आर्यघाटबाट बालकोट फर्केपछि ओलीद्वारा संविधान घोषणाको एउटा प्रसंग सार्वजनिक

आर्यघाटबाट बालकोट फर्केपछि ओलीद्वारा संविधान घोषणाको एउटा प्रसंग सार्वजनिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान जारी गर्न सुवास नेम्वाङले खेपेको कठिनाईको एउटा प्रसंग कोट्याउनु भएको छ । नेम्वाङको अन्तिम बिदाई गरेर पशुपति आर्यघाटबाट बालकोट फर्किएपछि आठ वर्ष पुरानो प्रसंग निकाल्दै उहाँले संविधान जारी गर्दाको सकस स्मरण गर्नुभएको हो । 

ओली भन्नुहुन्छ,'प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठिन बेलाको दृश्य आँखा अगाडि आयो ।'

"त्यसको सूचना लिएर नेम्वाङ्ग आत्तिँदै बालकोट पुग्नुभएको र आफूले नआत्तिन सुझाएको ओलीको भनाई छ ।"

ओलीका अनुसार संविधान जारी नगराउन त्यसबेला देशी विदेशी शक्ति केन्द्रहरुको चर्को दबाब नेम्वाङलाई थियो । त्यसको सूचना लिएर नेम्वाङ्ग आत्तिँदै बालकोट पुग्नुभएको र आफूले नआत्तिन सुझाएको ओलीको भनाई छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवसमेत संविधान जारी नगर्ने पक्षमा उभिएको ओलीको दावी छ ।   

संविधानसभाका सधैं शान्त रुपमा प्रस्तुत हुने नेम्वाङ त्यो दिन कडा रुपमा प्रस्तुत भएको स्मरण गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, 'उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें,के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भनें ।

संविधान रोक्न दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई ठूलो दवाव रहेको बताउँदै ओलीले भारतीय विदेश सचिव आएर फर्केपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर नेम्वाङ अत्तालिंदै आफूलाई भेट्न आएको उल्लेख गर्नुभएको छ । 'उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ’, नेम्वाङको भनाई भन्दै ओलीले लेख्नुभएको छ ।

टिप्पणीहरू