चार हजार जनताको एकै चिहान

चार हजार जनताको एकै चिहान
सुन्नुहोस्

सुधा अत्रि, म्यान्मार

सिकिस्त बस्ती । धुवाँभित्र रुमल्लिएका लाखाैँ जिन्दगी। नरसंहार र बन्दूककाे डरले थामिएका सुनाैला सपना र स्वरहरू। अनि आफ्नै जनतामाथि बम बर्साइरहेकाे 'जुन्ता'। याे रणभूमि म्यान्मारकाे कहालीलाग्दाे कथा–व्यथा हाे।

एउटा 'विशाल म्यान्मार' द्वन्द्वले खुम्चिएकाे छ। डिजिटल–युग 'नजरबन्द'मा छ। अनि, नजरबन्दमै छिन् प्रजातन्त्रवादी नेत्री आङ सान सुकी। बर्मेलीहरूलाई सिमित घेराभित्र थुनिएकाे छ। र, पर्दा पछाडि 'क्रूर सैनिक' तानाशाहले आतंक मच्चाइरहेकाे छ।

सन् १९४८ काे स्वतन्त्रतापछि त्यतिखेरकाे बर्मा अर्थात् हालकाे म्यान्मार द्वन्द्वमै छ। क्रूर सैनिक र प्रजातन्त्रवादी नागरिककाे साइनाे झन्–झन् मेटिँदै छ। दशकौँसम्म शासन गरिरहेको सेनासँग असामान्य शक्ति छ। विपक्षीहरूलाई दबाउन बम बर्साइरहेकाे छ।

सन् २०१७ मा रोहिंग्या मुस्लिमविरुद्धको जातीय–सफाईले इतिहासको सबैभन्दा ठूलो शरणार्थी संकट निम्त्यायाे। र, सन् २०२१ काे आम–निर्वाचनपछि म्यान्मार सेनाले 'राजनैतिक कू' गर्‍यो।

सेनाकाे अप्रजातन्त्रिक कदमपछि बर्मेली प्रजातन्त्रवादीहरू तत्काल सडक आन्दाेलनमा निस्किए । अपदस्थ राजनीतिज्ञ र सामाजिक कार्यकर्ताहरू सशस्त्र प्रतिरोधमा लागे। दशकाैँदेखि राज्यविरूद्ध लडिरहेका जातीय सशस्त्र विद्राेहीहरू थप आक्राेशित बने।

म्यान्मार आन्दाेलित छ। देशको ठूलो भू–भाग विद्राेहीहरूकाे नियन्त्रणमा छ। र, रणभूमिकाे माेर्चा विद्राेहीहरूले सम्हाल्दै गर्दा सेनाले आकाशबाट बम बर्साइरहेछ। गृहयुद्ध चर्किँदै जाँदा म्यान्मार सेनाले हवाई आक्रमणकाे गति बढाएकाे छ। 'कू'पछि सत्तासीन 'जुन्ता'ले ४ हजार २३ सर्वसाधारण जनतालाई मारेकाे छ।

रखाइन प्रान्तबाट रोहिंग्या मुस्लिम लखेट्दा म्यान्मार सेनाले नरसंहारकाे रणनीति अप्नायाे । त्याे बेला हजाराैँ रोहिंग्याहरूकाे हत्या गरियाे। करिब १० लाखभन्दा बढी अल्पसंख्यक मुस्लिमहरू देशबाट खेदियाे। र, सन् २०२१ को फेब्रुअरीपछि १५ लाख बर्मेलीहरू गाउँ–ठाउँबाट विस्थापित भएका छन्। उनीहरू भारत र थाइल्यान्डतिर पलायन छन्। कतिपय नेपालसम्मै गएका छन्।

हवाई आक्रमणबाट भाग्ने क्रममा घाइते भएका २५ वर्षीय ऊ माउङ माउङले स्थानीय मिडियासँग भनेका छन्, 'म्यान्मारमा सैन्य तानाशाहीको अन्त्य नभएसम्म हाम्रो जीवन कुन दिन निभ्छ भन्ने अनिश्चितताले सताइरहन्छ।'

