माओवादीले विशेष महाधिवेशनपछि नयाँ विचार ल्याउने

माओवादीले विशेष महाधिवेशनपछि नयाँ विचार ल्याउने

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनुभएको छ ।

रूकुमपश्चिमको बाँफिकोटमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुराको जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो जनयुद्धको बेला हामीले विचार संश्लेषण गर्यौं, त्यसले पार्टीलाई केन्द्रीकृत गर्यो, विचारमा एकरूपता कायम भयो, संगठनमा एकतासहित गति हासिल भयो । पछिल्लो समय हामीले विचार संश्लेषणलाई महत्व दिन सकेनौं, त्यसले पार्टी विकेन्द्रित जस्तो, विचार र संगठनमा अनेकता जस्तो भएको छ । आगामी विशेष महाधिवेशनमा यो त्रुटिलाई हामी सच्चाउँछौं । नयाँ आधारमा विचार संश्लेषण गर्छौं ।’

तीन महिने अभियानको सान्दर्भिकताबारे बोल्दै उहाँले आफूहरु रूपान्तरणको प्रक्रियामा रहेको जानकारी दिनुभयो । ‘माओवादी फेरि सच्चिन थालेको जनअभिमत छ । यो नै पार्टी रूपान्तरणको आधार हो । यसकै बलमा सुदृढ पार्टी बनाउँछौं,’ उहाँको भनाई छ ।

माओवादी कमजोर भए परिवर्तनका मुद्दा नै अप्ठ्यारोमा पर्ने तर्क दिँदै प्रधानमन्त्रीले कार्यकर्तालाई सतर्क गराउनुभयो । अब नयाँ ढंगले सोच्ने ठाउँमा आइपुगिएकाले सरकार र पार्टी दुवैतर्फबाट नयाँ काम गरिएको उल्लेख गर्नुभयो । एकपछि अर्को अभियानसहित माओवादी अघि बढ्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘अब जुर्मुराएनौं भने देश नै खतरामा छ । तसर्थ, बलियो पार्टी बनाएर देशलाई निकास दिनेतर्फ गम्भीर रूपले सोचौं ।’

माओवादी कमजोर हुनुमा विचार संश्लेषण छाड्नु एक प्रमुख कारण रहेको अध्यक्ष प्रचण्डको ठहर छ । ‘हामी कमजोर हुँदै जाँदा प्रतिक्रियावादीहरू बलियाजस्ता देखिए । उनीहरूले यो परिवर्तन उल्टाउन अनेक षड्यन्त्र गरेका छन् । माओवादी पार्टी र आन्दोलनमाथि आक्रमण केन्द्रित छ’ प्रधानमन्त्रीले अगाडि भन्नुभयो, ‘पार्टी कमजोर हुँदा परिवर्तन कमजोर हुन्छ, परिवर्तन कमजोर हुँदा देश कमजोर हुन्छ, देश अस्तव्यस्त हुन्छ । तसर्थ, परिवर्तनको रक्षा र समृद्धिका लागि हामीले नै अगुवाइ गर्नुपर्दछ ।’

पार्टीको जारी अभियान सकिएपछि अर्को अभियानमा विशेष महाधिवेशन गरिने जानकारी दिइएको छ । प्रधानमन्त्रीले पदमा रहुञ्जेल राम्रो काम मात्रै गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू