हाकिमका कारण हैरानी,दुखी मेयरको कहानी
‘कामकाजमा समस्या छैन,प्रमुख प्रशासकीय अधिकृत दिनदिनै फेर्नू ।’ धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको यो पत्र अहिले सर्वत्र चर्चामा छ ।
महिनैपिच्छे प्रमुख प्रशासकीय अधिकृत फेरिएपछि हत्तुहैरान भएका मेयर गुरुङले व्यंग्यात्मक शैलीमा मन्त्रालयलाई पत्र लेखी आक्रोश व्यक्त गरेका छन् । प्रत्येक महिना वा दिनदिनै एक–एक जना प्रमुख प्रशासकीय अधिकृत पठाउँदा पनि केही फरक नपर्ने भन्दै कटाक्ष गरेका छन् ।
‘यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्काउन, बालीनाली लगाउन, गाई भैसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाई गर्न, फलफूल लगाउन फूल्न, फल्न र सोको निकासा गरी बिक्रीवितरण गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना–महिनामा वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक–एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ,’ नगर प्रमुख गुरुङले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।
पाख्रीबास नगरपालिकामा पछिल्लो साढे तीन वर्षमा आधा दर्जन प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । पटकपटक प्रमुख प्रशासकीय अधिकृत फेरिँदा नगरपालिकाको कामकाजसँगै स्थानीय नागरिकले दुःख पाइरहेकोले मन्त्रालयलाई सुझावस्वरुप उक्त पत्र लेखेको मेयर गुरुङले बताए ।
जनआस्थासँगको कुराकानीमा उनले भने, ‘यो हाम्रो मात्र पीडा होइन, देशभरका स्थानीय तहको पीडा हो । कार्य अवधि नपुग्दै प्रमुख प्रशासकीय अधिकृत फेरिँदा धेरै समस्या खेप्नुपर्छ । नगरपालिकाको प्रशासनिक र आर्थिक काम प्रमुख प्रशासकीय अधिकृतबिना हुँदैन । यसले हाम्रो काम त अड्किन्छ नै सँगै सेवा लिन घण्टौंको बाटो खाली खुट्टा हिँडेर आउने गाउँका मानिसहरुले दुःख, हैरानी भोग्नुपरिरहेको छ । हाकिम छैन भन्दै उनीहरुलाई बारम्बार फर्काउनुपर्छ ।’
अर्कोतर्फ, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि पठाइदिन काठमाडौं आउन बिन्ती गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै मेयर गुरुङले थपे, ‘त्यसरी बल्लतल्ल ल्याएको नयाँ प्रमुख प्रशासकीय अधिकृतले पुरानोको काम गर्न मान्दैन । जसको असर पनि हामीले नै खेप्नुपर्छ ।’
प्रमुख प्रशासकीय अधिकृतको कार्यकाल कम्तीमा दुईदेखि तीन वर्ष तोक्न संघीय सरकारको पटकपटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको उनको गुनासो छ । भने, ‘संघ र स्थानीय तह दाजुभाइ हुन् । दुवैले एकअर्कालाई सहयोग र सम्मान गर्नुपर्छ । तर, यहाँ त दाजु हुँ भन्दै संघले स्थानीय तहलाई हेपिरहेको अवस्था छ । संघले स्थानीय तहको समस्या सुन्छ न समाधान गर्न पहल गर्छ ।’

टिप्पणीहरू