राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय, माओवादीलाई ६ सीट

राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय, माओवादीलाई ६ सीट

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सत्ता गठबन्धनलाई कायमै राखेर चुनावमा उम्मेदवार उठाउने निर्णय गरेको हो । 

हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय आज सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उम्मेदवारीबारे गठबन्धन दलमा छलफल गरेर भागबण्डा मिलाउने बताए । 

यता, सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा ६ सिट पाउने भएको छ । सो पार्टी स्रोतका अनुसार गठबन्धनमा माओवादीले ६ सीट पाउने सहमति जुटेको हो । 

गठबन्धन दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच चुनावी तालमेल गरेर जाने सहमति भैसकेको छ । तर, सीट भागबण्डाबारे उनीहरुले अहिलेसम्म औपचारिक निर्णय गरेका छैनन् ।  

१९ सीटका लागि हुने निर्वाचनमा गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले १०, माओवादीले ७, एकीकृत समाजवादीले ४ र जसपाले २ सीट दावी गरेको भनिएको छ । तर, कांग्रेसले ९, माओवादीले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ सीट पाउने सम्भावना छ ।  

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यहरूको पदावधि सकिँदैछ । जसमध्ये राष्ट्रपतिले मनोनित गर्ने १ बाहेक १९ सीटका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।
 

टिप्पणीहरू