माघमा हुने नेकपा एसको महाधिवेशन कार्यतालिका तय
नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी र भदौ १८-२२ को सचिवालय बैठकले उक्त मितिमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले आज जारी गरेको अपानिमा जनाइएको छ । अध्यक्ष माधव नेपालद्वारा हस्ताक्षरित अपानीमा महाधिवेशनको तयारीका लागि कार्यतालिकासमेत निर्धारण गरेको छ ।
जसअनुसार असोज ५ गतेभित्र पार्टीका प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनहरुका केन्द्रीय समितिको बैठक बसी नयाँ सदस्यता वितरण र नवीकरणको काम शुरु गरिनेछ । त्यस्तै, संगठन विस्तार योजनाअनुरुप असोज महिनाभर मेची-महाकाली अभियान संचालन हुनेछ ।
असोज १ गतेदेखि मङ्सिर २० गतेसम्म विद्यमान कमिटीहरु अद्यावधिक गर्ने र सदस्यता वितरण तथा नवीकरण अभियान चलाउने अपानीमा उल्लेख छ । मङ्सिर २० गतेभित्र सदस्यता वितरण र नवीकरणको विवरण प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा बुझाउनुपर्नेछ ।
पुस १० गतेभित्र विभागले प्राप्त सदस्यता उपर आवश्यक जाँचबुझ तथा प्रमाणीकरण गरेर सम्बन्धित कमिटीमा फिर्ता पठाउनेछ । त्यस्तै, मङ्सिर २५ गतेभित्र सदस्यता प्रमाणीकरण भएकाले मात्र महाधिवेशनमा सहभागी हुन पाउने पनि अपानिमा जनाइएको छ ।
कात्तिक १५ गतेसम्म महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजको तयारीका काम सक्ने, कात्तिक १५ देखि पुस १५ गतेसम्म दस्तावेजहरु उपर छलफल बहस चलाउने, पुस २१ गते एकैदिन महाधिवेशन प्रतिनिधि छनौट गर्ने र पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने जनाइएको छ ।
माघ ५ भित्र महाधिवेशन प्रतिनिधिहरु यकिन गरिसक्ने कार्यतालिका छ ।
टिप्पणीहरू