हनुमानलाई बुझाउन सेनाको हतारो

हनुमानलाई बुझाउन सेनाको हतारो

नेपाली सेनाले काठमाडौं–निजगढ फास्ट ट्र्याकको प्राविधिक मूल्यांकन कार्य भदौ अन्तिम साता सकाएको छ । २४ गतेको फास्ट ट्रयाक टेक्निकल इभ्यालुएसनबाट तीन वटा प्याकेज छनोट गरिएको छ । प्याकेज ८ ‘ए’ मा चार वटा कम्पनी, प्याकेज नम्बर ९ ‘ए’ मा तीन वटा कम्पनी र प्याकेज ९ ‘बी’ मा तीन वटा गरी १० वटा कम्पनीलाई छानेको बताइएको छ । 

जसअनुसार ८ ‘ए’ मा जियाङसी–हनुमान–दिवा जेभी (हनुमान कन्स्ट्रक्सन प्रालि, जियाङसी कन्स्ट्रक्सन इन्टरनेशनल इञ्जिनियरिङ कम्पनी लिमिटेड, दिवा निर्माण सेवा प्रालि, ललितपुर एउटा रहेको छ । 

अर्को समूहमा बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि, विष्णुप्रकाश आर पुङलिया लिमिटेड छन् भने तेस्रोमा अमर कन्स्ट्रक्सन प्रालि, बेइजिङ केली हाओजिङ टेक्नोलोजी डेभलपमेण्ट कम्पनी लिमिटेड कालीमाटी काठमाडौं छन् । 

त्यसैगरी, ८ ‘ए’ का लागि चौथोमा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालि, लङचियान रोड एण्ड ब्रिज कम्पनी लिमिटेड, अनामनगर काठमाडौं समावेश भएको बताइन्छ । 

प्राप्त विवरणअनुसार ९ ‘ए’ को प्याकेजमा अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेड, मुम्बई एउटा, बेइजिङ केली हाउजिङ टेक्नोलोजी डेभलपमेण्ट कम्पनी लिमिटेड, सि.ए.बी कन्स्ट्रक्सन प्रालि, अमर कन्स्ट्रक्सन प्रालि अर्को र हनुमान कन्स्ट्रक्सन प्रालि, चियाङसी कन्स्ट्रक्सन इन्टरनेशनल इञ्जिनियरिङ कम्पनी लिमिटेड, बानियाँ निर्माण सेवा प्रालि ललितपुरले आवेदन गरेका छन् । 

त्यस्तै ९ ‘बी’ प्याकेजमा हनुमान–बानियाँ जेभीअन्तर्गत हनुमान कन्स्ट्रक्सन, सिन्पाङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र बानियाँ निर्माण सेवा प्रालि ललितपुर छन् । आवेदक अर्को समूहमा बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि र विष्णु प्रकाश आर पुङलिया लिमिटेड छन् । त्यसैगरी गौरी पार्वती निर्माण सेवा प्रालि, जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड देखिएका छन् । 

यी सबै प्याकेजमा हनुमान कम्पनीलाई टेक्निकल इभालुएसनमा उत्तीर्ण गराइएको छ । जबकि हनुमान कम्पनीले एक पाइलो सडक बनाएको रेकर्ड छैन । सेनाभित्रका सबै इञ्जिनियरको मिलेमतोमा हनुमानलाई इभालुएसनमा पास गराइएको आरोप लागेको छ । सैन्य स्रोत भन्छ, ‘नेपाल आर्मीका धेरैजसो इञ्जिनियर, कतिपय वकिल र लेखापाल हनुमानकै तलब खाएर बसेका छन् ।’ 

उच्च स्रोतका अनुसार सेना प्रमुखलाई समेत हनुमानको प्रस्ताव सबै प्याकेजमा पास हुने संकेत टेण्डर फ्लोटपछिको दुई हप्तामै भएको बताइन्छ । तर, उक्त गम्भीर विषयलाई नजरअन्दाज गर्दै तीन वटै प्याकेजमा हनुमानलाई पास गराइयो । उनै रक्षा मन्त्रालय कुदिरहने मेजर सन्दीप अर्यालको हालैको कुरालाई सापटी लिने हो भने ‘नयाँ रिभ्यु बोर्ड बस्दै छ’ । बोर्ड बैठक सुदीपकै पहलमा हुन लागेको गाइँगुइँ छ । 

