सरकारमा रहेको पार्टी संविधानको विरोधमा
संविधान दिवस भव्यरुपमा मनाउने सरकारको निर्णयलाई चुनौती दिँदै सत्ता साझेदार दल लोसपाले 'कालो दिवस' मनाउने घोषणा गरेको छ ।
संविधानका कतिपय प्रावधानप्रति विमत्ति जनाउँदै आएको महन्थ ठाकुर नेतृत्वको सो पार्टीले संविधान जारी भएको दिन भोलि (असोज ३ गते) 'कालो दिवस' मनाउन लागेको हो । भोलि मध्याह्न १२ बजे केन्द्रीय कार्यालय बबरमहलमा हुने विरोध प्रदर्शन कार्यक्रममा उपस्थिति हुन उसले नेता-कार्यकर्तालाई निर्देशन दिएको छ ।
लोसपासहित मधेस केन्द्रित दलहरु शुरुदेखि नै संविधानको विरोधमा छन् । २०७२ साल असोज ३ गते संविधान घोषणा रोक्न उनीहरुले भारतलाई गुहारेपछि नेपालले नाकावन्दीको सामनासमेत गर्नुपरेको थियो । त्यसबेला तराई-मधेसका विभिन्न जिल्लामा संविधान जलाएका ती पार्टीहरुले त्यसपछिका हरेक वर्ष असोज ३ गते कालो दिवस मनाउने गरेका छन् ।
संविधानको विरोध गरेपनि लोसपा पटक-पटक सरकारमा सामेल भैरहेको छ । संविधान बमोजिम सम्पन्न भएका तीनै तहका निर्वाचनमा उसले सहभागिता पनि जनाइसकेको छ । लोसपाका नेता शरतसिंह भण्डारी श्रम मन्त्री रहेका छन् । मधेश प्रदेश सरकारमा पनि लोसपाको सहभागिता छ ।
मधेसकै अर्को दल जसपाले भने यसवर्ष औपचारिकरुपमा 'कालो दिवस' घोषणा गरेको छैन ।
टिप्पणीहरू