अख्तियारका हाकिमको ‘लोकमान शैली’

अख्तियारका हाकिमको ‘लोकमान शैली’
सुन्नुहोस्

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा निकायका सवारी साधनको लस्कर लाग्यो । सर्वसाधारणले ठाने, ‘प्रधानमन्त्री, राष्ट्रपति वा कोही आउने कार्यक्रम रहेछ ।’

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बुटवल, सशस्त्र प्रहरी बल बुटवल, गरी सुरक्षा निकायका मात्रै ५ वटा सवारी साधन लामबद्ध थिए । एक दर्जन सरकारी गाडी तैनाथ थियो । नेपाल प्रहरी र सशस्त्रसहित लुम्बिनी प्रदेशको विभिन्न कार्यालयका प्रमुख गरी तीन दर्जन सरकारी कर्मचारी स्वागतका लागि विमानस्थल पुगेका थिए । 

तर, त्यस दिन प्रधानमन्त्री वा राष्ट्रपति नभई अख्तियार दुरूपयोग अनुसन्धानका आयुक्त जयबहादुर चन्द जाने कार्यक्रम थियो । लुम्बिनी प्रदेशमा कार्यरत एक उपसचिवले भने, ‘माननीय आयुक्तज्यूको लागि हामी दुई दर्जन कार्यालय प्रमुख पुगेका थियौं ।’ स्रोतका अनुसार ती कर्मचारी आफँै गएका भने होइनन् । 

प्रदेशका मुख्यसचिव, सुरक्षा निकायका डिआइजीलाई चन्द आफँैले फोन गर्ने गरेका छन् । अन्य कार्यालय प्रमुखलाई भने उनको सचिवालयबाट फोन जाने गरेको छ । एक कार्यालय प्रमुखले भने, ‘आयुक्तज्यूले म आउँदै छु भनेर फोन नै गर्नुभएपछि स्वागतका लागि नजाने कुरै भएन । यो सामान्य कुरा हो ।’ चन्द असोज २४ देखि २६ सम्म लुम्बिनीका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी भएका थिए ।

उनी पुगेका हरेक जिल्लामा लावालस्कर लगाएर सवारी चलेको पाइयो । यसैगरी, आयुक्त चन्द गत २४ असारदेखि १ साउनमा हेटौंडा र बर्दिबास कार्यालयको अनुगमन तथा अन्य कार्यक्रममा सहभागी हुन गएका थिए । बागमती प्रदेशको हेटौंडा र बर्दिवास गएको बेला पनि त्यसैगरी दुई दर्जनभन्दा बढी सरकारी गाडी खटिएका थिए । आयुक्त चन्द गएको बेला सम्बन्धित प्रदेशका प्रहरी प्रमुख, सशस्त्र प्रमुख, मुख्य सचिव तथा सचिव लावा लस्कर लागेर स्वागतमा जाने गरेको एक प्रहरीले बताए ।

चन्द गत २९ जेठ २०८० देखि जेठ ३१सम्म सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरतिर थिए । त्यो बेला कञ्चनपुरमा शाहीकालमा राजा सवारी भएजस्तो कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूको भीड विमानस्थलमा लागेको एक प्रहरीले बताए । 

कुनै बेला लोकमानसिंह कार्की प्रमुख आयुक्त भएका बेला यसैगरी सवारी चलाउने गरेका थिए । अहिले चन्दले लोकमानलाई बिर्साउने गरी तामझाम गरिरहेको कर्मचारीको गुनासो छ । प्रमुख आयुक्त प्रेमकुमार राई, अन्य आयुक्त किशोरकुमार सिलवाल, डा. हरि पौडेल, डा. सुमित्रा श्रेष्ठ अमात्य पनि उपत्यकाबाहिर जाने गरेका छन् । प्रमुख आयुक्त राईसहित अन्य उपत्यकाबाहिर सामान्य हिसाबले जाने गरेका छन् । 

कोशी प्रदेशका एक कर्मचारीका अनुसार प्रमुख आयुक्त राईले आफ्नो अनुगमन तथा भ्रमणको बेलामा त्यस्तो कुनै स्वागत र एस्कर्टिङ नगर्न निर्देशन नै दिएका छन् । ती कर्मचारीले भने, ‘अनावश्यक एस्कर्टिङ र स्वागत गरियो भने प्रमुखज्यू त रिसाउनु पो हुन्छ । सर्वसाधारण जसरी उहाँले यात्रा गर्नुहुन्छ ।’

आयुक्त चन्द १० माघ २०७९ देखि माघ २१ २०७९ सम्म हेटांैडा, रसुवा र नुवाकोटको विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यो बेला उनको स्वागतको लागि कर्मचारी, सुरक्षा निकायका प्रमुखहरूको भीड लागेको एक कर्मचारीले बताए । गत १२ चैत २०७९ देखि १५ चैत २०७९सम्म कोशीका विभिन्न कार्यक्रममा चन्द सहभागी हुँदा प्रधानमन्त्री, राष्ट्रपतिको सवारीजत्तिकै तामझाम गरिएको थियो ।

टिप्पणीहरू