मेयरमा उठ्न पचास थरीलाई मुर्गा ?

मेयरमा उठ्न पचास थरीलाई मुर्गा ?
सुन्नुहोस्

कामबाट अवकाश पाएका,जागिर फुस्केका, पद नपाएर सरकार विरोधी भएका कथित सामाजिक अभियन्ताहरुको समाजमा बिगबिगी छ, अहिले । तिनैमध्येका हुन्,मोरङको उर्लाबारी-३ का रुद्रबहादुर तामाङ । ‘युवा प्रतिभा प्रष्फुटन प्रोत्साहन कोष’का स्वघोषित संयोजक उनले जथाभावी रकम असुलेर ‘गोरखधन्दा’ चलाइरहेको तथ्य सार्वजनिक भएको छ । 

काठमाडौं महानगरका मेयर बालेन साहदेखि डा.सन्दुक रुइत, डा.महावीर पुन, डा.भगवान कोइराला, क्याप्टेन बिजय लामा, व्यापारी तथा कांग्रेस सांसद बिनोद चौधरी र जमुना घलेजस्ता आ-आफ्ना क्षेत्रमा सफल व्यक्तिहरुको नाम भजाउँदै तामाङले रकम संकलन गरेको बताइन्छ । उनको स्वघोषित कोषको प्रतिवद्धता पत्रमा पनि ती सफल व्यक्तिहरु जस्तै नागरिक उत्पादन गर्ने उल्लेख गरिएको छ । तामाङले त्यही प्रतिबद्धता पत्र सुनाउँदै वैदेशिक रोजगारीमा रहेका नेपाली र उर्लाबारीबासीबाट लाखौं रुपैयाँ संकलन गर्न भ्याइसकेको बताइएको छ । 

विभिन्न व्यक्तिबाट संकलित रकम आफ्नो फेसबुकमार्फत उनले सार्वजनिक गर्ने गरेका छन् । त्यसलाई मात्रै आधार मान्दा हालसम्म २० लाख बढी रकम संकलन भइसकेको छ । 'युवा प्रतिभा प्रस्फुटन कोष'मा पछिल्लो पटक विदेशबाट कमल लिङ्थेपको एक लाख ११ हजार एक सय ११ जम्मा भएको उल्लेख गरिएको छ । 

कतिसम्म भने तिनै लिङ्थेपबाट थप रकम सहयोग मागी रुद्रबहादुर तामाङले स्थानीय केही पत्रकारलाई एक-एक जोर ट्रयाकसुटसमेत वितरण गर्न भ्याइसकेका छन् । उनले आफ्नै श्रीमती निर्मला गौतम संचालक रहेको उर्लाबारी गार्मेन्टको पसलबाट कमसल खालको दर्जनबढी ट्रयाकसुट खरिद गरी पत्रकारलाई बाँडेको बताइएको छ । 

दातासँग हात थापेर 'समाजसेवा’ गर्ने उनले ट्रयाकसुटमा गरेको खेलोमेलो प्रतिनिधि घटना मात्रै भएको त्यो कृत्यलाई नजिकबाट नियालेका पत्रकारहरु बताउँछन् । उर्लाबारी-७ इटहरा रोडमा रहेको डिजाएर क्याफेलाई तामाङले नागरिकलाई गुमराहमा राख्ने अखडा बनाएका छन् । 

उनकै आफन्त संचालक रहेको डिजाएर क्याफेमा उर्लाबारीका कुनै धनाढ्य वा समाजका अगुवा व्यक्तिलाई लोभ्याउन तामाङले बर्थ–डे सेलिब्रेसन गर्ने गरेका छन् । वर्थडेमा केक काटेपछि आफ्नो संस्थाका लागि रकम बोलकबोल गर्न उनले आगन्तुक व्यक्तिलाई बाध्य बनाउने गरेको पनि भुक्तभोगीहरुको भनाई छ । बर्थडे सेलिब्रेसन गर्दै पैसा असुल्ने उनको तरिकाबाट उर्लाबारीका कोही पनि अनभिज्ञ छैनन् । 

तर,संकलित रकमको पारदर्शिता र नियमन कसले गर्ने ? यसरी समाजसेवा गर्ने भन्दै सर्वसाधारणबाट रकम असुल्नु गैरकानुनी हो वा होइन भन्नेमा सम्बन्धित निकाय भने बेखबर देखिन्छ ।
 

एमालेको गुठी संस्थाका रुपमा चर्चित मदन भण्डारी स्मृति प्रतिष्ठानको जागिरबाट ‘रिटायर्ड’ रुद्रबहादुरले आफूलाई बहुमुखी भूमिकामा प्रस्तुत गर्ने गरेका छन् । कहिले योग गुरु,कहिले उग्र जातिवादीका रुपमा गतिविधि गर्दै आएका उनले ठाउँ हेरी भूमिका बदल्ने गरेको बताइन्छ । ०८४ को स्थानीय चुनावमा उर्लाबारी नगरपालिकाको मेयर बन्ने तयारीका साथ यो गतिविधि गरेको उनका निकट सहकर्मीहरु बताउँछन् ।
 

टिप्पणीहरू