स्वास्थ्य संस्थालाई शान्त र सुरक्षित बनाउन सरकार नै चुकेको ठहर

स्वास्थ्य संस्थालाई शान्त र सुरक्षित बनाउन सरकार नै चुकेको ठहर

जवाफदेहिता निगरानी समितिले स्वास्थ्य संस्था शान्त र सुरक्षित बनाउन सरकार असफल भएको आरोप लगाएको छ । स्वास्थ्यकर्मीमाथि निरन्तर भइरहेको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै समितिले दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार चुकेको गुनासो गरेको हो । 

एक महिनायता मुलुकका विभिन्न ९ वटा अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदासमेत सरकारले दोषीलाई कानुनको दायरामा ल्याउन चासो नदेखाउँदा स्वास्थ्य क्षेत्र थप असुरक्षित, अमर्यादित तथा अशान्त बन्दै गएको समितिको भनाइ छ । दण्डहीनता र अराजकताको अवस्था झांगिँदै जाँदा स्वास्थ्य क्षेत्रमा क्रियाशील रहेका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी हतोत्साहित बनेको समितिको ठहर छ । 

‘दण्डहीनता र अराजकताको अवस्था झांगिँदै गएको परिणामस्वरुप स्वास्थ्य क्षेत्रमा क्रियाशील रहेका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु देशमै बसेर स्वास्थ्य सेवा दिन हतोत्साहित हुँदै गएको र नेपालभित्रै स्वास्थ्य क्षेत्रमा भविष्य देखेर चिकित्सा शिक्षा लिँदै गरेकाहरु समेत त्रसित हुने र विदेश पलायन हुन प्रेरित हुने वातावरण सिर्जना हुँदै जानु गम्भीर चिन्ताको विषय बनेको छ’, समितिले विज्ञप्ति जारी गर्दै भनेको छ । 

स्वास्थ्य क्षेत्रलाई शान्त तथा सुरक्षित बनाउनु सरकारको दायित्व भएको स्मरण गराउँदै समितिले राजनीतिक संरक्षणमा भएका सांघातिक आक्रमणमा सरकारले मुद्दा नचलाउने, गम्भीर अपराधमा मुद्दा फिर्ता लिने, सत्ता जोगाउन अपराधीलाई कानुनी दायरामा नल्याउने स्थितिले मुलुकमा विधिको शासनमा स्खलन र दण्डहीनता बढेको जनाएको छ ।

टिप्पणीहरू