उध्योग मन्त्री सबैसङ्ग आजित

उध्योग मन्त्री सबैसङ्ग आजित

क्रसर व्यवसायप्रति आम धारणा नकारात्मक बनिरहँदा उद्योग तथा आपूर्तिमन्त्री रमेश रिजाल भने तिनै व्यवसायीको पक्षमा उभिएका छन् । आज संसदको उद्योग,वाणिज्य तथा उपभोक्ता संरक्षण समितिमा उपस्थित भएका उनले क्रसर उद्योगीहरुको बोलीमा लोली मिलाएका हुन् । 

क्रसर उद्योगको नवीकरण तथा दर्ता खोल्नुपर्ने उद्योगीहरुको मागमा आफू सतप्रतिशत सहमत रहेको मन्त्री रिजालले सुनाए । क्रसर उद्योगीहरु मर्कामा पर्नुमा मन्त्रालय, संसद र सिङ्गै सरकारलगायत धेरै पक्ष जिम्मेवार रहेको भन्दै उनले आफूलाई उद्योगीहरुको पक्षमा सशक्तरुपमा उभ्याए ।

बेला-बेलामा क्रसर उद्योगको कमजोरी र बदमासीलाई उजागर गर्ने मिडिया जगतप्रति पनि उनी त्यसक्रममा खनिए ।

उनको भनाइ थियो, 'जति समस्या छ, हामीभित्रै छ । त्यसको लागि हामी जिम्मेवार छौं । हरेक ठाउँमा हस्तक्षेप छ । मिडियाका साथीहरुले पनि बेला-बेलामा कुरा बङ्गाएका छन् ।' उनले न्यायालयमाथि पनि कटाक्ष गर्दै भने, 'अदालत त झन् क्रान्तिकारी भएको छ ।'

क्रसर व्यवसाय संचालनका लागि छुट्टै कानुन बनाउन अदालतले दिएको आदेशप्रति असन्तुष्ट देखिएका मन्त्री रिजालले उदाहरण दिँदै भने, 'गोदावरीको मार्बल उत्कृष्ट थियो तर सो आसपासका पार्कभित्रको पुतली मर्छ भन्ने अदालतको तर्कले आखिर उध्योग नै खत्तम भयो ।' सांसद विकास कोषको रकममा अदालतले हस्तक्षेप गरेको भन्दै उनी थप रिसाए । 

'म पनि सांसदलाई रकम बाँड्ने कुराको पक्षमा होइन,तर सार्वभौम संसदले गरेको निर्णयमा अदालतले हस्तक्षेप गर्न मिल्छ?' उनले प्रश्न गरे । विभिन्न सन्दर्भ जोड्दै पुन: क्रसर उद्योगीहरुको पक्षमा बोलेका मन्त्री रिजालले अब बन्ने ऐनमा क्रसर उद्योगको पक्षमा आफू उभिने खुलस्त पारे । उनको भनाइ थियो, 'भुटानले बंगलादेशलाई ढुंगा बेच्न पाउँछ । तर, हामीसँग भएको प्राकृतिक स्रोत किन बेच्न नपाउने ?' उनले यसबारे प्रधानमन्त्रीलाई पनि आफूले कुरा गरिसकेको सुनाए ।

नेपालमा कुनै उध्योग दर्ता गर्न अनेक कानुनी झन्झट हुने गरेकाले उधोग-व्यवसाय प्रवर्धन हुन नसकेको चिन्ता पनि जनाए । आफ्नै मातहतको कम्पनी कार्यालयलाई दृष्टान्त बनाउँदै उनले भने, 'कम्पनी कार्यालयमा काम लिएर जाँदा जाँदा मान्छेको दुई-चार जोर जुत्ता फाट्छ । उद्योग दर्ता गराउन नसकेर त्यसै फर्कन्छ । हामीले यसमा सुधार गर्न सकेका छैनौं । अब क्रसर उद्योगलाई छिटोभन्दा छिटो दर्ता र नवीकरण गर्न जरुरी छ ।'

उद्योगहरुको समस्या समाधान गर्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने पनि मन्त्री रिजालले बताए । सामान्य प्रशासन सचिव बिनोदप्रकाश सिंहलाई आग्रह गर्दै उनले भने, 'सचिवज्यू,यसमा सहजीकरण गरिदिनुस् ।'

समितिका अरु केही सांसदहरुले पनि क्रसर उद्योगीहरुलाई खुशी बनाउने बोली बोलेका थिए । सधैं समितिको बैठकमा उद्योगीको पक्षमा बोल्ने सांसद कृष्णकुमार श्रेष्ठ किसानका साथै अर्का सूर्यमान दोङ क्रसर व्यवसायीको मागमा सकारात्मक देखिएका थिए । सांसद दोङले उधोग जोगाउने पक्षमा आफू सकारात्मक रहेको तर क्रसर व्यवसायीले पनि रातारात धनी हुने कुरालाई मात्र सोचेर काम गर्न नहुने धारणा राखेका थिए ।

टिप्पणीहरू