गाई मार्छु भन्नेलाई बेलैमा नरोके सहन सकिँदैन : राजेन्द्र लिङदेन
राजसंस्था फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाई काटेर खानेलाई सरकारले कारवाही नगरे आफ्नो पार्टीले प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
राजसंस्थाको पुनस्र्थापना र हिन्दुराज्यको पक्षमा माहौल बनाउन राप्रपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । लिङदेनले गौवध तत्काल रोक्न सरकारलाई सचेत गराए । गाई, गोरु मार्छु भन्नेहरूलाई सरकारले तत्काल नरोके सामाजिक सद्भाव बिथोलिने, धार्मिक द्वन्द्व निम्तिने र राष्ट्रिय एकतामा खलल पुग्ने उनको ठहर छ ।
त्यसक्रममा लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाउन पनि प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै अध्यक्ष लिङ्गदेनले भने, ‘अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढ्नुपर्छ ।’
जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकका लागि हितकर हुने आफ्नो पार्टीको धारणा रहेको पनि उनले सुनाएका छन् । ’जनताको अधिकारका लागि हो भने संघीयताप्रति आपत्ति छैन । तर, यो मुलुकका लागि भारी हुनु भएन’, अध्यक्षले भने, ’जनप्रतिनिधिको संख्यामा भारी मात्रामा कटौती गर्नुपर्छ ।’
जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरूको भार देशले थेग्न नसक्ने उनको निश्कर्ष छ ।
टिप्पणीहरू