यतिसम्म बिगार्न सक्छ बोलीले

यतिसम्म बिगार्न सक्छ बोलीले

बूढापाकाले ‘थुतुनो र मु...’ ठीक ठाउँमा राख्नु त्यसै भनेका हैन रहेछन्, जुन कुरा दुर्गा प्रसाईंबाट पनि प्रमाणित भयो । ‘न्याय पाइहालिन्छ कि’ भनेर तराईको पनि ग्रामीण भेगबाट थुप्रै लघुबित्त पीडित महिलाले उनको प्रदर्शनका शुरुवाती दिनमा राम्रै साथ दिए । तर, पछि कुरा बिग्रियो ‘थुतुनो’ ले गर्दा । प्रहरीलाई प्रदर्शनका क्रममा दमन नगर्न चेतावनी दिँदै उनले भने, ‘कति दिनदेखि ननुहाई काठमाडौं आएका महिलालाई सुँघाउन नेताहरूकोमा पठाइदिनु नपरोस्...!’ सुन्नेहरू त कुरा सुनेर हाँसे, तर जो महिला न्यायको आशमा उनको साथ लागेका थिए, ती निराश हुँदै गाउँ फर्किए । किनभने, उनले ती महिलामाथि जेजस्तो शव्द प्रयोग गरे, त्यो अपमान थियो । त्यसैले ७ गतेको प्रदर्शनमा उर्लिएको जमात भोलिपल्टबाटै लाखापाखा भयो । कारण थियो, उनकै बोली । नत्र, तीनकुनेमा महेश बस्नेतहरूले गरेको प्रदर्शनको भन्दा दोब्बर मानिसको उपस्थिति दुर्गाले बल्खुमा गरेको प्रदर्शनमा थियो । 

हिन्दू राज्यको विषय पनि उठाएका कारण पहिलो दिनको प्रदर्शनमा राप्रपा र अन्य समूह तथा संस्थासम्बद्ध जमात सहभागी भयो । त्यसले कुलेश्वर, कलंकीक्षेत्रलाई  अस्तव्यस्त बनायो र प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आयो । भोलिपल्ट तीनकुनेमा खासै बल प्रयोग भएन, तर धरपकड गर्ने क्रम बढ्यो । जसले गर्दा राजावादीहरू आन्दोलनबाट फिर्ता भए । किनभने, राप्रपाले ९ गते शनिबार झापामा गरेको भव्य प्रदर्शनका निम्ति पनि ती मानिस जानुपर्ने थियो । त्यसमाथि दुर्गाको आन्दोलनका विषय नै खिचडीजस्ता, जति पकाए पनि नपाक्नेखाले । अरु त अरु, उनलाई साथ दिन्छु भनेर तम्सिएकाहरूले नै उनीबाट आन्दोलन हुन्छ र सरकार गल्छ भन्ने कुरा पत्याएनन् । त्यसपछि शनिबार सिफलमा र आइतबार पशुपतिक्षेत्रमा भएका प्रदर्शनमा प्रदर्शनकारीभन्दा प्रहरीको उपस्थिति बढी थियो । प्रदर्शनका लागि बढीजसो मानिस मधेस प्रदेशबाट ल्याइएका छन् । विशेषतः लघुबित्त, मीटरव्याजी, उपभोक्ता समिति पीडितहरूलाई ल्याइएको थियो । पछिल्ला दिनमा उनीसँग सीमित प्रदर्शनकारीमात्र बाँकी छन् । त्यसमध्ये केही उनको ठिमीस्थित घरमा बसेका छन् भने धेरैजसो विभिन्न पार्टी प्यालेस र होटलमा छन् । मान्छेलाई खुवाएर, पिलाएर चलाइएको आन्दोलन कस्तो हुँदो रहेछ भने, बाहिरबाट ल्याइएका ती व्यक्तिहरू खाने–खाने बेला खाने ठाउँमा पुग्ने, खाइसकेर आफ्नै काममा हिँड्ने ? त्यसपछि उनले खानाको व्यवस्था गरेको धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा चिनेको मान्छेलाई मात्रै दिनु भनेका छन् । तर, दैनिक हजारका दरले खाने मान्छे हुन्छन् । प्रदर्शन गर्ने ठाउँमा तीन सय पनि पुग्दैनन् ।

