कैलाश ढुंगेल पार्टीका भए कृष्ण दाहालचाहिँ कताका नि !

कैलाश ढुंगेल पार्टीका भए कृष्ण दाहालचाहिँ कताका नि !

नेकपा एमाले मकवानपुरका उपसचिव हिदम लामा पुरानो सदरमुकाम भीमफेदी र तत्कालीन चिसापानीगढीसहितका ऐतिहासिक क्षेत्र समेटेर निर्माण भएको भीमफेदी गाउँपालिकामा दोस्रोपटक अध्यक्षको रूपमा सक्रिय छन् । २०७४ र २०७९ को स्थानीय निर्वाचनमा आफूविरुद्ध बनेका कांग्रेस र माओवादीको गठबन्धनलाई दुबैपटक उनले असफल पारिदिएका छन् । उनै लामा भर्खरै एमालेको प्रथम बागमती प्रदेश अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी पूर्वसांसद कृष्णप्रसाद दाहालको प्रस्तावक थिए । प्रस्तुत छ– बागमती प्रदेश र समसामयिक राजनीतिका सन्दर्भमा जनआस्थाका लागि शिवकुमार काशीले गरेको कुराकानीको संक्षिप्त अंशः

० तपाईंले प्रस्ताव गर्नुभएका कृष्णप्रसाद दाहाल पराजित हुनुभयो । यो अवस्थालाई कसरी टिप्पणी गर्नुहुन्छ ?

– अब यो बितिसकेको विषयमा चर्चा नगरौँ ।

० दुई गुट भएर चुनाव भएको भन्ने सुनिन्छ नि ?

– हामीले नितान्त जनताको बहुदलीय जनवादले अंगकार गरेको लोकतान्त्रिक पाटोलाई जीवित पारेका हौँ । तर केही प्रश्न छन्, जसको उत्तर खोजिरहेका छौँ । कैलाश ढुंगेल पार्टीको आधिकारिक उम्मेदवार हो भनेर जिल्ला तहमा खटिएका इञ्चार्जहरूले आफ्ना प्रतिनिधिलाई अस्वस्थ हिसाबले निर्देशन दिइरहेको हामीले देख्यौँ । हाम्रो प्रश्न, उहाँ आधिकारिक उम्मेदवार हो भने कृष्णप्रसाद दाहाल कमरेडचाहिँ कसको उम्मेदवार हुनुहुन्छ ? हाम्रो पार्टीमा केही समस्या छन् । मझौला कदका केही नेताले आफ्नो महत्वाकाँक्षा पूरा गर्नका निम्ति शीर्ष नेताहरूलाई विभिन्न धुरी बनाएर स्वार्थको रोटी सेक्न खोजिरहेको देखिन्छ ।

० सहमतिको नाउँमा प्रक्रिया निकै ढिलाइ भए, परिस्थितिलाई अत्यासलाग्दो बनाइयो । अस्वस्थ गतिविधि भए  । समयमै निर्वाचन भएको भए कृष्णप्रसाद दाहालले जित्नुहुन्थ्यो भन्ने पनि सुनिन्छ नि !

– त्यो कुरामा केही सत्यता छ । निर्धारित समयभित्र लोकतान्त्रिक विधिमा हामी गएको भए दाहाल कमरेडले जीत हासिल गर्नुहुन्थ्यो । हामी तमाम प्रतिनिधिहरू ३ दिनका लागि खर्चबर्च बोकेर काठमाडौँ पुग्यौँ । पट्यार लाग्ने गरी ६ दिनसम्म बस्नुप¥यो । यो बीच सहमतिका नाउँमा निकै गिजोल्ने काम भयो । काठमाडौँका अध्यक्ष दिपक निरौला कमरेड र ललितपुरका पुरुषोत्तम कमरेडको सहभागितामा भएका अस्वस्थ गतिविधि मिडियाभरि छरपस्ट छन् ।

० एउटा थितिमा चल्नुपर्ने अधिवेशनमा अर्का उम्मेदवारलाई पराजित गर्नका लागि भएका अस्वस्थ गतिविधिहरूबारे तपाईंको टिप्पणीचाहिँ के हो ?

– मदन भण्डारीको फोटो टाँसेको पोशाक लगाएर मैले गुटबन्दी गरेको हुँ भन्दै छाती पिट्ने कमरेडहरूले आफ्नो वडामा कति जना जनप्रतिनिधिलाई जिताउनुभयो ? ३ सय मत कट्यो कि कटेन ? कहिल्यै यसबारे सोच्नुभएको छ ? अनि हामीजस्ता आम कार्यकर्ताले यो प्रश्न उहाँहरूलाई गर्नुपर्छ कि पर्दैन ? के कम्युनिष्ट पार्टीभित्र आलोचनात्मक चेत मरेको हो ? म हिदम लामा आलोचनात्मक चेत भएको मान्छे हुँ । मैले जनताको बहुदलीय जनवादको मर्म र भावना, पार्टीका अनुशासन, विधि, प्रक्रिया बिग्रेको देख्दा सँधै खबरदारी गर्छु । कम्युनिष्ट कार्यकर्ता भएका नाताले सहरकेन्द्रित कमरेडहरूले गरिरहनुभएको बेथितिबारे सार्बजनिक रूपमै धारणा लेखेको छु ।

० कस्ता कस्ता प्रतिनिधिहरूले कृष्ण दाहाललाई मत हाले त ?

