प्रधानमन्त्रीलाई चीनको दुई ठाउँमा सैनिक सलामी

प्रधानमन्त्रीलाई चीनको दुई ठाउँमा सैनिक सलामी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई विशेष महत्व दिएको चीन सरकारले भव्य स्वागतको तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकामा रहनुभएका प्रधानमन्त्री त्यतैबाट चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । गत शनिबार न्यूयोर्क पुग्नुभएका उहाँले २१ सेप्टेम्बरमा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेलगत्तै त्यतैबाट हाङ्गचौ जाने कार्यक्रम छ । 

२३ सेप्टेम्बर बिहान १० बजे हाङचौ पुग्ने प्रधानमन्त्री प्रचण्डलाई विदेश मन्त्रीले विमानस्थलमा स्वागत गर्नेछन् । साढे १२ बजे उहाँले चिनियाँ राष्ट्रपति सि चिनपिङलाई भेट्ने र रिसोर्टमा संगै खाना खाने कार्यक्रम छ । त्यसपछि उहाँ आफू बसेको होटल जानुहुने र सोही दिन अपराह्न ४ बजे राष्ट्रपति सिसँग द्दिपक्षीय भेटवार्ता गर्ने तय भएको छ । 

सोही दिन राति ८ बजे प्रधानमन्त्री प्रचण्ड एसियन गेम उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । समारोहलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । भोलिपल्ट मध्याह्न १२ बजे प्रधानमन्त्री बेइजिङ्ग पुग्नुहुनेछ । उहाँलाई चिनियाँ मन्त्रीले विमानस्थलमा स्वागत गर्नेछन् ।

"नेपालले ६ वटा नाका खोल्न प्रस्ताव गरेको छ भने तीन वटा अहिले खोल्ने र बाँकी पूर्वाधार विकास गरेर छिट्टै संचालन गर्ने चिनियाँ पक्षको प्रस्तावमा सहमति हुने जनाइएको छ ।" 

चीन सरकारले प्रधानमन्त्री प्रचण्डलाई दियाओयुथाइ स्टेट गेष्ट हाउसमा बस्ने प्रवन्ध मिलाएको छ । गेष्ट हाउसमा केहीबेर आराम गरेर प्रधानमन्त्री साँझ चार बजे नेपाली र चिनियाँ व्यापारीहरुले संयुक्त रुपमा आयोजना गर्ने चाइना-नेपाल इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गर्न जानुहुने कार्यक्रम छ । त्यसका निम्ति नेपालबाट उध्योग वाणिज्य संघ,चेम्बर अफ कमर्स,उध्योग परिसंघका अध्यक्षसहित करिब ४० जनाको प्रतिनिधिमण्डल चीन जाँदैछ । सोही दिन साँझ ६ बजे बेइजिङ्गस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा  प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । 

२५ सेप्टेम्बर बिहान १० बजे तिआनमन स्क्वायरस्थित ग्रेट हल अफ दि पिपुलमा प्रधानमन्त्रीको भव्य स्वागत समारोह हुनेछ । चिनियाँ जनमुक्ति सेनाले हाउचौमा झैं यहाँ पनि उहाँलाई गार्ड अफ अनरले सम्मान गर्नेछ । साढे १० बजे प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी लि छ्याङ्गबीच औपचारिक भेटवार्ता हुनेछ । भेटका लागि झन्डै २ घण्टाको समय निर्धारण गरिएको छ । सो भेटमा बिभिन्न सहमतिपत्रमा हस्ताक्षरसमेत हुनेछ । 

ग्रेट हल अफ दि पिपुलमै समकक्षीसँग दिवाभोजन गरेर प्रधानमन्त्री प्रचण्ड सिधै बेइजिङ रिसर्च सेन्टर जानुहुनेछ । त्यसपछि सूचना प्रविधि र कृषिबारे अवलोकन गर्न चोङ्गछिङ्ग जाने कार्यतालिका छ । त्यहाँ प्रधानमन्त्रीलाई सिपिसीका एक स्थायी कमिटी सदस्यले स्वागत गर्नेछन् । 

त्यसपछि अर्को दिन प्रधानमन्त्री प्रचण्ड ल्हासा जाने कार्यक्रम छ । पोताला दरबारलगायत विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनपछि उहाँ सीमा नाकासम्बन्धी त्यहाँका सिपिसी सेक्रेटरी वाङ्ग चोनयाङ्गसंगको छलफलमा सरिक हुनुहुनेछ । सो भेटवार्तालाई नेपाल सरकारले भ्रमणको महत्वपूर्ण एजेण्डा बनाएको छ । नेपालले ६ वटा नाका खोल्न प्रस्ताव गरेको छ भने तीन वटा अहिले खोल्ने र बाँकी पूर्वाधार विकास गरेर छिट्टै सन्चालन गर्ने चिनियाँ पक्षको प्रस्तावमा सहमति हुने जनाइएको छ ।

२८ सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट ङ्गारी पुग्नुहुनेछ । माउन्ट कैलाश पुगेर ल्हासा फर्किने कार्यक्रम छ । भोलिपल्ट ल्हासाबाट छङ्तु आइपुग्ने प्रधानमन्त्रीको टोलीलाई सिपिसीका प्रान्तीय सचिवले स्वागत गर्नेछन् । त्यहाँका विभिन्न अनुसन्धान क्षेत्रहरुको अवलोकन भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड भोलिपल्ट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।   

प्रधानमन्त्रीको भ्रमणका क्रममा बिआरआईलगायत नेपालको पूर्वाधार विकास,सीमा नाकाहरूको सन्चालनलगायतका विषयमा महत्वपूर्ण समझदारी हुनेसमेत जनाइएको छ । द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषय भ्रमणको मुख्य एजेण्डा रहेको छ ।

टिप्पणीहरू