प्रधानमन्त्री कार्यालयमा रेशम चौधरीको धरातल सार्वजनिक

प्रधानमन्त्री कार्यालयमा रेशम चौधरीको धरातल सार्वजनिक

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।

प्रवासी जीवनदेखि काराबाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजारस्थित कारागारमा लेखेका हुन् । यसमा रेशमको व्यक्तिगत मात्रै नभएर थरुहट आन्दोलनको पृष्ठभूमिलाई पनि समेटिएको छ । 

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गर्नुभयो । ‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ । उहाँ अहिले बाहिर हुनुहुन्छ, सक्रिय हुनुहुन्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँको किताब विमोचन गर्न पाउँदा खुसी लागेको छ । आउन दिनमा पनि अरु राम्रा रचना आउने विश्वास गरेको छु ।’

चौधरीले आफ्नो प्रवासदेखि जेल जीवनसम्मको यात्रा र भोगाईमा आधारित रहेर पुस्तक लेखेको बताए ।  ‘यो मैले जेलमा हुँदा लेखेको किताव हो । जसमा मैले प्रवासमा रहँदा र जेलमा रहँदा के देखेँ ? के भोगँ े? आफू प्रवासमा रहेर कसरी चुनाव जितँे ? मलाई जिताउन कुन–कुन पात्रले सहयोग गर्नुभयो ? जेलका पीडा कस्तो थियो ? वास्तविक हाम्रो धरातल के थियो ? कस्तो छ ? भन्ने कुरा यस पुस्तकमा छ’, उनले भने ।

२०७२ सालमा भएको थरुहट आन्दोलनका कारण काराबाससम्म पुगेका चौधरीका यसअघि नै टीकापुर घटनाको चिरफार, परिबन्धलगायत किताबहरु बजारमा छन् । उनको किताबमा दर्जनौँले शोध गरेका छन् । 

जेलमा लेखेको ‘धरातल’ लाई जेलबाटै सार्वजनिक गर्ने रेशमको सोच थियो । तर, गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाई जेलमुक्त भएपछि अहिले प्रधानमन्त्रीको हातबाट पुस्तक विमोचन गरिएको हो ।

चौधरी २०४७ सालमा ‘जोगनी’ नामक पत्रिकाको सम्पादन गरेर पत्रकारिता तथा लेखनमा लागेका हुन् । २०५० सालमा ‘एक ठो वीरहीन कथा’ नामक कविता संग्रह प्रकाशन भएको थियो । त्यसयता उनले आधा दर्जनभन्दा बढि पुस्तकहरु प्रकाशन गरिसकेका छन् ।
 

टिप्पणीहरू