नेपालमा बढे क्रिश्चियन निरन्तर

नेपालमा बढे क्रिश्चियन निरन्तर

एकेश्वरवादी धर्म मानिने इसाई धर्मावलम्बीको बोलबाला केही समययता नेपालमा तीव्र गतिमा बढेको छ । हाल मुलुकमा १२ हजार बढी चर्च छन् । झण्डै ३० लाख नेपालीले क्रिश्चियन धर्म मान्दै आएका छन् ।

अन्तर्राष्ट्रिय ख्रिष्टियन संस्था ‘युनाइटेड मिसन नेपाल’ को सक्रियतामा नेपालीलाई क्रिश्चियन बनाउने अभियान चलेको छ । नेपाल राष्ट्रिय मण्डली संगति र नेपाल ख्रिष्टियन समाजले धर्मान्तर अभियान चलाउन केही समयअगाडि संयुक्त आह्वान नै गरेका थिए । धर्मान्तर मिसन नेपालमा तीव्र गतिमा अगाडि बढेको र संविधानमा खसआर्य एकै भनी उल्लेख हुँदा समस्यामा परेको उनले पठाएको पत्रमा उल्लेख छ । 

ब्राह्मण समुदायलाई आर्य–हिन्दु र क्षेत्री समुदायलाई खस–मष्टामा विभाजन गरी धर्मान्तरको अभियान सुचारु गरिने भनिएको छ । संगतिका महासचिव पास्टर शेरबहादुर एसी र समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले अन्तर्राष्ट्रियस्तरका ख्रिष्टियन संस्थाको विशेष बैठकले गरेको निर्णयअनुसार होसियारीपूर्वक अगाडि बढ्न सुसूचितसमेत गराएका छन् । 

‘सम्पूर्ण ब्राह्मण तथा क्षेत्री समुदायका ख्रिष्टियनहरूले आफ्नो घरमा आउने गणकलाई जातिमा खस र धर्ममा मष्ट लेख्न लेखाउन आफ्नो चर्चभित्रका विश्वासीलाई जानकारी दिन, साथै यस कार्यमा अझ होसियारीपूर्वक निरन्तर लागिरहनसमेत हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा उल्लेख छ । 

समाजका महासचिव पौडेल केही समूह मिलेर क्रिश्चियनहरूको खोइरो खनिएको बताउँछन् । अन्य धर्मझैं क्रिश्चियनले जातीय विभेद, छुवाछुत, धनी, गरिबबीच भेदभाव गर्न नहुनेलगायतका राम्रो कुराहरू सिकाउने उनले बताए । 

‘पैसाले किनेर क्रिश्चियन बनायो भन्छन्, मान्छे त्यतिसम्म नबुझ्ने त छैनन् होला, किनेको मान्छे कतिञ्जेल चर्चमा आउँछन् ?’ उनले भने । इसाई धर्मले अन्य धर्मलाई होच्याउने, गाली गर्नेलगायत कार्य नगर्ने उनको दाबी छ । 

मन्दिरको शहरमा चर्च 

पछिल्लो समय चर्च बन्ने क्रम ह्वात्तै बढेको छ । मन्दिरको शहरका रूपमा परिचित तथा विश्वका करोडौं हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुरमा समेत ठूलो संख्यामा चर्च खुलेका छन् । यता, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, कञ्चनपुरलगायत जिल्लामा पनि धेरै चर्च छन् । 

राष्ट्रवादी केन्द्र नेपालका महासचिव भुवन संग्रामले मुलुकमा ‘क्रिश्चिनियटी’ नभई ‘क्रिश्चियन मिसिनरी’ अभियान चलेको बताए । धर्म परिवर्तन गराउन खेल नै रचिएको उनको आरोप छ । 

‘क्रिश्चियन धर्म फैलाउनका लागि मिसन नै चलाइएको छ । देशमा गौहत्या र मन्दिर तोडफोड पनि भइरहेको छ । धर्मनिरपेक्षताको नाममा हिन्दू, बौद्ध र किँरात धर्मावलम्बीलाई निरन्तर शिकार बनाइँदैछ । 
 

टिप्पणीहरू