– म प्रस्तावक रहेको उम्मेदवार, पूर्वसांसद र मकवानपुरे कम्युनिष्ट आन्दोलनका जिउँदा इतिहास कृष्णप्रसाद दाहालले ४३९ मत पाउनुभयो । यो भनेको सबैखाले शक्तिहरूको दुरूपयोग गरेर पनि भड्काउन नसकेको मत हो । यो भूगोलमा बस्ने पैताला पट्पटी फुटेका प्रतिनिधि कमरेडहरूको मत हो । यो मत टोपी फाटेका र श्रम गरेर पसिना बगाउने प्रतिनिधि कमरेडहरूको मत हो । नेकपा एमालेप्रति आशा र भरोसा भएर नियमित लेबी तिरी अधिवेशनमा गरिव, सर्वहारा, मजदुर र पछाडि पारिएका वर्गको प्रतिनिधित्व गरेर ३ दिनको बिदा लिई अधिवेशनमा आउनुभएका बास्तविक कमरेडहरूको मत हो यो ।

० तर यो अधिवेशनमा तपाईंहरूले अध्यक्ष कमरेड केपी ओलीकै कुरा मान्नुभएन नि ? उहाँले सर्वसम्मत नेतृत्व चुन्ने कुरा गर्नुभएको थियो ।

– उहाँले सर्वसम्मत नेतृत्व चयन होस्,नभए स्वस्थ प्रतिस्पर्धामा जानु भनेर उद्घाटन सत्रमै भन्नुभएको हो । सोहीबमोजिम अधिवेशन अघि बढेको हो । अधिवेशनमा सहभागी प्रतिनिधिहरूले स्वस्थ प्रतिस्पर्धामा जाने बाटो खोजे । त्यसपछि चुनाव भएको हो । चुनाव हुँदा आदरणीय अध्यक्ष कमरेडको मानमर्दन भएको वा उहाँको निर्देशन नमानेको होइन । यो आवश्यकतामा आधारित कुरा हो ।

० देशले अबको राजनीतिक मार्ग कस्तो खोजेको छ ?

– हामीले नयाँ संविधान पाएपछि दुईपटक संघीय, प्रदेश र स्थानीय सरकारको निर्वाचन मार्फत् जनप्रतिनिधिहरू छनौट ग¥यौँ । यो बीचमा नेपालका कम्युनिष्ट पार्टीहरूको एकीकरण प्रक्रिया पनि अघि बढ्यो । तर, यसले लामो समयसम्म आफ्नो हैसियतलाई कायम राख्न सकेन । तत्कालीन नेकपामय अवधिमा अनेकौ गड्बडी र अफ्ठ्याराहरू थिए होलान् । ती सबै अब इतिहास भए । अब फेरि पनि नेपालमा एउटा बलियो कम्युनिष्ट पार्टीको विकल्प छैन । जे जसरी हुन्छ वामशक्तिहरू फेरि एक ठाउँमा उभिएर मुलुकको समृद्धिको ढोका खोल्नुपर्नेछ । त्यसो हुन सकेमा फेरि पनि सुखी नेपालीः समृद्ध नेपालको परिकल्पनासहित नीति, कार्यक्रम, बजेट हासिल गर्न सक्छौँ ।

० तर, कम्युनिष्ट पार्टीहरू पनि त जवान हुन नपाउँदै फुटिदिन्छन्, गुट मौलाइदिन्छ नि !

– जब पार्टीभित्रको लोकतन्त्र कमजोर हुन्छ । नेताहरूको जवाफदेहितामा खिया लाग्छ । पार्टीभित्र कमिटी प्रणाली सकिन्छ । सुशासन सकिन्छ । राजनीतिक कार्यकर्ताहरूको आलोचनात्मक चेत सकिन्छ । नेताहरू आफूलाई पार्टीको प्राधिकार ठान्न थाल्छन् । त्यही भ्रमबाट कार्यकर्ता पनि निर्देशित हुन्छन । त्यसपछि राज्यको लोकतान्त्रिक प्रक्रिया नै सुस्त र कमजोर बन्न पुग्छन् । मतदाताहरू निम्छरा बन्छन् र नेताहरू महाराजाधिराज र मठाधीश बन्छन् । यस्तो अवस्थामा त्यस्तो पार्टीले जनताको प्रतिनिधित्व गर्न सक्दैन । जनताबाट तिरस्कृत बन्न पुग्छ । पार्टी पार्टीजस्तो बन्दैन । विचार, सिद्धान्त र व्यवहारबीच मेल हुँदैन । त्यसैले पार्टीको आन्तरिक लोकतन्त्र, अनुशासन, विधि, पद्धति, प्रक्रिया, विचार, सिद्धान्तजस्ता कुरालाई लत्याउने काम कसैले पनि गर्नुहुँदैन ।

टिप्पणीहरू