फोटोमा बियरको बोतल, प्रहरी कार्यालयमा धेरैबेर छलफल

फोटोमा बियरको बोतल, प्रहरी कार्यालयमा धेरैबेर छलफल
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय चितवनको एसपी कक्षमा अघिल्लो बुधबार दिउँसो दुई दर्जनभन्दा बढी मानिस जम्मा भएका थिए । छलफल पनि एक घन्टाभन्दा बढी समयसम्म चल्यो । छलफलको विषय सामान्य पनि थिएन । जिल्लाकी प्रभावशाली महिला नेतृ र पपुलर सञ्चारकर्मी जोडिएको साइबर क्राइम सम्बन्धी केस थियो ।

प्रधानमन्त्रीकी छोरी तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सञ्चारकर्मी सन्तोष देउजा टेलबमा बसेर बोतलका बोतल बियर सिनित्त पार्दै गफिँदै एकापसमा गज्जबकै अफेयर चलेजस्तो देखिने नक्कली फोटोमा केही लेखेर फेसबुकमा पोष्टाइएकोे थियो । रेनु र सन्तोषको बदनाम गराउने, चरित्र हत्या गर्ने उद्देश्यले इडिट गरी बनाइएको फोटोलाई केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गाली थपेर फेसबुकमा हाल्ने र शेयर गर्ने काम गरेका थिए । पोष्ट गर्ने रत्ननगर नगरपालिका निवासी शिव शर्मा र त्यसलाई शेयर गर्ने भरतपुरका उपेन्द्र देवकोटालाई प्रहरीले गिरफ्तार गरेको थियो । 

सोही सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा पत्रकारहरु एसपी कक्षमा जम्मा भएका थिए । गल्ती गर्ने श्रीमान्, उनीहरुका श्रीमतीहरुले हात जोड्दै रुनुपरेको थियो । धन्न देउजा उदार भइदिए । नत्र साइबर अपराधमा दुबैजना जेल जान्थे । फोटो इडिट गरी जोडेर बनाएको प्रस्ट छ । शिव शर्मा भन्दै थिए, ‘नजानेर लेखियो सन्तोषजी ¤ आई एम सरी ।’ आफूले पूरै पढ्दै नपढी शेयर गरेको उपेन्द्रको भनाइ थियो ।
 
‘फौजदारी न्यायको सिद्धान्त अनुसार कानुनको अनभिज्ञता देखाएर, मलाई थाहा छैन भनेर सुख पाउने अवस्था छैन । कानुनले क्षमा दिँदैन ।’ एसपी रामेश्वर कार्कीले प्रस्टै भनिदिए । उजुरी दर्ता गरेर मुद्दामै लाने कि, के गर्ने ? निर्णय देउजामै निहित थियो । उनैको ठाडो उजुरीले ती पक्राउ परेका थिए । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पनि भने, ‘के गर्ने ? भन्ने सन्तोष भाइकै डिसिजन हुन्छ, हामी त रोहबरमात्र हो ।’ 

शिवलाई नचिनेपनि उनकी श्रीमतीको आँसुमा सन्तोष कठोर हुन सकेनन् । देवकोटा त झन् देउजाको १४ वर्षदेखिको चिनजान रहेछन् । उनकी श्रीमती एक पटकलाई माफी दिनुस् भन्दै पटकपटक हात जोडेर रोइकराइ गर्दै थिइन् । सञ्चारकर्ममार्फत् आफैं पीडित महिलाहरुको आँसु पुछ्ने काम गर्दै आएका देउजाले ‘म तपाईंहरुमाथि पनि निर्मम हुन सक्दिनँ’ भन्दै महिलाहरुलाई भने, ‘तपाईंहरुको मुख हेरेर छोडिदिन्छु ।’ देवकोटामाथि देउजा थपिए, ‘तपाईं, तपाईं त झन् १४ वर्षदेखिको साथी । तपाईंलाई थुनाएर मलाई बहादुरी देखाउनु छैन ।’ 

सन्तोषले छोडिदिने भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशस्तरीय नेता भविलाल चापागाईंको पनि आँखा कृतज्ञका आँसुले भरिएका थिए । मानवता देखाउँदै सहज भइदिएकोमा उनले सन्तोषप्रति आभारका शब्द पनि पोखे । रास्वपा नेतृ प्रभा ढकाल भने ‘पार्टीको रोहबरमा छुटाउने कुरा हुँदैन’ भन्न थालिन् । देउजाले ‘एक पटकलाई छोडिदिन्छु’ भन्दै पार्टीले उनीहरुको जिम्मा लिनुपर्ने बताएका थिए । त्यसपछि प्रभाको भनाइ आयो, ‘तपाईंहरु कारबाही गर्नुस् या छाड्नुस् । अब हाम्रो पार्टीले पनि उहाँहरुलाई कारबाही गर्छ, हामीले लेखेर केन्द्रमा पठाइसकेका छौं । रविजीले २४ घन्टाभित्र कारबाही गर्छु भन्नुभाको छ । हामी त्योभन्दा पहिले नै गर्छौं ।’ प्रभाको पछिल्लो अभिव्यक्ति सुनेर केही पत्रकारहरुले उनले बोली फेरेको आरोप लगाए ।

पत्रकार महासंघका अध्यक्षले ‘पार्टीले कारबाहीका लागि सिफारिस गरेको पत्रको प्रतिलिपि देखाउनुस् त ¤’ भन्दा प्रभाले भनिन्, ‘यो हाम्रो पार्टीको आन्तरिक कुरा हो, मिल्दैन ।’ पार्टी प्रतिनिधि नभई स्थानीयको रुपमा रोहबर बस्न उनी तयार भइन् । पार्टीको तर्फबाट कारबाही गरेको विज्ञप्ति निकाल्ने कुरामा पनि उनले सहमति जनाइन् । अन्ततः शिव र उपेन्द्र दुवैलाई एक पटकको निम्ति सार्वजनिक रुपमा माफी मगाएर छाड्ने निर्णय भयो । उक्त फोटो इडिट गरी बनाएर सुरुमा पोष्ट गर्नेलाई प्रहरीले यसअघि नै पक्रेर कारबाही चलाइसकेको बुझिन्छ । तीचाहिँ अदालतबाट धरौटीमा रिहा भएका थिए । 

टिप्पणीहरू