उनले आन्दोलन चलाएपछि बैंक तथा बित्तीय संस्थाले उनलाई ऋण तिराउने कुरामा सरकारको सहयोग माग्लान् भन्ने अनुमान थियो । तर, कुरा उल्टो भयो । उनैले भनेका छन्, ‘पाँच अर्ब ऋण छ, ५० अर्ब सम्पत्ति छ ।’ सामान्यतया ५० अर्ब सम्पत्ति हुनेले पाँच अर्ब ऋण लिँदैन । त्यो भनेको बैंकहरूबाट धितो मूल्यांकन बढी गराएर ऋण दिएको हुनुपर्छ । धितोको मूल्यांकन बढाएर ऋण दिनु बैंकहरूको बदमासी हो । यदि त्यस्तो गरिएकै रहेछ भने नियामक निकाय राष्ट्र बैंकले त्यस्ता बैंकमाथि सीधै कारवाही गर्न सक्छ । यसर्थ, बैंकहरू चूपचाप छन् । कर्जा सूचना केन्द्रले जारी गरेको सूचीमा उनी दोषी छैनन् । भनिन्छ, बैंकहरूको पोल खुल्ने डरले उनीहरूले नै प्रसाईंलाई जोगाइरहेका छन् । त्यसमाथि राजनीतिक दलसम्बद्ध धेरै मान्छेलाई ‘पूजापाठ’ र ‘सीदा दान’ गरेको कारण कतिपयले बोल्न सकेनन् ।

उता, प्रविधिको दुरुपयोग गरेर मानिसको मानमर्दनमा सक्रिय युट्युबर मनोज मानव विद्युतीय कारोबार मुद्दामा थुनिएका छन् । उनले एमाले नेता महेश बस्नेतसहितका मानिसको आर्टिफिसियल इन्टेलिजेन्सको विधिबाट कोही परस्त्रीसँग पल्टिरहेको दृश्य बनाउने गरेका थिए । त्यो भनेको फोटो जोडेर एउटै ओछ्यानमा सुतेजस्तो देखाउने तरिका हो । प्रहरीलाई उनले महेशसँग उक्त दृश्य सार्वजनिक नगर्नका लागि ३० लाख रुपैयाँ मागेको बयान टिपाएको बताइन्छ । महेशजस्तो देशको मन्त्री भइसकेको मान्छेलाई त बाँकी नराख्नेले अरुमाथि के–के गरे होलान् ? अनुमान मात्रै लगाउन सकिन्छ । अर्की भाइरल लेडी शर्मिला वाइवाहरूले पनि यस्तै काम गरेका छन् । उनले पत्रकार ऋषि धमलामाथि नै हमला गरिन् र अरु थुप्रै त्यस्तोमा परे । कोही मानिसलाई एकचोटि भेटेपछि फोटो वा भिडियो जे खिचे पनि भोलिपल्ट उसको आपत्तिजनक दृश्य तयार भइहाल्ने ! ‘यो बाहिर ल्याऊँ कि पैसा दिन्छस्’ भनेर बार्गेनिङ गर्दै पैसा कमाउने गिरोह काठमाडौंमा छ्यापछ्याप्ती छ ।

यीसँगै अहिले प्रहरीकहाँ बैंकिङ ठगी र उच्च व्यापारिक घरानाका आपराधिक विश्वासघातसम्बन्धी मुद्दाको चाप बढेको छ । व्यवसाय सञ्चालन गरिएको जग्गा अर्काको नाममा हुन्छ । करार गरेर अर्कोले घर बनाएको, उसले अर्कोलाई भाडामा लगाएको र जग्गावालाले अर्कैलाई बेचिदिएका जस्ता मुद्दाहरूले प्रहरीका अफिसमा भीडभाड हुने गरेको देखिन्छ ।

उनको भीडमा माओवादी केन्द्र समर्थित केही कार्यकर्ताको पनि प्रत्यक्ष संलग्नता देखिन्थ्यो । कथित धर्मगुरु श्रीनिवास आचार्यका चेला किशोर गुरुङलगायतको समूहले भीडमा पसेर उधुम मच्चाउन भ्याएको थियो । यो समूह भीड्लाई उत्तेजित बनाउँदै आफु चैं सुरक्षित रुपमा भाग्ने गरेको पाइन्छ । प्रहरीले पछि गुरुङ र त्यस्तै हुलदंगाको योजनाकार राजु परियारलाई बागबजारबाट पक्राउ गरी अनावश्यक झडपको अवस्थालाई नियन्त्रणमा लिन सफल भएको छ । कार्यक्रमको लागि दुर्गा प्रसाईंको घरमा ३०/३५ जना छन् । तीमध्ये कमल थापाका कार्यकर्ता भनेर चिनिएका पशुपति खड्का र नगेन्द्र देउजाहरू प्रसाईंको सेक्युरिटी गार्डको आवरणमा बसेका छन् भने पछिल्लो समय कोटेश्वरको आन्दोलन गर्न तिनै फ्रन्टलाइनमा देखा परेका थिए । अर्कोतर्फ राप्रपाकै ज्ञानेन्द्र शाही पनि प्रसाईंको भुलभुलैयामा फसेको पाइएको छ ।

टिप्पणीहरू