प्रधानमन्त्रीको भिआईपी फ्लाइटका कारण दुबई जान लागेका ३१ जना यात्रुको बिचल्ली

प्रधानमन्त्रीको भिआईपी फ्लाइटका कारण दुबई जान लागेका ३१ जना यात्रुको बिचल्ली
सुन्नुहोस्

नेपाल वायुसेवाको विमानमा हिजो राति दुबई जान लागेका यात्रुमध्ये ३१ जनाको बिचल्ली भएको छ । आर ए २२९ नम्बरको उडानलाई प्रधानमन्त्रीसहित ३० जनाको टोली जाने भिआईपी फ्लाइट बनाइएका कारण त्यता जान लागेकामध्ये ३१ जनालाई काठमाडौंमा छाडिएको छ ।

नियमित उडानभन्दा दुई घण्टा अगाडि नै विमान उडाइएको उनीहरुको आरोप छ । ‘हामीलाई त्यसबारे कुनै जानकारी गराइएन । समयमा विमानस्थल पुग्दा जहाज उडेको खबर पाइयो,’ एक जना यात्रुले भने ।

विमानस्थ्लस्थित निगमको काउन्टरमा विवाद बढेपछि ती यात्रुलाई आज दिउँसो २ बजेको उडानमा दुबई लैजाने तयारी गरिएको बताइन्छ । गएराति उनीहरुलाई ज्ञानेश्वरस्थित काबेरी होटलमा लगेर राखिएको हो । राति पौने ११ बजे तीन वटा ठूला माइक्रोबसमा राखेर ती यात्रुलाई होटल पुर्याइएको थियो ।

प्रधानमन्त्री दाहाल हिजो राति संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्नुभएको थियो । उहाँ राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप २८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साढे ९ बजे नेपाल वायुसेवा निगमको उडानमा त्यता जानुभएको हो ।

प्रधानमन्त्रीसँगै उहाँकी पुत्री तथा निजी सचिव गंगा दाहाल, वनमन्त्री वीरेन्द्रप्रसाद महतो, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, निजी सचिव रमेशकुमार मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत १८ जना सरकारी अधिकारीहरु टोलीमा छन् । १२ जना बिजनेस टोली र अबुधाबीस्थित नेपाली दूतावासका आठ जना पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा आज समावेश हुँदै छन् ।

टिप्पणीहरू