कमाइ राष्ट्रियस्तरको, खर्च अन्तर्राष्ट्रियस्तरको

कमाइ राष्ट्रियस्तरको, खर्च अन्तर्राष्ट्रियस्तरको
सुन्नुहोस्

प्रवीणता प्रमाणपत्र तह (आइए) को मेजर इंग्लिसमा पढेको त्यो कथाको याद आइरहेको छ । नाइजेरियन उपन्यासकार एवम् कवि चिनुवा अचेवेले लेखेको त्यो कथाको शीर्षक थियो म्यारिज इज प्राइभेट अफेयर । फरक फरक जनजातिका नेमेका र नेनेबीचको प्रेम र विवाहमा केन्द्रित उक्त कथामा पुरानो र नयाँ पुस्ताबीच विचारको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

तर पनि कथाको सार विवाह निजी मामला भन्ने नै हो । अचेवेले लेखेजस्तै निजी पारिवारिक संस्कार भएकाले यसमा कसैले चासो नदिए पनि हुने हो । समाचार र प्रचारको सामग्री त झन् बनाउनै नहुने हो । तर संसारमै हुनेखाने र ठूलाबडाका यस्ता घरेलु कार्यक्रमले चर्चा पाउने रहेछन् । हाम्रो समाज झन् के कम ? यस्तो विषय झन् चर्चामा आइहाल्ने रहेछ । सूचनालाई रोक्न कहाँ सकिन्छ र ! समाचार माध्यमले नदिए पनि हिजोआजका सामाजिक सञ्जाल, कहाँ कहाँबाट भाइरल हुँदै एक कान दुई कान मैदान भइहाल्दोरहेछ । 

यो कथाको सम्झना यतिबेला भयो जतिबेला देशभरिका धेरै लालजोडी विवाह बन्धनमा बाँधिए । केही विवाहको खूबै चर्चा भयो । तीमध्ये माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी तथा माओवादी नेत्री एवम् भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालकी छोरी प्रतिभा पाठक र गोरखाका विज्ञानबाबू रेग्मीबीच भएको विवाह बहुचर्चित बन्यो । चर्चा परिचर्चाका साथै यसको बढी नै आलोचना भयो । पार्टीभित्र र बाहिरबाट तीव्र असन्तुष्टि पोखियो ।

पोखिइरहेको छ । माओवादीका केन्द्रीय नेता लेखनाथ न्यौपानेले फेसबुकबाटै लेख्नुभयो, लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन ।

यस्तै कवि अर्जुन पराजुलीले व्यंग्य हान्नुभएको छ, 
हिजो 
मर्नजा भन्ने नेता भए
मर्न जाने शहीद भए 

आज
नेताका नातिनीहरूको 
विशाल विशाल बिहे भोज हुँदै छ । 
शहीदका नातिनीहरू
बिहे भोजमा भाँडा माझ्दै छन् 

नयाँ समयका जोडी प्रतिभा र विज्ञानको विवाहलाई त्यति उछाल्नैपर्ने त थिएन । तर पनि हिजोसम्म दुई रुपैयाँको अबिर किनेर मुठ्ठी उठाई जनवादी विवाह गराउने माओवादी नेताहरूको पुँजीवादी शैलीको बढी कटाक्ष भयो । प्रधानमन्त्री र मेयरको भन्दा पनि माओवादी अध्यक्ष र नेत्रीको भड्किलो शैलीको आलोचना भएको हो । सयौँ कार्यकर्ता के खाऔँ के लाऔँको अवस्थामा रहेको बेला राजसी या दरबारिया ठाँटको विवाह भनेर असन्तुष्टि पोखियो ।

नेता लेखनाथहरूको प्रहार यही प्रवृत्तिविरुद्ध थियो । हो, महत्वपूर्ण कार्यकारी पदमा रहँदा हुनगएको यस्तो कार्यक्रममा भिभिआइपी, भिआइपी, कूटनीतिज्ञ र आमन्त्रितहरूलाई सहजता दिनका लागि यस्तो खालको ठाउँ छनोट गरिनु स्वाभाविक विषय हो । उपन्यासकार एवम् कवि अचेवेको कथामा उल्लेख भएजस्तै बाबाआमाको एउटा सोच र चाहना भए पनि नयाँ पुस्ताका छोराछोरीको अर्कै सोच र चाहना हुन्छ भन्ने विषयमा दुईमत छैन तर पनि सर्वसाधारण जनताले यस्तो विषय बुझिरहन खोज्दैन । बालमतलव राख्दैन । मानिसको यो मनोविज्ञान नबुझ्दा यसको विरोध भयो । 

दोस्रो चर्चित विवाह थियो, सम्भव सिरोहिया र श्रृंखला खतिवडाबीचको । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा, सोही ग्रुपका प्रबन्ध निर्देशक सम्भव र नेकपा समाजवादीका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी, पूर्व मिस नेपाल श्रृंखलाबीचको विवाह पनि विशेष चर्चामा रह्यो । यो विवाहलाई त्यहीँ काम गर्ने श्रमजीवी पत्रकारले बढी भाइरल बनाइदिएका थिए । यो विवाह पनि निजी मामिला थियो तर आफूहरूलाई भोकै राखेर र दिनुपर्ने पारिश्रमिक नदिई सेवाबाट हटाएर भड्किलो खर्च गरेको भन्दै उनीहरूले विरोध गर्दा यसले बजार पिट्यो । 

