कहिले पाउने नयाँ माननीय ?

कहिले पाउने नयाँ माननीय ?

संघ, प्रदेश र स्थानीय तहका गरी रिक्त २२ स्थानमा आगामी वैशाखमा मात्रै उपचुनाव सक्न निर्वाचन आयोगले तयारी थालेको छ । सरकारबाट सहमति पाएसँगै आयोग तदनुरुप तयारीमा जुटेको हो । हाल संघ र प्रदेशमा एक–एक तथा स्थानीय तहमा २० पद खाली छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनसँगै इलाम–२ जनप्रतिनिधिविहीन भएको छ भने गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ ‘क’ पनि रिक्त छ ।  कानुनतः यी दुवै स्थानमा पदपूर्ति गर्नै पर्ने हुन्छ । 

संविधानमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेकाले यी दुवै निर्वाचन क्षेत्रमा पुनः चुनाव गर्नुपर्ने अवस्था बनेको हो । त्यस्तै, दुई जिल्ला समन्वय प्रमुखसहित रिक्त पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पनि उपचुनावबाट पदपूर्ति गर्नुपर्नेछ । हाल कैलाली र ओखलढुंगामा जिसस प्रमुख खाली छ । त्यस्तै, काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएकाले त्यहाँ पनि उपचुनाव गर्नुपर्ने अवस्था छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरूको टोलीले हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराइसकेको छ । प्रधानमन्त्रीले राष्ट्रियसभाको निर्वाचनपछि रिक्त २२ स्थानमा चुनाव सम्पन्न गर्नेगरी तयारी थाल्न सुझाएबमोजिम वैशाखमा उपचुनावको मिति तोकिने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ । यता, स्थायी सदन राष्ट्रियसभाका एकतिहाइ सदस्यको फागुन २० गते सकिँदै छ । त्यसअघि नै माघ दोस्रो साता निर्वाचन गर्नेगरी छठलगत्तै मिति तोक्ने तयारीमा निर्वाचन आयोग छ । गोलाप्रथाद्वारा कार्यकाल टुंगो लाग्ने राष्ट्रियसभाका एकतिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पद खाली हुन्छ भने निर्वाचनमार्फत रिक्त पदपूर्ति गरिने व्यवस्था छ । यसपटक अध्यक्ष गणेश तिमिल्सिनासहित १९ जनाको पद खाली हुँदै छ ।
 

टिप्पणीहरू