दुर्गा प्रसाईंको फोक्सोमा पानी, थुन्न लागियो छानीछानी

दुर्गा प्रसाईंको फोक्सोमा पानी, थुन्न लागियो छानीछानी
सुन्नुहोस्

लाग्दो हो, दुर्गा प्रसाईं निडर व्यक्ति हुन्, त्यसैले मनलाग्दी बोलेर बेलाबखत चर्चामा आउँछन् । तर, जब प्रहरीले उनलाई सोधपुछ गर्न बोलायो, तब थरथर काम्दै आफ्नो कुरा राख्न थाले ।

नेपाल प्रहरीको साइबर व्युरोले उनीविरुद्ध परेको जाहेरीका आधारमा सोधपुछ गर्न बोलायो । गएनन् । प्रहरीले घरमै पुगेर पक्राउ गर्‍यो । जब व्युरोका हाकिम नविन्द अर्यालहरुले जाहेरीमा उल्लेखित आरोपबारे सोधखोज गर्न थाले, तब उनी थरथर काम्दै बोल्थे । प्रहरीले सोध्यो, ‘तपाईंलाई अरु केही समस्या छ ?’ उनले भने, ‘फोक्सोमा पानी जमेको छ ।’ उनलाई त्यही समस्याका कारण स्लाइन पानी चढाइएको थियो भने उनका विरुद्ध परेको जाहेरीका आधारमा मुद्दा चल्ने अंग पुगेको थियो ।

तर साइबर मुद्दा लगाए पनि के गर्ने, अभिव्यक्ति स्वतन्त्रताका नाममा धरौटीमा निस्किहाल्छ र फेरि फिटिफिटी उफ्रिन्छ भन्ने भयो । निहत्था हुन्, मुख मात्र चलाउँछन् । त्यही भएर हातखुट्टा ठीक पारम कि के गर्ने भनेर कागज आइतबार मात्र गराई छोडिएको बताइन्छ । एमाले केन्द्रीय सदस्य छाडेर राजा फर्काउने नाममा ऋण मिनाहा अभियान चलाइरहेका ‘मार्सी’ उपनामले प्रख्यात विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अबउप्रान्त कसैको मानमर्यादामा आँच पुग्ने अभिव्यक्ति नदिने प्रतिबद्धतामा सही गराइएको छ । 

प्रमुख पार्टीका शीर्ष नेता, उद्योगी, व्यवसायी, मारवाडी समुदाय, बैंक तथा वित्तीय संस्थालगायतविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिँदै हिँडेका प्रसाईंविरुद्ध उजुरी परेपछि ब्युरोले उनलाई उपस्थित हुन पटक–पटक आग्रह गरेको थियो । तर, कहिले पिए पठाइदिन्छु भनेर त कहिले कानुनी सल्लाहकारसँग छलफलमा रहेको बहाना बनाएर उम्कँदै आएका उनलाई ब्युरोको टोलीले निवासबाटै समातेर बयान लिई उक्त कागज गराएको हो ।

बयानका क्रममा शुरुमा प्रसाईंले आफूमाथि प्रहरीले राजनीतिक प्रतिशोध राखेको आरोप लगाएका थिए । त्यसपछि आक्रामक बनेको प्रहरीले उनका अभिव्यक्तिको अडियो, भिडियो रेकर्ड देखायो । प्रहरीले कस्दै लगेपछि अन्तिममा ‘गल्ती भयो, अब दोहोर्‍याउँदिन​​​​​​’ भन्दै कागज गर्न सहमत भए । ‘अब उप्रान्त यस्तो गर्दिनँ, जे भयो गल्ती भयो’ भन्ने व्यहोराको कागजमा दस्तखत गरेर छुटेका प्रसार्इंले आक्रामक अभिव्यक्ति दिन थालिसकेका छन् । 

प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै भान्सामा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक गरेर चर्चामा आएका पात्र हुन् । ओलीलाई हजुरबा भनेर बोलाउने उनी पार्टी सदस्यता नै नलिई एकैचोटि एमालेको केन्द्रीय सदस्य बनेका थिए । तर, झापामा चुनाव उठ्न चाहेका प्रसाईंलाई हजुरबाले जिल्याइदिएपछि एमाले छाडेर राजावादी आन्दोलनमा लागे ।

पछिल्लो समय हजुरबा र एमाले नेता महेश बस्नेतसँग उनको कडा टक्कर परिरहेको छ । ओलीले कम्बोडियाको टेलिकममा अर्बौं लगानी गरेको र त्यसको प्रमाण आफूसँग रहेको प्रसाईंको दाबीलाई एमाले नेताहरूले खण्डन गरेपछि पूर्वपार्टीका नेताहरूसँग उनको टक्कर परेको हो ।

टिप्पणीहरू