प्रधानमन्त्री फर्कनासाथ सम्पत्ति शुद्धिकरणको बैठक

प्रधानमन्त्री फर्कनासाथ सम्पत्ति शुद्धिकरणको बैठक

प्रधानमन्त्री कार्यालयमा सचिव लीलादेवी बर्तौलाको सरुवा भएसङ्गै सम्पत्ति शुद्धिकरण अनुुसन्धान विभागको पहिलो बैठक हिजो बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको दुई साता लामो भ्रमणबाट अस्ति फर्केपछि हिजो बैठक डाकिएको थियो ।

बैठकमा विभागले सम्बन्धित निकायहरुले विशेष रणनीति र योजना बनाएर आगामी एक वर्षभित्र यसअघिका सबै स्थगित कार्य र योजना सम्पन्न गर्ने निर्णय भएको बताइन्छ । विभागको ‘टेक्निकल टर्म’ बारे धेरैजसो निकायका प्रतिनिधि अनभिज्ञ रहेकाले सीमित सचिव र केही सरकारी अधिकारीहरुले आफ्ना धारणा राखेका हुन् । 

‘विभागको प्रभावकारिता कम हुँदै गएको कुरो उठाइयो । कानुन निर्माण,मुद्दाहरु दर्ता, सम्पत्ति फ्रिजिङ गरेमा मूल्याङ्कनमा उत्तिर्ण हुने विषयबारे चर्चा गरिएको थियो । त्यसको निम्ति एक वर्षलाई ग्रेस पिरियड प्राप्त भएको जानकारी दिइएको छ,’ विभागमा सहभागी एक जना प्रतिनिधिले बताए । 

बैठकमा प्रधानमन्त्रीको कार्यालयका तत्कालीन सचिव तथा हाल कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा प्रधानमन्त्री कार्यालयकी सचिव बर्तौला,गृह सचिव दिनेश भट्टराई,अर्थ सचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल,डेपुटी गभर्नर बमबहादुर मिश्र, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलगायतको उपस्थिति थियो । 

बैठकमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रभावकारी नभएकोबारे सामान्य विषय उठाए पनि त्यसमा कसैले पनि जोड दिएको देखिएन । ‘जटिलता र समस्याबारे कसैले कुरो उठाएनन्,’ उल्लेख गर्दै बैठकमा सहभागी एक जनाले भने, ‘बरु विभागको कार्यक्षेत्र र प्रभावकारिताको प्यारामिटरबारे धेरैलाई जानकारी नभएको स्पष्ट देखियो । आफ्ना आफ्ना संस्थाहरुले कार्ययोजना पेश गर्ने भन्ने कुरो छ ।’

टिप्पणीहरू