माओवादी नेता कोरियामा रोकिएकोबारे दूतावासको प्रष्टीकरण

माओवादी नेता कोरियामा रोकिएकोबारे दूतावासको प्रष्टीकरण

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि भइरहेको अनुसन्धानबारे सिओलस्थित नेपाली दूतावास प्रष्टीकरण दिएको छ । 

अगस्ट १० मा दक्षिण कोरिया गएका दीपशिखालाई त्यहाँका भन्सार अधिकारीहरुले रोकेको विषयमा विभिन्न हल्ला चल्न थालेपछि दूतावासका तर्फबाट प्रष्टीकरण आएको हो । आज विज्ञप्ति जारी गर्दै दूतावासले चिकित्सकको ‘प्रेसकृप्सन’ बिनाको औषधी भेटिएकाले भन्सार अधिकारीहरुले रोकेर अनुसन्धान गरेको जनाएको छ । 

उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेल (भण्डारी) का लागि दीपशिखाले लगिदिएको दूतावासको भनाइ छ । 

‘महामहिम राजदूतज्यूले विगत एक वर्षदेखि नियमित रुपमा सेवन गरिरहनुभएको औषधी राजदूतको अनुरोधबमोजिम निजले कोरिया आउँदा ल्याउने क्रममा डाक्टरको प्रेसकृप्सन ल्याउन छुटेकाले कोरियाका भन्सार अधिकारीहरुले प्रेसकृप्सनबिनाको औषधी लैजान नमिल्ने भनि सोसम्बन्धी कागजातहरु पेश गर्न माग गरेको कारण रामप्रसाद सापकोटा कोरियामा रोकिनुभएको हो’, विज्ञप्तिमा उल्लेख छ । 

भन्सार अधिकारीहरुको मागबमोजिमका कागजातहरु पेश गरिसकेकाले सो समस्या समाधान हुने अन्तिम चरणमा रहेको दूतावासले जानकारी दिएको छ । दिपशिखाले आज सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै चाँडै नेपाल फर्किने जनाएका छन् । 

उनले लेखेका छन्,‘अन्जानबस डाक्टरको प्रेसकृप्सन मसँग नभएकोले कोरियन सरकारको भन्सारले प्रेसकृप्सनसहित अन्य आवश्यक डकुमेण्ट मागेकोले राजदूतावासले मागेका डकुमेण्टहरु बुझाइसकेको छ । भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्किन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहीपनि होइन् ।’

टिप्पणीहरू