राजधानीको माटो,नर्कको बाटो

राजधानीको माटो,नर्कको बाटो
सुन्नुहोस्

राजधानीका मुख्य सडकहरुमा व्यापक सवारी दुर्घटना भइरहेको छ । झन् रिङरोड एरियामा सबैभन्दा धैरे सवारी दुर्घटना हुने गरेको छ ।

सवारी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढेको छ । यात्रुवाहक बसले ठक्कर दिँदा हिजो बिहान सुन्दरीजलमा एक पैदलयात्रीको ज्यान गयो। बा. २ ख २२८४ नम्बरको सार्वजनिक यातायातले ठक्कर दिँदा मकवानपुरका सरोज बिकको मृत्यु भएको हो । 

 पुस ५ गते दिउँसो  राजधानीको जोरपाटी–नारायणटार क्षेत्रमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो । ना.३ ख ७२८३ नम्बरको ट्रकले ठक्कर दिँदा प्रदेश ३–०२–०१२ प  ७३१५ नम्बरको मोटरसाइकल चालकको ज्यान गयो । ट्रकको ठक्करबाट भोजपुरका मोटरसाइकल चालक कुमार श्रेष्ठको घटनास्थलमै प्राणान्त भयो । केही दिनअघि सोही स्थानमा सवारी दुर्घटनाका कारण एक महिलाको मृत्यु भएको थियो । 

किन बढिरहेको छ सवारी दुर्घटना ? 

चाबहिल,बौद्ध, जोरपाटी,मेडिकल कलेज अत्तरखेल, भगवतीथान,गोकर्ण हनुमान चोकदेखि सुन्दरीजल क्षेत्रमा सबैभन्दा धेरै दुर्घटना हुने गरेको छ । स्थानीय तहको लापरवाही र ट्राफिक प्रहरीको बेवास्ताका कारण सो क्षेत्रमा दुर्घटना बढेको सर्वसाधारण बताउँछन् । फुटपाथमा पसल सञ्चालन गर्दा र सवारी पार्क गर्दा पैदलयात्री सडकबाट हिँड्न बाध्य छन् । जसका कारण दुर्घटना ह्वात्तै बढेको छ । चालकले अगाडि–पछाडि नहेरिकन गाडी हुँइकाउँदा पैदलयात्रीको ज्यान जोखिममा परेको छ । 

अर्को कारण हो,ड्युटीमा खटिएका ट्राफिक प्रहरीको लापरवाही । सवारी चालक र सहचालकले मापसे र लापसे गरेर सवारी साधन चलाउने गरेका छन् । तर, ट्राफिकले खासै चेकजाँच गरेको पाइँदैन । ट्राफिकले कडाइ नगर्दा सहचालकले जथाभावी यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् । ढोका खुल्लै राखेर सार्वजनिक यातायात दौडाउँदासमेत ट्राफिकले अनदेखा गर्ने गरेको छ । चालकहरुमा ‘कम्पिटिशन’ गर्ने प्रवृत्तिले दुर्घटना निम्त्याइरहेको छ । एउटा गाडीले अर्कोलाई उछिन्न खोज्दा बाटो हिँडिरहेकाहरुको ज्यान जाने जोखिम बढेको छ ।   

के भन्छन् सर्वसाधारण ? 

चाबहिल चोकदेखि बौद्ध,जोरपाटी, सुन्दरीजल र साँखुसम्मको सडकखण्ड साह्रै नै अव्यवस्थित छ । अस्तव्यस्त सडकका कारण जनधन गुमाउनेको संख्या ह्वात्तै बढेको छ । यता, स्थानीय जनप्रतिनिधि र ट्राफिक प्रहरीको गैरजिम्मेवारिताका कारण स्थानीय मात्र नभई पैदलयात्रीसमेत आजित भएका छन् । 

सुस्मिता दुलाल दिनहुँ जोरपाटी आउजाउ गर्छिन् । एक कम्पनीमा काम गर्दै आएकी उनी फुटपाथ भरिभराउ हुँदा सास्ती हुने गरेको बताउँछिन् ।  भन्छिन्,‘सडक छेउछाउ र फुटपाथमा जथाभावी सवारी रोकेर राखिएको छ । फुटपाथ पार्किङस्थल बनेको छ अनि पैदलयात्री कहाँबाट हिँड्ने ? म यहाँ आउन थालेको डेढ वर्ष भइसक्यो,केही सुधार छैन ।’

ट्राफिक प्रहरीलाई फोन गरेर बारम्बार ध्यानाकर्षण गराउँदासमेत चासो नदिएको उनको गुनासो छ । त्यस्तै, अर्का पैदलयात्री फुटपाथमा सवारी साधन पार्किङ गर्न दिन नहुने बताउँछन् । पैदलयात्री सुवास केसीले भने,‘फुटपाथमा गाडी पार्क गर्न रोक लगाउनुपर्छ । यसले गर्दा पैदलयात्रीलाई निकै समस्या भएको छ । फुटपाथमा सवारी साधन पार्क गर्दा पैदलयात्री सडकको बीचबाट हिँड्नुपरेको छ । तीव्र गतिमा गाडी आइरहेको हुन्छ, कतिबेला दुर्घटना हुने हो भन्नै सकिन्न ।’

यता, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही नगरिएको जोरपाटीका स्थानीयको आरोप छ । व्यापार सञ्चालन गरेर बसेका रामकुमार कुँवरले भने,‘ट्राफिक प्रहरी भए–नभएको केही फरक छैन । चरम ट्राफिक नियम उल्लङ्घन गर्नेलाई समेत ट्राफिकले कारबाही गर्दैन । कागजपत्र नबोकी सवारी चलाउनेलाई समेतबछोडिदिन्छ । ड्युटीमा खटिएका ट्राफिक प्रहरीको काम छैन् । ट्राफिक नेतृत्वले कडाइ गर्नुपर्ने बेला भइसकेको छ ।’

उक्त एरियामा पठाओ चालकको बिगबिगी छ । बाटो हिँडिरहेका पैदलयात्रीहरुलाई रोकेर उनीहरुले दुःख दिने गरेका छन् । नजाने भन्दाभन्दै पनि पछि लाग्ने गरेको सर्वसाधारणको गुनासो छ । यसमा ट्राफिक प्रहरी सँगसँगै नेपाल प्रहरीको पनि ध्यानाकर्षण हुन जरुरी छ । 

के भन्छन् ट्राफिक प्रमुख ? 

महानगरीय ट्राफिक प्रहरी वृत्त,बौद्धका प्रमुख लेखनाथ मैनाली ट्राफिक व्यवस्थापनमा सक्दो प्रयास गरिरहेको बताउँछन् । चाबहिल चोकदेखि बौद्ध, जोरपाटी,सुन्दरीजल र साँखुसम्मको सडकखण्डमा अत्याधिक दुर्घटना भइरहेको उल्लेख गर्दै उनले भने,‘पाँच वर्षदेखि यहाँको ट्राफिक व्यवस्थापनमा लागिपरेको छु । सक्दो प्रयास गरिरहेका छौं ।’

नेतृत्वले निर्देशन दिए पनि तल्लो तहका कर्मचारीहरुले अटेर गरिरहेका छन् । अधिकांश ट्राफिक प्रहरी ड्युटी गर्नुको साटो घाम तापेर बसेको देखिन्छ ।  केही पसलेसँग गफ गरेर बसिरहेका हुन्छन् । ट्राफिक प्रहरीलाई ड्युटी राम्रोसँग गर्नुभन्दा पनि छुट्टी कतिखेर हुन्छ भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ ।
 

टिप्पणीहरू