धर्मगुरुकै शैक्षिक प्रमाणपत्र नक्कली !

धर्मगुरुकै शैक्षिक प्रमाणपत्र नक्कली !
सुन्नुहोस्

नक्कली शैक्षिक प्रमाणपत्रले मुलुकमा आतंक मच्चाइरहँदा अर्का एक ख्रिष्टियन धर्मगुरु पनि उक्त काण्डमा मुछिएका छन् । नेपाल ख्रिष्टियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज (सिबी) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ । उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको छ ।ललितपुरको गोदावरीमा बस्दै आएका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिनको माग गर्दै भदौ ३ गते उजुरी परेको थियो । ‘महानअभियान’ नामका पत्रिका दर्ता गर्ने बेला उनले स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरीकर्ताको आरोप छ । 

उक्त उजुरी परेपछि छानबिन अगाडि बढाएको ढाँट्दै विभागले त्रिविबाट सबै डकुमेण्ट झिकाएको हो । समाजशास्त्रमा स्नातक गरेको भनी ढाँटी आएका उनको भण्डाफोर भएको छ । त्रिविले उनको रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) सँग मेल खाने अभिलेख नभएको प्रष्ट्याएको छ । भदौ २७ गते त्रिविले पठाएको पत्रमा भनिएको छ, ‘चरीबहादुर गहतराज रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको ।’

पशुपति बहुमुखी क्याम्पसबाट वि.सं २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही प्रक्रिया अगाडि बढाएको छ । विभागले उनको नक्कली प्रमाणपत्रबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराइसकेको स्रोत बताउँछ । यता, मन्त्रालयले उनलाई कारबाहीका लागि गृह मन्त्रालय र सिआइबीलाई पत्र लेख्ने तयारी गरेको स्रोतको भनाइ छ । ‘ख्रिष्टियन धार्मिक समुदायको मसिहा ठान्ने संस्थाका जिम्मेवार पदकै व्यक्तिको सर्टिफिकेट नक्कली छ, के भन्ने ? यसले धार्मिक समुदायमाथि नै चोट पुगेको छ । धेरै जानेबुझेका, वास्तविक अध्ययन गर्नेभन्दा आफूलाई विद्वान् तथा शिक्षित भन्न रुचाउँछन् । प्रमाणपत्र भने कीर्ते । ख्रिष्टियन समुदायमा यस्तो ठूलै जमात छ’, स्रोतले भन्यो । विभागका एक अधिकृतका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्रिका दर्ता गरी विभागमा सूचीकृत गर्दा पेश गरेको प्रमाणपत्र नक्कली फेला परेको हो । उक्त प्रमाणपत्र प्रयोग गरी गहतराजले केही वर्ष पत्रिका सञ्चालन गरेको पाइएको भन्दै गहतराजमाथि विभागको कानुन शाखाले कारबाही थालेको उनले जानकारी दिए । 

बर्खास्तपछि पनि दादागिरी 

सिबी गहतराजलाई महासंघको अध्यक्ष पदबाट केन्द्रीय समितिका ३० जना सदस्यले बहुमतका आधारमा हटाएका छन् । तैपनि, उनी सो निर्णय मान्न तयार छैनन् । उनले एक महिनाअघि महासंघको कार्यवाहक अध्यक्ष र भूतपूर्व महासचिवमाथि हातपात गरेका थिए । केटाहरू लगेर कार्यालयमै कुटपिटको वातावरण सिर्जना गरेपछि चर्को आलोचना भएको थियो । महासंघलगायत ईंसाइ धर्मसम्बद्ध संघसंस्थाले गहतराजलाई बहिष्कार अभियान चलाएका छन् । 

उनले कानुन लत्याएर महासंघ कब्जा गर्न खोजेको जानकारहरूको आरोप छ । ‘बहुमतको आधारमा उनलाई निलम्बित गरिएको छ । जेठ १७ गते निलम्बन र साउन ३ गते निश्कासन गरिसकेकाले उनको वैधानिकता सकिइसक्यो । अब हटिसकेपछि मै अध्यक्ष भनेर दाबी गर्न मिल्छ ? उनले आफूलाई सुधार्नुको साटो झनै छुट्टै कमिटी गठन गरेपछि हामीले वाक्कदिक्क भएर निकालेका हौं । हामी विधानसम्मत चलेका छौं, त्यसैले डराउनुपर्ने कुरा नै छैन’, महासंघका एक पदाधिकारीले भने । यता, काठमाडौं प्रशासनले दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी छ । 
पैसा सापटी लिने, फिर्ता माग्दा धम्क्याउने

उनले पदको आडमा ख्रिष्टियन अगुवाको पैसा सापटी लिएको र फिर्ता नदिएको महासंघका पदाधिकारीहरू बताउँछन् । पैसा फिर्ता माग्दा उल्टै धम्क्याउने, मुद्दा हाल्ने र दुःख दिने गरेको एक जना पीडितले बताए । आम्दानीको कुनै स्रोत नभए पनि करोडौंको सम्पत्ति भएको तिनको भनाइ छ ।

 

टिप्पणीहरू