सशस्त्रको बैठकमा आधा दर्जन एजेण्डामाथि छलफल
सशस्त्र प्रहरी बल, नेपालको नम्बर ९ पशुपतिनाथ बाहिनी मातहतका जिम्मेवार अधिकृतहरुको बैठक डाकिएको छ । पुस १८ गतेका लागि बैठक बोलाइएको हो ।
‘गृह मन्त्रालय सुधार कार्य योजना’ अन्तर्गत कार्यसम्पादन सुधार तथा क्षमता विकाससम्बन्धी अध्ययन समितिअन्तर्गत सशस्त्र प्रहरीको विषयगत उपसमितिको कार्य योजनाको लक्षित उद्देश्य प्राप्तिका लागि पशुपतिनाथ बाहिनी र मातहतका कार्यालयका अधिकृतहरुको बैठक राखिएको जनाइएको छ ।
बिहान ११ देखि दिँउसो २ बजेसम्म बाहिनीमा बस्ने बैठकमा शान्तिसुरक्षा कायम राख्नेलगायत आधा दर्जन एजेण्डामाथि छलफल हुनेछ । सशस्त्र प्रहरीको कार्यसम्पादन क्षेत्रमा जवाफदेहिता, पारदर्शिता तथा उत्तरदायित्वको सुनिश्चितताको अभिवृद्धि, कर्मचारीको कार्यक्षमता र वृत्तिविकासका लागि समयसापेक्ष रुपमा गर्नुपर्ने तत्काल र दीर्घकालीन सुधार तथा भविष्यमा अवलम्बन गर्नुपर्ने अति आवश्यक योजनाउपर छलफल गर्ने तय भएको छ ।
त्यस्तै, बैठकले सरकारद्वारा निर्दिष्ट कार्यादेशमध्ये हुलदंगा नियन्त्रणका लागि बल प्रयोगको सिद्धान्तबमोजिम सशस्त्र प्रहरीको परिचालनका पूर्व शर्तहरु पहिचान गर्ने, अन्य सुरक्षा निकाय तथा सम्बन्धित पदाधिकारीहरुसँग समन्वय तथा सहकार्य गर्नका लागि देखापरेका चुनौतीहरु र अति आवश्यक स्रोत साधनको निक्र्यौल गर्नेछ ।
विपद् व्यवस्थापन एवं परिचालनमा देखापरेको विविध चुनौतीहरुको पहिचान तथा समाधानका उपायहरु खोज्ने, कार्य क्षेत्रमा खटिँदा देखिएको विविध नक्कली कार्यहरु न्यूनीकरणका लागि छलफल गर्ने जनाइएको छ ।
टिप्पणीहरू