रविका पार्टनर जनता डुबाएर जेल चलान

रविका पार्टनर जनता डुबाएर जेल चलान
सुन्नुहोस्

टेलिभिजन प्रस्तोताको रूपमा चर्चा कमाएर राजनीतिमा होमिएका रवि लामिछाने एकपछि अर्को विवादमा तानिने क्रम जारी छ । सुशासन र सदाचारको कुरा गरिरहने उनको नैतिकतामाथि प्रश्न उठाउँदै ग्यालेक्सी टिभीमा उनका साझेदार कुमार रम्तेललाई आइतबार पोखराको जेल चलान गरिएको छ । सामान्य घटना हुँदा समेत अरुको छविमा हिलो छ्याप्न पछि नपर्ने उनी आफूमाथि प्रश्न उठ्दा भने विभिन्न बहाना बनाएर पन्छिने गरेका छन् ।

टिभी स्क्रिन हुँदै सडकदेखि संसद्सम्म सधैँ आक्रामक रूपमा प्रस्तुत हुने उनको ‘देखाउने र चपाउने’ दाँत छुट्टाछुट्टै भएको भन्दै आलोचना गर्न थालिएको छ । यसबारे कारागारबाट रम्तेलले धेरै कुरा छरपष्ट पार्न बाँकी नै छ । रवि गृहमन्त्री नियुक्त हुनासाथ सबैभन्दा रमाउने र फूलगुच्छा बोकी हिँड्ने यिनै रम्तेल र जिबी थिए । र, उक्त मन्त्रालयबाट रवि हट्दा मर्माहत हुने पनि यिनै दुई भाइ भए । रविले पटक–पटक फेरि पनि गृहमा फर्कन खोज्नुको खास कारण पनि यिनैलाई सहकारीको ठगीबाट जोगाउनु नै थियो । अन्ततः त्यही भयो । जनता ठगेकोमा मुद्दा चल्यो । सिआइबी प्रमुख किरण बज्राचार्यसामु रविको याचनाले कुनै काम गरेन । रम्तेल अन्ततः जेल गए ।

न्युज २४ मा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बनेका उनले उक्त कार्यक्रम चटक्कै छोडेर कुमार रम्तेलहरुसँग साझेदारीमा ‘ग्यालेक्सी फोरके’ टेलिभिजन घोषणा गरेका थिए । २०७७ फागुनमा होटल म्यारियटमा भव्य सम्मेलन गरेर टेलिभिजन शुभारम्भ भयो पनि । त्यसरी खोलिएको टेलिभिजनको अध्यक्ष गितेन्द्रबाबु राई अर्थात् जिबी, उपाध्यक्ष कुमार रम्तेल र अर्का पूर्व डिआईजी छविलाल बञ्जाडे तथा प्रबन्ध निर्देशक रवि थिए । यता, अर्को तारे होटल हायातबाट टेलिभिजन ‘लञ्च’ गरियो । लिडरसिप चयन कार्यक्रमका नाममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायत उच्च तहका व्यक्तिहरू उक्त टिभीसँग जोडिए । उद्घाटन कार्यक्रममै करोडौं रूपैयाँ खर्चिइयो । यता, उपकरणमा पनि कुस्त रकम खन्याउन कञ्जुस्याइँ गरिएन । टेलिभिजनका लागि अन्तर्वार्ता तारे होटलमै आयोजना गरिन्थ्यो । मिटिङ पनि होटलमै हुन्थ्यो । 

लामिछानेले त्यतिबेला झण्डै ३–४ करोड रूपैयाँ पर्ने गाडी चढ्थे । पानीजसरी पैसा बगाउँथे । तर, त्यसरी उडाइएको पैसा न रविको थियो न जिबीको । सहकारीमा भएको जनताको निक्षेप ल्याएर यसरी मोजमस्ती गरिएको थियो । अहिले त्यही पैसाले जिबीलाई पोलेको छ । रवि आफ्नो मिडिया साझेदार भएकाले लगानी उठिहाल्छ भन्ने सोचेर जिबीले जनताको पैसा आँखा चिम्लेर खर्च गरेका हुन् । अहिले त्यसले भागाभाग मच्चाएको छ । रवि माननीय बनेर संसदतिर गइहाले । पक्राउ पुर्जी जारी भएपछि जिबी फरार छन् । यिनैका साझेदार सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई भने आइतबार कास्की जिल्ला अदालतले जेल चलान गरेको छ ।