तेस्रो रोचक विवाह थियो अम्बिका गजुरेल र मनीषा पौडेलबीचको । यो समाजमा हुने दुर्लभमध्येको एक विवाह हो । घर छोडेर सडकमा बस्दै आएका रामेछापका शिक्षक अम्बिका गजुरेलसँग निःशर्त प्रेम गरेर जीवनमै सहर्ष स्वीकार्ने नारी हुनुहुन्थ्यो काठमाडौँ निवासी, मायाकी खानी मनीषा पौडेल । गजुरेललाई सडकबाट उठाएर यो स्वर्गीय अवस्थामा ल्याउने मानवी नारी थिइन् रिमा सापकोटा । मूलप्रवाहका पत्रकार र मिडियाले खासै चासो नदिए पनि यसलाई रिमा सेवा समाजमार्फत युट्युबरहरूले भाइरल बनाइदिएका थिए ।

चौथो थियो पत्रकार लक्ष्मी पौडेल र नारायण नेपालबीचको विवाह । सुटुक्क सम्पन्नपछि सार्वजनिक भएको यो विवाह पुँजीवादी र भड्किलो समाज सुधारका लागि एउटा पहल थियो । तर सानाले पहल गरे पनि त्यसको प्रभाव कम हुँदोरहेछ । त्यसलाई मिडिया, समाजले खासै गम्भीर रूपमा लिँदोरहेनछ । बरु, गर्नपर्ने पदमा बसेकाले यस्ता उदाहरणीय काम गर्नसके समाजमा छिटो प्रभाव पर्दाेरहेछ । त्यसले समाज परिवर्तन र सामाजिक, साँस्कृतिक रूपान्तरणमा छिटो टेवा पुग्दोरहेछ । तर गर्नेले नगरेपछि यी भन्ने कुरा न हुन् जस्तो हुँदोरहेछ । खासै खर्चै नगरी हुनसक्ने खर्च पनि आफू पढेको विद्यालयलाई दिएर लक्ष्मी र नारायणले समाजलाई प्रगतिशील बाटोमा हिँड्नुपर्ने सन्देश दिन खोजेका थिए । एक किसिमले भन्ने हो भने, क्रान्तिकारी हौँ भन्नेहरूमा आएको वैचारिक र साँस्कृतिक विचलनविरुद्ध कडा व्यंग्य थियो यो, तर शक्तिकेन्द्रका छोराछोरीहरूको विवाहका अगाडि यसले चर्चा पाउने कुरै भएन । 

विवाह एउटा विषय या प्रसंग हो । हरेक संस्कार, संस्कृति मनाउने नाममा हाम्रो समाज अनावश्यक रूपमा भड्किलो र भद्दा बन्दै गएको छ । हुन त पैसा जति चलायमान भयो त्यति कमाइ पनि हुन्छ भनिन्छ । तर विभिन्न चाडपर्व र उत्सवका नाममा हुने यस्तै प्रदर्शनले समाज र राष्ट्रलाई समृद्धितिर भन्दा अधोगतितिर लगिरहेको छ । अनावश्यक बोझ थपेको छ । विना उपलब्धि व्यस्त बनाएको छ । कमाइ जति भए पनि खर्च धेरै गर्नुपर्ने हाम्रो शैली, कमाइ थोरै भए पनि दुनियाँलाई देखाउनपर्ने संस्कारले हो खर्च बढाउँदै लगेको । राष्ट्रिय उत्पादन भए पनि राज्यको पैसा राज्यमा नै फर्केको छ भन्न हुन्थ्यो, त्यो नि छैन, सियोसम्म विदेशबाट किन्नुपर्छ अनि खर्चचाहिँ आँखा चिम्लेर विदेशी शैलीमा गरेपछि त्यो रकम कहाँ पुग्यो ? त्यसै राष्ट्र बनेन भनी रोएर हुन्छ ? परनिर्भरतामा जोड दिन छोड्नै प¥यो । खर्च गर्न नसक्नेहरूमा तनाव सिर्जना गरेको छ । यसरी तनाव जन्मनु पनि एक खालको हिंसा नै हो । 

समाजले तीज, दशैँ, तिहार, पास्नी, गुन्योचोली, न्वारन, व्रतबन्ध, पूजाआजा, इन्गेजमेन्ट, विवाह वर्षगाँठ, विभिन्न उत्सव आदि कार्यमा ऋण गरी गरी अनावश्यक खर्च गर्न बाध्य बनाएको छ । वास्तवमा कि त मान्छेको कमाइ नै छैन । कमाइ हुनेको पनि कमाइ राष्ट्रि«यस्तरको खर्च अन्तर्राष्ट्रियको जस्तो देखिन्छ । मानिस पहिले खर्च गरेर पछुताउन बाध्य भएको छ । ग्लोबल कल्चर त्यसरी नै भित्रिएको छ । हो जन्म, विवाह रमाइलो र खुशीको क्षण हो तर पनि यसमा कनीकुथी, भ्रष्टाचार, कमिसन नै मिलाएर खर्च गर्नुपर्छ भन्ने छैन । यस्ता पुँजीवादी संस्कारको नांगो प्रदर्शन र नक्कलको मारमा श्रमजीवी र श्रमिक परेका छन् । के खाऔँ के लाऔँको अवस्थामा रहेका जनतालाई यसले एकातिर बोझ थपेको छ भने अर्काेतिर मानसिक हिंसा थोपरेको छ ।

तर सिंहदरबार र बालुवाटारमै केक काट्नेहरू भएपछि सामान्य जनताको के लाग्छ र ? जनताले तिनीहरूको फलो नगरेर कलमका मलिन आवाजको फलो गर्छ र ? साँस्कृतिक रूपान्तरणका गफ गर्ने गफाडी, भाषण गर्ने भाषणवाजहरू खै कता हराए ! एउटा नियुक्तिमा बन्धक भयो कि यिनीहरूको विवेक ? कता हराए सामाजिक रूपान्तरणका नारा अलाप्नेहरू ? 

टिप्पणीहरू