ओझेलमा पर्यो बासना आउने पहाड (फोटो फिचर)

ओझेलमा पर्यो बासना आउने पहाड (फोटो फिचर)

पश्चिम नेपालको अथाह पर्यटकीय सम्भावना बोकेको गन्तव्य हो, जलजला । यो रमणीय स्थान रोल्पा जिल्लामा पर्छ । जलजला पहाडको नामको प्रचारको तुलनामा स्थानको सम्बद्र्धन र विकास भने हुन सकेको छैन । त्यहाँ हालसम्म कच्ची मोटर बाटोसमेत पुगेको छैन । सोही कारण आन्तरिक तथा वाह्य पर्यटकले सास्ती व्यहोर्दै आएका छन् । 

‘फूलैफूलको पहाड’ उपमा दिइएको उक्त पहाडले जिल्लाको ५० प्रतिशत सौन्दर्यता बोकेको बताइन्छ ।  यद्यपि सुन्दरता बोकेर पनि जलजला कूरुप बन्दै गएको भन्न थालिएको छ । थबाङ गाउँपालिकामा पर्ने जलजलाको विशेषता भनेकै त्यहाँ फुल्ने रंगीबिरंगी फूलहरु हुन् । एक अध्ययनबाट जलजलामा सरदर एक हजारभन्दा बढी प्रजातीका फूल फुल्ने गरेको पाइएको छ । यसबाट पहाडनै फूलहरुको सुवासले मगमगाउँछ । 

यस्तोपनि कथन छ की, ‘यस क्षेत्रमा फुल्ने विभिन्न फूलको अत्याधिक वासनाको नशा लागेर आगन्तुकहरु बेहोस हुन्छन् ।’ त्यसो त जलजलाको प्राचीन नाम ‘गामा’ हो । मगर खाम भाषामा ’गामा’ भनेको ’अग्लो लेकको बुटी’ भन्ने हुन्छ ।  समुन्द्र सतहदेखि तीन हजार १७२ मिटरको उचाईमा रहेको जलजला मुख्यतयाः मिरुल, धवाङ, जेल्वाङ, सेरम र उवा लगायतका भूगोलसँग जोडिएको छ । 

यहाँका घाँसे मैदान, वर्षातको समयमा पानी जमेर बन्ने दलदल बगैँचाले जो कोहीलाई आकर्षण गर्छ । जलजलाबाट सिस्ने, पुथा, धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे्र, लमजुङलगायत विभिन्न आकर्षक हिमालहरु देख्न सकिन्छ । यस क्षेत्रमा पाइने थार, घोरल, झारल, मृग, बँदेल, भालु, चितुवा, बाघ, कस्तुरी, डाँफे, मुनाल, फक्रांस, कालिजलगायतका विभिन्न पंछी तथा वन्यजन्तुहरुले झनै पहाडको पहिचान फराकिलो बनाएका छन् ।

उक्त क्षेत्रमा पाँचऔले, विषमा, अतिस, कुठ, सतुवा, निरमसी, पाखनवेद, सुगन्धवाला, चिराइतोलगायत जडिबुटीहरु पनि पाइन्छ । वर्षेनी हजारौंको सख्यांमा मानिसहरु दुर्लभ मानिने यस्ता विभिन्न जडिबुटीको खोजीमा जाने गर्छन् । विभिन्न विशेषता बोकेको जलजला पहाडलाई सरंक्षण र प्रवद्र्धन गर्नसके राष्ट्रिय सम्पदाको रुपमै स्थापित गर्न सकिने सरोकारवालाहरुको भनाई छ । कम्तीमा जलजलासम्म कच्ची मोटरबाटो पुर्याउन सके सो क्षेत्रको विकासले फड्को मार्ने अपेक्षा धेरैले गरेका छन् ।

टिप्पणीहरू