विदेशबाट एक सय नेपाली ल्याइयो त ?

विदेशबाट एक सय नेपाली ल्याइयो त ?
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न ‘स्टन्टबाजी’ गरेर चर्चामा आइरहन्छन् । सस्तो लोकप्रियताका लागि ‘जे मनलाग्यो त्यही बोल्ने’ आमप्रवृत्ति उनमा पनि मज्जैसँग घर गरेको देखिन्छ । 

चितवन–२ बाट वैशाख १० गतेको उपनिर्वाचनअघि मतदातासँग उनले विभिन्न वाचा गरेका थिए । जसमा ब्लु बस सेवादेखि लिएर मोबाइल क्लिनिक, सार्वजनिक सुनुवाई, नमुना विद्यालय, स्वस्थ चितवन, हेल्लो रविलगायत छन् । 

महिलाका लागि सञ्चालित ब्लु बसको फण्डाबारे सैबलाई छरपष्टै छ । उनले गरेको एउटा प्रतिबद्धता त्यतिबेला सबैभन्दा बढी चर्चित भएको थियो । त्यो हो, विदेशमा काम गर्ने एक सय नेपालीलाई स्वदेश फर्काएर यहीं रोजगारी दिने । सोहीअनुसार केही महिनाअघि विज्ञापनसमेत आह्वान गरे । मार्केटिङदेखि लिएर नर्ससम्मको विज्ञापन गरियो । कामअनुसार १८ हजारदेखि डेढ लाखसम्म तलब तोकियो । उनले विदेशबाट ‘फ्री टिकेट’ मा स्वेदश फर्काएर जागिर दिने भनेका थिए । 

उक्त विज्ञापन जापान, अष्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरियामा नेपालीले सञ्चालन गरेको पत्रिका, अनलाइनले प्रकाशित गरेका थिए । उनको यो योजनामाथि धेरैले गफ ठोकेको भन्दै आलोचनासमेत गरे । सामाजिक सञ्जालमा बहस छेडियो । मुलुकमा रोजगारी नपाएर युवाहरू भौंतारिरहेको बेला सपना देखाउनु त राम्रै कुरा हो । 

दैनिक हजारौं नेपाली नागरिक कामका लागि विदेशिरहेका छन् । यस्तोमा विदेश गइसकेकालाई बोलाएर रोजगारी दिने कि विदेश जाने सोच बनाएकालाई यहीँ रोक्ने ? ऋणधन गरेर विदेश पुगेकालाई फिर्ता बोलाउनुकोे साटो ऋण लिएर जान लागेकालाई रोक्नु उचित हुने धारणा धेरैको थियो । प्रायःजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका थिए, ‘देशमा भएकालाई पहिले रोजगारी दिऊँ । चाहे पढेको होस् या नहोस् । रोजगारी नसके सिपमूलक तालिम दिऊँ, अनि देश बन्छ । विदेशमा कमाएर राम्रो जीविका जीउँदै गरेकालाई केको तातो न छारो । स्टन्ट ।’

उतिखेर तडकभडकका साथ गरिएको विज्ञापन अहिले अलपत्र परेको छ । नेपालीलाई झुक्याएको आरोप यतिबेला लामिछानेमाथि लागेको छ । यता, रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले विदेशमा रहेका नेपालीलाई फर्काउने कार्य प्रक्रियामै रहेको बताए । उनका अनुसार अहिलेसम्म पाँच सय जना बढीले आवेदन दिइसकेका छन् । ‘विदेशबाट नेपाली ल्याउने प्रक्रिया रोकिएको छैन् । अहिले पनि जारी छ । तर, उहाँहरूले आउने–नआउने निर्णय लिइसक्नुभएको छैन् । अलमल्ल पर्नुभएको छ । यता, रोजगार कम्पनीले पनि स्वीकार गर्नुप¥यो,’ उनले भने । यसैलाई भन्छन् सस्तो लोकप्रियताका लागि हचुवाको प्रचार ।

रास्वपाले कसरी ‘फ्री टिकट’ मा कामदार ल्याउँछ ? 

विदेशबाट एक सय जना नेपालीलाई ‘फ्री टिकट’ मा स्वदेश ल्याउन झण्डै पौने करोड खर्च लाग्छ । त्यसका लागि ठूलै स्रोत जुटाउनुपर्ने हुन्छ । यस विषयमा सह–महामन्त्री बुर्लाकोटी रास्वपाको उद्देश्य रोजगारी सिर्जना गर्नु मात्र भएको बताउँछन् । 

रोजगारदाता आफैंले खर्च गरेर कामदार ल्याउने उनको भनाइ छ । त्यस्तै, गैरआवासीय नेपाली संघ र स्थानीय सरकारसँग पनि खर्च व्यहोर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । उनका अनुसार विभिन्न व्यक्तिले नेपाल फर्काउने मिसनमा सहयोग पु¥याउन चासो देखाएका छन् । उनी भन्छन्, ‘हामीले रोजगारी दिने होइन । रोजगारदाता कम्पनीले दिन्छन् । रोजगारदाता कम्पनी, स्थानीय सरकार र एनआरएनएसँग खर्चको विषयमा छलफल भइरहेको छ ।’

 

टिप्पणीहरू