जनताको पैसाबाट रवि रातारात धनी भए, जिबी भने प्रहरीले समात्ने डरले लुकेर बसेका छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता केही समयअघि न्याय माग्दै काठमाडौं आएका थिए । काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पनि उनै हुन् । त्यस्तै, अन्य सहकारी पनि सञ्चालन गरिएको थियो । सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताको १६ अर्ब रूपैयाँभन्दा बढी रकम दुरूपयोग गर्ने जिबीलाई अहिले प्रहरीले धुइँधुइँती खोजिरहेको छ । जनताको पैसामा मोजमस्ती गर्नेमा रवि, कुमार र जिबी बराबरको हिस्सेदार थिए । तर, रविले पहिल्यै आफ्नो बन्दोबस्त गरेको हुनाले उम्किएका छन् । ‘जनताको आवाज हुँ’ भनेर कराउँदै हिँड्ने रविसहितले गरिब जनताको पैसामा मनपरी गर्दा बचतकर्ताको बिचल्ली भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनासँगै टिभीबाट बाहिरिएका रविले यो कुरा कोट्याएका पनि छैनन् । 

सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपमहासचिव एवं सांसद वर्षमान पुनलगायतका नेताको दावा छिरिङसँगको तस्बिर सार्वजनिक भएपछि उनले खोइरो खनेका थिए । बिना सेटिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने दाबी गर्दै हिँडेका उनी आफ्नै साझेदारहरुबाट जनताको अर्बौं रूपैयाँ हिनामिना हुँदा भने मौन बस्नुको कारण के होला ?

त्यतिबेला उनले भनेका थिए, ‘बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन ।’ दावासँग फोन सम्पर्क भएका, फोटो खिचाएकामाथि अनुसन्धान हुनुपर्ने र जिबीहरुमाथि कारवाही गर्न नहुने भन्दै उनलाई सिआइबीको चक्कर लगाएर भ्याइनभ्याइ थियो ।

त्यसो त जनता लुटेर जेल गएका र भगौडासँग बसेर रविले थुप्रै तस्बिर खिचाएका छन् । यसबारे अहिलेसम्म सफाइ दिएका छैनन् ।

निक्षेपकर्ताले अलिअलि गरेर जोहो गरेको रकममा मनपरी गर्ने अनि जिम्मेवारीचाँहि नलिने उनको नैतिकता यसैबाट छर्लंग देखिएको छ । टेलिभिजन सञ्चालनकै नाममा झण्डै तीन अर्ब रूपैयाँ सकाइयो । जनताको त्यत्रो पैसा डुब्यो । पब्लिकको पैसामा सबैभन्दा धेरै रमाउने र कमाउने रवि हुन् तर उनी आफैँ पछि हटेको अवस्था छ । रविले जिबीसँगको कनेक्सनलाई सकेसम्म लुकाउन कोशिश गरिरहेका छन् । टेलिभिजन लामो समयसम्म चल्दैन भन्ने कुरा पहिल्यै थाहा पाएका रविले ग्यालेक्सीबाट कुस्त कमाउनेबित्तिकै हात झिकेको बारे त्यसैमा आबद्ध पुराना पत्रकार टिकाराम राईलाई जति जानकारी कोसँग होला र ? 

अरुलाई फसाएर आफूचाहिँ उम्किएका रविले यसबीच सबै डकुमेण्टबाट आफ्नो नाम हटाइसकेका छन् । ‘मिडियामा लगानी गर्दा फाइदा हुन्छ भनेर रविले प्रलोभन देखाएपछि जिबीले होला त नि भनी सहकारीको पैसा ल्याएर लगानी गरेका थिए । रविका आश्वासनको पछि लाग्दा जिबी त फसे फसे, हजारौंको घरबारसमेत उजाडिदिए । निक्षेपकर्ताहरू लगानी डुबेर चिन्तित बन्दा रवि मौन बस्नुले ‘दालमा केही कालो‘ भएको संकेत गर्छ । जिबीको सहकारीले एउटै व्यक्तिको करोडौं रूपैयाँसम्म डुबाइदिएको छ । 

पब्लिक डुबे, पत्रकारको बिचल्ली 

पछिल्लो समय सहकारीमा जम्मा भएको रकमले मिडिया खोल्ने होडबाजी चलेको छ । कालो धनलाई सेतो बनाउने थलो बनेको छ, मिडिया । त्यसकै उपज हो ग्यालेक्सी फोर–के टेलिभिजन । रविको आइडियामा जिबीले मिडिया खोलेको स्पष्ट छ । जिबी अध्यक्ष भए पनि त्यसको हर्ताकर्ता रवि नै हुन् । रविकै लागि भनेर जिबीले टेलिभिजन खोलिदिएको प्रष्टै छ । रविले बीचमै छोड्दा टेलिभिजन बन्द हुने अवस्थामा पुगेको छ भने सहकारी ठप्प छ । यता, ग्यालेक्सी टेलिभिजनका पत्रकारहरूको बिजोग भएको छ । 

 

टिप्पणीहरू