आगामी बैठकमा कालिका र मोतिदनलाई पनि प्रतिस्पर्धामा राख्नको निम्ति आवश्यक पहल भइसकेको बताइन्छ । सुदीपले आफ्ना पुराना पार्टनर कर्नेल विश्वबन्धु पहाडीलाई रिभ्यु बोर्डको हर्ताकर्ता बनाएका छन् । उनी स्लोप प्रोटेक्सनको बेला प्रतिशतको आधारमा ठूलै रकम कुम्ल्याउने विकास पोखरेलका खास हुन् । 

सेनाको एमआई १७ हेलिकोप्टर खरिद गर्ने क्रममा सुदीपले जनार्दन शर्मा अर्थमन्त्री हुँदा निकै ठूलो पहल गरेका थिए । पर्दापछाडि रहेका दीपक भट्टमार्फत उक्त हेलिकोप्टर खरिद गरिएको थियो । 

मेजर अर्यालको घर स्याङ्जा हो भने पहाडीको कास्की । जनार्दन शर्मासँग सुदीपको पछिल्लो सम्बन्ध र संकटकालदेखिकै सम्बन्ध तथा स्लोप प्रोटेक्सनमा मुक्ति शर्मालाई सेटिङ मिलाएको सन्दर्भ पनि अहिले उठ्न थालेको छ । यस्तो अवस्थामा मेजर अर्यालले रिभ्यु बोर्ड आफ्नै पहलमा राखिएको भन्नु संयोग मात्र नहोला । 

कानुनतः सेनामा रिभ्यु बोर्ड राख्न पाइन्छ । तर, प्रधानसेनापतिको सहमतिबिना यस्तो बोर्ड बस्नै नसक्ने अवकाशप्राप्त जर्नेलहरू बताउँछन् । पहिले अरुले भनेको र अहिले सुदीपले बोलाएको बैठकलाई एकै ठाउँमा राखेर हेर्दा बाघ कराउनु र बाख्रा हराउनुको सन्दर्भसँग मेल खाएको देखिन्छ । 

एकताका जर्नेल सोवेन्द्रसिंह महतले प्रधानसेनापति प्रभुराम शर्माप्रति चर्को प्रतिक्रिया जनाउँदै ‘बाहुन सेनापति हुनु हुँदैन’ भनेका थिए । यी सबै घटनाक्रमले उहाँको समय समयको फलोअप उपचारको चाँजोपाँजो, फास्ट ट्रयाकका ठेकेदारसँगको भेटघाटलाई शंकाको दृष्टिकोणले हेर्नुपर्ने बाध्यता आइपरेको कतिपयको आरोप छ । 

एमसिटिसी अर्थात् मास क्याजुअल्टी ट्रिटमेण्ट सेन्टर, छाउनीमा हस्पिटल बनाउने ठेक्का नेपाली सेनाको कल्याणकारी कोषको रकमबाट गरिएको होे । उक्त प्रक्रियामा ईपीसी मोडलबाट काम गरेको कार्यअनुभव मागिएको थियो । तर उक्त अनुभवको प्रमाण विशाल पण्डितको कम्पनी इजी इन्फ्रास्ट्रक्चरले आफ्नै बसेरा होटलमा बसेर बनाएको आरोप लागेको छ । 

आफ्नै कम्पनीलाई अनुभवको प्रमाणपत्र दिलाएर सोही आधारमा इजी इन्फ्रास्ट्रक्चरलाई ठेक्का दिन सेटिङमा ईपीसी शर्त राखिएको सहजै अनुमान लगाउन सकिन्छ । सैन्य नेतृत्वलाई समेत उक्त गैरकानुनी कार्यको जानकारी हुँदाहुँदै टेण्डर फ्लोट गरिएको थियो । मूल्याङ्कन समितिले स्वार्थ बाझिएको उल्लेख गर्दै सिफारिस गरेपछि विशाल पछाडि परेका थिए । 

तर, आफूले उक्त ठेक्का पाउनुपर्ने प्रशस्त आधार रहेको उल्लेख गर्दै उनले पिपिएमओमा उजुरी हाले । यी सबै सेटिङमा उनलाई सेना प्रमुख शर्माका सालो डा.सुधीर रेग्मी र जर्नेल अशोक सिग्देलले धाप मारेको बताइन्छ । मूलतः विशाल मेडिकल माफियाका रुपमा परिचित छन् । उनीसँग आफ्नो होटलबाहेक हालसम्म ठूलो भौतिक संरचना बनाएको कुनै अनुभवसमेत छैन । 

– देखीजान्नेहरु
 

टिप्पणीहरू