शिक्षकहरुको आन्दोलनमा अभिभावकको बिमत्ति, मौन नबस्ने चेतावनी

शिक्षकहरुको आन्दोलनमा अभिभावकको बिमत्ति, मौन नबस्ने चेतावनी

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालय बन्द गर्ने शिक्षकहरुको आन्दोलनप्रति आपत्ति जनाएको छ । शिक्षकहरुको माग पूरा गर्न विद्यालय बन्द गरेर लाखौँ विद्यार्थीको भविष्य डामाडोल पारिएको जनाउँदै महासंघले असन्तुष्टि प्रकट गरेको हो ।  

महासंघका अध्यक्ष गुणराज मुक्तानले विज्ञप्ति जारी गर्दै अनिश्चितकालसम्मको विद्यालय बन्दका कारण करिब ८० लाख बालबालिकाको सिकाई अवरुद्ध हुने भएकोमा डेढ करोडभन्दा बढी अभिभावक चिन्तित भएको बताए । 

बालबालिकाको भविष्यप्रति संवेदनशील हुन अनुरोध गर्दै विज्ञप्तिमा आन्दोलनको चरम उत्कर्षसम्म नपर्खेर शिक्षकहरुको न्यायोचित माग तत्काल सम्बोधन गर्न सरकारको पनि ध्यानाकर्षण गराइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘बालअधिकारसम्बन्धी महासन्धीको धारा २८, नेपालको संविधानद्धारा प्रदत्त बालबालिकाको मौलिक हक, बाल अधिकारसम्बन्धी ऐन, २०७५, विद्यालय शान्ति क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धता समेतलाई मनन् गरी विद्यालय बन्दको विकल्पमा रचनात्मक आन्दोलन र वार्तामार्फत समस्या समाधान गर्न एंव बालबालिकाको शैक्षिक अधिकारलाई खेलबाड नगर्न सरकार र आन्दोलनरत दुवै पक्षसँग जोडदार माग गर्दछौं ।’

अन्यथा, आमअभिभावक र समुदाय मौन बस्न नसक्ने तथ्यमा सरोकारवालाहरु स्पष्ट हुन समेत महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

टिप्पणीहरू