बुद्धभद्रलाई कहिले विभूति बनाउने सरकार ?

बुद्धभद्रलाई कहिले विभूति बनाउने सरकार ?
सुन्नुहोस्

सन् ४०३ मा काश्मिरमा उत्तरबाट आएका चिनियाँ यात्रु फाहियान र नेपालको पारिवारिक बिरासत भएका बुद्धभद्र भेटिन्छन् । भेट एक औसत भेटकोे रूपमा सकिँदैन । ‘मौथ्यान थोलो’ गुम्बामा बुद्ध धर्मका प्रखर विद्वान् बुद्धभद्रको ज्ञानबाट फाहियान अर्थात् हु एन्साङ प्रभावित हुन्छन् । बुद्ध धर्मका पाइलाहरू खोज्दै चीनबाट गोबी मरुभूमि पार गरेर मध्य एशियाको बाटो काश्मिर आएका थिए फाहियान । उनले बुद्ध जन्मथलो लुम्बिनीदेखि अरु बुद्ध तीर्थस्थल र बौद्ध धर्मग्रन्थबारे जानकारी दिएका थिए । 

दक्षिण एशियाली यात्रा सकेर दक्षिणपूर्र्वी एशिया हुँदै चीन फर्कने क्रममा आफ्ना केही सहयोगी सँगै राखिदिएर फाहियानले बुद्धभद्रलाई आफ्नो देश बोलाउँछन् । अन्ततः सन् ४०६ मा बुद्धभद्र भारत, म्यानमारदेखि भियतनामी बाटो प्रयोग गरेर चीन पुग्छन् । चीनको नानचिङलाई मुख्य आधार बनाएर सन् ४०९ देखि व्यापक बौद्धधर्मको व्याख्या, प्रचार, अनुवाद गर्छन् । पालीदेखि संस्कृत सबैका जानकार बुद्धभद्रकै कारण फाहियानका निम्ति बौद्धधर्मको खोज सहज भयो । सन् ३७५ मा १६ वर्षे तन्नेरी हुँदा नै गृहस्थी छाडेर बुद्ध धर्मतिर लागेकाले मात्रै बुद्धभद्र बुद्ध धर्मको प्रख्यात व्याख्याता भएका होइनन् । उनी बुद्ध कुलकै अनुहार भएर पनि सहज भएको हुन सक्छ ।

उनी सिद्धार्थ गौतम बुद्धका काकाको छोरा पनि थिए । त्यसले उनको बुझाइलाई वंशज बुझाइ पनि मान्न सकिन्छ । फाहियान र बुद्धभद्रको बौद्धिक मित्रता र सहकार्य आजीवन चल्यो । चीनमा बसेर दुई दशक काम गरे । उनकै कामले आज चीनको बौद्धधर्म ग्रन्थका ठेली बलिया र जीवन्त भएको देखिन्छ । सन् ४२९ मा बुद्धभद्रको मृत्यु भयो । त्यसको सात वर्षअगाडि सन् ४२२ मै फाहियानको मृत्यु भइसकेको थियो । पाँचौँ शताब्दीका यी दुई प्राज्ञको यो सहकार्य फगत उनीहरूको जीवनको पहिलो मात्रै थिएन । नेपाल र चीनबीच जनस्तरको प्रखर सम्बन्ध पनि पहिलो नै थियो । हिमालपारि गएर नेपालमा जन्मेका बुद्धको धर्मसम्बन्धी प्रचार, विस्तार र खोज गर्नु साँच्चै ठूलो योगदान थियो । 

आज पनि नेपाल र चीनबीच जनस्तरको कुरा गर्दा आउने दस्तावेज भएको प्रथम बलियो उदाहरण यही हो । सायद यही भएर हुनुपर्छ २०७६ असोजमा चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउँदा पनि यही प्रसंग कोट्याएर दुई देशको सम्बन्ध १६ सय वर्षभन्दा पुरानो भएको बताएका थिए । नेपाल भ्रमणमा आउने अघिल्ल्लो दिन ०७६ असोज २४ गते नेपालका अखबारमा आफ्नो हस्ताक्षरित आलेख लेख्दै सिले फाहियान र बुद्धभद्रको प्रसंग जोडेका थिए, ‘चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौँयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । करिब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फा सियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एकअर्काको देश भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपद अनुवाद गरेका थिए ।’

