गैंडा जोगाउनै मुश्किल, एक वर्षमा डेढ दर्जन सखाप

गैंडा जोगाउनै मुश्किल, एक वर्षमा डेढ दर्जन सखाप
सुन्नुहोस्

गत चैत २९ गते चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई वटा गैंडा मृत अवस्थामा भेटिए । निकुञ्जको अमलटारी सेक्टरमा पर्ने मर्दी घोलस्थित नारायणी नदीको भङ्गालो क्षेत्रमा एउटा गैंडा मृत अवस्थामा फेला परेको थियो । 

त्यस्तै, निकुञ्जभित्रकै मध्यवर्ती क्षेत्रमा पर्ने काँसघारीमा अर्को बच्चा गैंडा मृत अवस्थामा भेटियो । बगही माडी सेक्टरमा पर्ने रिउ खोलाको दक्षिण किनारमा मृत अवस्थामा भेटिएको उक्त गैंडा बाघको आक्रमणबाट मारिएको हुनसक्ने अनुमान गरिएको छ । 

यता, अमलटारी सेक्टरको मर्दी घोलमा मृत भेटिएको गैंडा आपसमा जुधेर मरेको हुन सक्ने निकुञ्जले बताएको छ । यसअघि फागुन २४ गते पनि निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा एक सिंगे गैंडा मृत अवस्थामा फेला परेको थियो । 

त्यस्तै, गत माघ ६ गते नवलपुरको मध्यबिन्दु नगरपालिका वडानम्बर २ को नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा भेटिए । तीमध्ये एउटाको खाग निकालिएको थियो । यसबाट चोरी शिकारमा गैंडा मरेको हुन सक्ने अधिंकाश स्थानीयको आशंका छ । 

यता, माघ ८ गते चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एउटा गैंडाको बच्चा मृत फेला पर्यो । निकुञ्जका अनुसार मेघौली क्षेत्रको नारायणी नदी किनारमा एक महिनाको गैंडाको बच्चा मृत फेला परेको हो । उक्त गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दाबी छ । 

यता जेठ २ गते ललितपुरको स्टिलटावरमा गैंडाको खागसहित तीन जना पक्राउ परे ।  चितवन घर भई हाल ललितपुरको एकान्तकुना बस्दै आएका २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र काठमाडौंको नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ सो प्रकरणमा समातिएका हुन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरबाट खटिएको प्रहरी टोलीले स्टिलटावर चोक नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग (ओखेटोपहार) बरामद गरेको बताइएको छ । 

यस्तै, गैंडा मारी खाग चोरी गरेको मुद्दाका फरार प्रतिवादी यमबहादुर बानियाँ गत असोज ८ गते २५ वर्षपछि पक्राउ परे । २०५५ कात्तिक २८ गते चितवन राष्ट्रिय निकुञ्जको गैंडाको खाग काटेर चोरी गरेको तथा वन्यजन्तु कसुर मुद्दामा बानियाँलाई २०५७ माघ २५ गते निकुञ्ज कार्यालयले दश वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय तोकिदिएको थियो । 

त्यसलगत्तै फरार भएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर १० चौबिसकोठीबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
 
उनलाई आवश्यक कानूनी कारबाहीका निम्ति निकुञ्जको कार्यालय पठाइएको छ । पछिल्लो समय दुर्लभ एकसिङ्गे गैंडा संरक्षणमा चुनौती देखिएको छ ।चोरीशिकारीसँगै उचित बासस्थानको व्यवस्था नहुँदा गैंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको माथि उल्लेखित घटनाले प्रष्ट पार्छ ।

अहिले प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढ्दो छ । एक आपसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, तालमा डुबेर, बाढीले बगाएर, बच्चा गैंडा भाले गैंडाको आक्रमणमा परेर वा बाघजस्तो वन्यजन्तुको आक्रमणबाट पनि गैंडा मर्ने क्रम जारी छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो एक वर्षमा अठार वटा गैंडाको मृत्यु भएको छ । त्यसमध्ये तीन वटा गैंडाको मृत्यु मानवीय कारणले हुँदा अन्य गैंडा प्राकृतिक कारणले मरेको विभागको दाबी छ । विभागले चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म भने चार वटा गैंडा मृत अवस्थामा फेला परेको जनाएको छ । 

दुर्लभ एकसिङ्गे गैंडाको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमै सबैभन्दा बढी गैंडाको मृत्यु भएको विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्कअनुसार गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा १६ वटा गैंडा मृत अवस्थामा फेला परेका थिए । बाँकी दुई वटा मृत गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा भेटिएको बताइएको छ । 

विभागले चालु आर्थिक वर्षको असोज महिनासम्म मरेका चार वटा गैंडा पनि चितवन राष्ट्रिय निकुञ्जमै फेला परेको जनाएको छ । विभागका प्रवक्ता एवम् उपमहानिर्देशक अजय कार्कीका अनुसार नेपालमा सात सय ५२ वटा गैंडा छ । तर, पछिल्लो समय बढ्दो मानवीय गतिविधिका कारण गैंडामाथि जोखिम बढेको उनी बताउँछन् । 

‘उचित बासस्थान नहुँदा गैंडा मानव बस्तीमा आउने गरेको छ । यस्तो अवस्थामा मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण पनि यसको संरक्षणमा चूनौती देखिएको छ । अर्कोतर्फ दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या पनि प्रमुख छ । प्राकृतिक स्रोतमाथि बढ्दो मानवीय चापका कारण वन्यजन्तु बासस्थानको कमी हुदैँ गइरहेको छ,’ उनले भने । 

कार्कीले कमजोर भौतिक संरचना, स्रोतसाधनको अपर्याप्तता, वन्यजन्तुको बासस्थान खुम्चनु, क्षयीकरण तथा संरक्षित क्षेत्रबीचमा जैविक मार्ग सहज नहुनु, संरक्षित क्षेत्रका पूर्वाधार पुराना र जीर्ण अवस्थामा हुनु, वातावरणीय प्रदूषणजस्ता कारण गैंडा संरक्षण थप चुनौतीपूर्ण बन्दै गएको समेत बताए । 

गैंडा संरक्षणको निम्ति गस्ती कार्यलाई सशक्त बनाउनुपर्ने, बासस्थान व्यवस्थापनमा सुधार गर्नुपर्ने, मिचाहा प्रजातिलाई नियन्त्रण गर्नुपर्ने र गैंडाको बासस्थानमा पर्ने असर न्यूनीकरण गर्न विकास परियोजना निर्माण गर्दा वन्यजन्तुमैत्री उपाय अपनाउनुपर्नेमा उनी जोड दिन्छन् । 

योसँगै मानव र वन्यजन्तुबीचको सम्बन्ध प्रगाढ बनाउन तथा आम जनस्तरमा वन्यजन्तु संरक्षणका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्न आवश्यक रहेको उनले बताएका छन् ।

टिप्पणीहरू