शान्ति प्रक्रिया टुंग्याउन दलहरुमा इमान्दारिता देखिएन : प्रधानमन्त्री

शान्ति प्रक्रिया टुंग्याउन दलहरुमा इमान्दारिता देखिएन :  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्री दलहरु नै शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक देखिएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

द्वन्द्व पीडित परिवारले ’संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेलागरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो । त्यसक्रममा उहाँले नेपालको शान्ति प्रक्रियालाई बदनाम गराएर विश्व समुदायलाई भ्रममा पार्ने प्रयास भइरहेको पनि उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ’शान्ति प्रक्रिया टुंग्याउने विषयलाई  पेचिलो बनाउने प्रयास भइराखेको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोशिस गरिरहेका छन् । पछिल्लो समय सदनका बहस हेर्नुभएकै छ, शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।’

विभिन्न चुनौतीबीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्व पीडितका समस्या समाधन गर्न पक्ष–विपक्ष नभनी प्रयास गरिराखेको बताउँदै उहाँले संयुक्त राष्ट्रसंघको महासभामा पनि यो विषय उठाएको जानकारी दिनुभयो ।

 

’मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले धेरै कुरा सिक्न सक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरंगित भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ’यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन । पूरै बधाई र धन्यवाद दिनेको ताँती नै लागेको थियो ।’

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण अहिले रोकिए पनि छिट्टै हुने विश्वास जनाउँदै त्यतिबेला पीडितहरूले आफ्नो विषय राख्ने र उनीहरुका अनुभव र पीडाका विषय सुनाउने वातावरण बनाउनेतर्फ पनि आफूले सोचिराखेको सुनाउनुभयो । अहिले टिआरसी विधेयक संसद्को उपसमितिमा रहेको र शान्ति प्रक्रियालाई राजनीतिक तहमा यसअघि भएका सहमतिअनुसार टुंगोमा पुर्याउन निरन्तर छलफल भइरहेको उहाँको भनाई छ ।

’टिआरसी टुंगोमा पुर्याउन प्रतिपक्षी दललाई संसदीय समितिका तीनवटा सभापति दिइएको छ । तर, माओवादी र सरकार जस्तो इमान्दार प्रतिपक्ष दल भैराखेको छैन’, प्रधानमन्त्रीले सुनाउनुभयो।  

शान्ति प्रक्रिया टुँगोमा पुर्याउने र जनयुद्धलाई स्थापित गर्ने कुरामा आफू दृढतापूर्वक लागेको बताउँनुहुँदै प्रधानमन्त्री प्रचण्डले यसमा पीडित परिवारलाई पनि साथ दिन आग्रह गर्नुभयो ।

टिप्पणीहरू