सिले यो प्रसंग जोडे पनि फाहियानको तुलनामा बुद्धभद्रको धेरै चर्चा हुन्न । यसो हुनुमा बुद्धभद्रलाई नेपालका प्राज्ञिक तथा खोज अनुसन्धानको क्षेत्रमा लाग्नेदेखि सत्तामा हुनेहरूले नदेखाएको चासो हो । बुद्धभद्रलाई नेपाल–चीन जोड्ने सेतुको रूपमा मात्रै प्रयोग गरिएको छ । ठूलो बहश, खोज, अनुसन्धान, प्रबद्र्धन र सम्मान भने गरिएको छैन ।

नेपाल सरकारले बुद्धभद्रलाई शुरुमा राष्ट्रिय विभूति बनाएर ठूलो स्थान दिन सक्छ । अहिलेसम्म चीनसँग जोडिएका एक अनुहार नेपालका राष्ट्रिय विभूति छन्, तेह्रौँ शताब्दीमा बेइजिङसम्म पुगेर नेपाली कला शैली फैलाउने अरनिको । महान् कलाकार अरनिको राज्यसत्तासँग जोडिएका अनुहार थिए । बुद्धभद्र भने राज्यसत्तासँग जोडिएर काम गरेका अनुहार थिएनन् । जनस्तरमा रहेर उनले धेरै राम्रो काम गरे । दुई देश जोडे । दुई संस्कृति जोडे । अझ अरनिकोभन्दा आठ शताब्दी अगाडि उनले त्यो छाप छोडेका थिए । त्यसैले सरकारले बुद्धभद्रलाई विभूति घोषणामा बिलम्ब गर्नुहुन्न । लुम्बिनी बौद्ध विश्वविद्यालयमा बुद्धभद्र अध्ययन संस्थान सञ्चालनदेखि अन्य खोज अनुसन्धानका काम गर्न सकिन्छ । सरकारले त्यसमा पहल गर्न सक्छ । 

नेपाल सरकारले पछिल्लो समय शेरबहादुर देउवा सरकार हुँदा जयपृथ्वीबहादुर सिंहलाई २०७९ असार ६ गते मन्त्रिपरिषद्को निर्णयबाट १८ औँ विभूति बनाएको थियो । मानवतावादी दर्शनका विश्वस्तरीय अगुवादेखि नेपालका विशाल दार्शनिक, समाज सुधारक सिंहलाई भन्दा अगाडि केपी ओली सरकारले भक्ति थापालाई पनि विभूति बनायो । २०७८ असार १४ गतेको मन्त्रिपरिषदको बैठकबाट थापालाई १७ औँ विभूति बनाइएको थियो । दुवै लोकप्रिय निर्णय हुँदाको सरकारमा प्रमुख घटक थियो माओवादी । अहिले माओवादीकै नेतृत्वको सरकार छ । प्रचण्डलाई बुद्धभद्रलाई नयाँ विभूति बनाउने र लोकप्रिय हुने अवसर छ । 

बुद्धभद्रलाई देशको १९ औँ विभूति बनाए एकै परिवारका विभूति हुनेको संंख्या पनि थपिनेछ । जनक र सीता, अनि भगवान गौतम बुद्ध र भिक्षु बुद्धभद्र । हिन्दू सभ्यताका मानक जनक र सीता अनि बुद्ध सभ्यताका मानक बुद्ध र बुद्धभद्र । यो आफैंमा सुन्दर संयोग हुनेछ । आगामी असोज ५ गते चीन भ्रमणमा पुग्ने प्रधानमन्त्री प्रचण्डलाई बुद्धभद्र विभूति घोषणाले तीन कोणमा फाइदा हुनेछ । एक, यसले बुद्धभद्रलाई नेपाली आम मानसपटलमा जोड्नेछ । दुई, यसले लुम्बिनीको पर्यटन तथा आध्यात्मिक महत्वको प्रचार गर्नेछ । तीन, चार वर्षअगाडि बुद्धभद्र सम्झिएका सिले पछिल्लो समय सार्वजनिक गरेको वैश्विक कार्यक्रम ग्लोबल सिभिलाइजेशनल इनिसिएटिभ हो । नेपाल र चीनको सिभिलाइजेशन जोड्ने सेतुको सम्मान गरेर चीन पुग्दा सिलाई सकारात्मक बनाई प्रचण्डले कूटनीतिक चातुर्यता देखाउन सक्छन् । बुद्धभद्रलाई विभूति बनाएमा सबै पक्षलाई फाइदा मात्रै छ । 

 

टिप्पणीहरू