प्रधानमन्त्री चीन जाँदा ‘राष्ट्रिय दिदी’को चर्चा

प्रधानमन्त्री चीन जाँदा ‘राष्ट्रिय दिदी’को चर्चा
सुन्नुहोस्

यतिबेला ‘राष्ट्रिय भाउजू’लाई नचिन्ने कोही नेपाली छैन होला । राष्ट्रिय भाउजूजस्तै अर्को एउटा टाइटल थपिएको छ ‘राष्ट्रिय दिदी’ । कुरा हो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको प्रसंग ।

प्रधानमन्त्रीको साथ छोरी गंगा दाहाल जहाँसुकै सँगै उभिएको फोटो देख्न सकिन्छ । कतिपय अवस्थामा प्रोटोकोललाई बेवास्ता गरिएको पनि प्रष्ट छ । चीन भ्रमण सम्पन्न गरेर फर्कंदा सेनाबाट सलामी अर्पण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको उक्त फोटोमा गंगा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षभन्दा अगाडि उभिएकी छन् । पछाडि कार्यवाहक प्रधानमन्त्रीसहित सम्माननीय व्यक्तिहरू उभिनु उदेकलाग्दो भन्दै धेरैले चर्को आलोचना र टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको भेटमा पनि फूर्तिफार्ती उस्तै थियो । महँगो ब्याग देखाउनेदेखि आफू जान नमिल्ने ठाउँमा पहिले नै पुगिदिने । कसैले क्यामेरा बोकेको देख्यो कि पोज दिइहाल्ने । 

यस्ता गतिविधिमा प्रधानमन्त्री प्रचण्डले कहिल्यै हस्तक्षेप गरेनन् बरु कतै छोरी नदेख्दा दायाँबायाँ हेरेर खोज्ने । अमेरिकादेखि चीनसम्मकै भ्रमण दलमा सहभागी एक सदस्यसँग यसबारे सोध्दा भनियो, ‘प्रोटोकोलले पूरै प्रतिबन्ध लगाएका क्रियाकलाप पनि उनले देखाइन् ।’

त्यसो भए प्रधानमन्त्री अथवा परराष्ट्र मन्त्रालयको शिष्टाचार महापाल दिलिप पौडेल र प्रवीण भट्टराईलगायतले किन नियम सिकाएनन् भन्ने प्रश्नमा उनको जवाफ निकै रमाइलो पाइयो । उनले भने ‘अब कसले सिकाउने ! गंगालाई यसो गर्नु हुँदैन भन्नु भनेको प्रचण्डलाई नै सिकाउनुजस्तै हो । त्यही भएर चुप बसेका हुन् ।’

सचिवालयबाट ‘दिदीको इच्छा यस्तो छ, दिदीले यस्तो चाहनुभएको छ’ भन्दै दबाब आउने गरेको उनले सुनाए । उमेरले सानै भए पनि भ्रमण अवधिभर गंगालाई सबैले दिदी नै भनेर सम्बोधन गर्थे ।

प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षा क्षेत्रबाट पनि गंगाका लागि यसो गर्न र उसो गर्न बारम्बार निर्देशन आइरहन्थ्यो । प्रधानमन्त्री प्रचण्डको चाकडी गर्नका लागि पनि गंगालाई टाउकामा चढाएको ती प्रतिनिधिले बताए । उनले हाँस्दै भने ‘आखिर हामी सबैले गंगालाई राष्ट्रिय दिदी बनाएरै छोड्यौँ ।’ सामान्यतया गंगालाई दिइएको दर्जा स्वकीय सचिवको मात्र हो । तर, राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा मन्त्री, सल्लाहकार र मुख्यसचिवभन्दा उनलाई ठूलो हैसियत दिन मिल्ने कुरै होइन । यहाँसम्म कि फस्र्ट लेडीलाई सम्म पनि फर्मल ब्यांक्वेटभन्दा यस्ता महŒवपूर्ण भेटघाटमा सामेल गराउने प्रचलन छैन । 

कुनै बेला गिरिजाप्रसाद कोइरालाको दबदबा रहेका बेला सुजाताले राष्ट्रिय दिदीको छबि बनाएकी थिइन् । गंगा र सुजाता दुवै नेताका छोरी भए पनि सुजाताको हैसियत नेपाली कांग्र्रेस र राष्ट्रिय राजनीतिमा केही माथि थियो । ‘केही अप्ठ्यारो परेमा सबै जना अब जे गर्छिन्, राष्ट्रिय दिदीले गर्छिन् भन्दै खासखुस गर्ने बानी नै परेको थियो । तर अप्ठ्याराको समाधानका लागि चाहिँ दिदी चाहिएको होइन अप्ठ्यारो सिर्जना गर्ने नै राष्ट्रिय दिदी भएकाले हो ।’

– निजी अंगरक्षकहरू
 

टिप्पणीहरू