले हामीलाई गठबन्धनको संस्कृति स्वीकार्न बाध्य बनाएको हो । भोलिका दिनमा हाम्रो पार्टीले ०८४ सालको आमनिर्वाचनमा परिस्थितिलाई मूल्याङ्कन गरेर, हाम्रो बहुमत आउने पूर्व अनुमान भयो भने हामी एक्लै चुनावमा जान सक्छौं । 

समानुपातिक निर्वाचन राजनीतिक प्रणालीलाई सल्टाउने आवाज पनि उठ्ने गरेको छ । यो सम्भव छ ? 

– संविधान निर्माणको क्रममा मुलुकको राजनीतिक अवस्थालाई ध्यानमा राखेर यो व्यवस्था राखिएको हो । यो आफैंमा नराम्रो हो । यसले आम नागरिकको प्रतिनिधित्व गरेको छ । तर, आवश्यकता देखिएमा र सबै राजनीतिक दलबीच सहमति भएमा हामी लचक हुन सक्छौं । तर, अहिले नै यो अवस्था आएको जस्तो लाग्दैन । 

धर्म निरपेक्षताको विषयसँगै हिन्दू धर्मको पक्षमा पनि आवाज उठेको छ । यसमा कतिको सम्भव देखिन्छ ? 

– त्यस्तो आवाज व्यक्तिगत रुपमा उठाइएको छ । तर, संविधानले नै किटान गरेको यो विषयमा अहिले हतार गर्नुपर्ने हामीलाई लाग्दैन । समय, परिस्थिति र मुलुकको हितमा हामीले काम गर्नुपर्छ । राष्ट्रको भलो हुनेतर्फ हामीले चिताउनुपर्छ । यो नै मुख्य कुरा हो । 

टिप्पणीहरू