म्यान्मारकाे क्रूर सेनाले जनता मार्नका लागि चीन र रसियाद्वारा आपूर्ति गरिएका जेट विमानहरू प्रयोग गरिरहेको छ। विद्राेहीहरू जमिन केन्द्रीत लडाइँमा 'बहादुर' छन् तर आकाशमा कमजाेर छन्। लडाकु विमान वा हेलिकप्टरकाे आक्रमणले थलिएका बर्मेलीहरू गाउँ छाेडेर भाग्दैछन्।

सेनाले बस्ती सल्काउँदा उनीहरू जंगलतिर लुक्न खाेज्छन् तर सेनाका सिपाही उनीहरूलाई पछ्याउँदै जान्छन्। र, फर्केर उनीहरूकाे घर भत्काउँछन्। बालबालिका र वृद्धहरू भाग्न सक्तैनन्। सेनाले गत २५ मार्चमा सगाईं प्रान्तकाे सोन–कोने गाउँका १५० भन्दा बढी घर जलायाे। आगलागीमा परी मरेका ७ जनामध्ये ६ जना ७० वर्ष वा सोभन्दा माथिका थिए।

'सिपाहीहरू गाउँमा आइपुगे, भाग्न नसकेका सात वृद्ध व्यक्तिहरूले आफ्नो घरमा शरण खोजे,' आक्रमणबाट बचेका यु सेन मिन्टले स्थानीय मिडियासँग भने, 'दुर्भाग्यवश सेनाले उनीहरूकाे घर जलाइदिए र उनी उम्किन पाएनन्। वृद्ध मानिसहरूले डरलाग्दो नियति भाेग्दै आगोमा जले।'

बमकाे मुस्लाेले ढाकिएकाे छ– म्यान्मार। गाउँबस्तीहरू धुजाधुजा भएका छन्। दिनदिनै ढलिरहेका घरहरू। कालाे न कालाे अन्धकारमय कुहिरोभित्र बाँचिरहेका छन् बर्मेलीहरू। अबाेध घरहरू पालैपालाे खरानीकाे राशमा ढलिरहेका छन्। घर–मालिकहरू बाँच्नैका लागि जंगलतिर लागे। 

म्यान्मारकाे 'जुन्ता शासक'ले ढाल्दैछ जनताका झुपडीहरू। सेनाले भत्काइसक्याे 'अस्पताल, विद्यालय र गिर्जाघर'।

अस्पताल, विद्यालय र गिर्जाघरकाे भित्तामा गाेली नै गाेली छन्। धूवाँकाे तुवाँलाे पुत्पुताइरहेकाे अस्पताल, विद्यालय र गिर्जाघरमा एकाविहानै झुल्किएकाे सूर्यकाे किरणसमेत स्तब्ध छ।

समयकाे गतिमा म्यान्मारमाथि दमन बर्सेकाे र आगो दन्किएकाे तीन वर्ष पुग्नैलाग्याे। तरपनि क्रूर शासककाे 'सानदार प्रर्दशन' कायमै छ। एउटा व्यक्ति, एउटा समूह र एउटै साेच भएका एकहुल अराजक सिपाहीहरूकाे अमानवीय विचारले देश जलिरहेकाे छ।

म्यान्मारका गाउँ–नगरहरू विग्रिएका छन्, भत्किएका छन्। बस्तीमा मानिसहरू छैनन्। बर्मेलीहरू महिनाैँदेखि जंगली जीवन बाँचिरहेका छन्। र, त म्यान्मार जलिहरेछ। मानिस नै मानिसले भरिएका गाउँ–बस्तीमा अहिले शन्नाटा बाहेक केही छैन। छ त केवल आगोकाे मुस्लाे।

अनाैठाै ढंगले बाँचेका छन्, मानिसहरू। एकातिर सैनिक त्राश। र, अर्काेतर्फ छिमेकीहरूकाे वेवास्ता। म्यान्मारमा अनेकाैँ कुराकाे अभाव छ। नागरिकहरू बाँच्नका लागि बाँडीचुडी खान्छन् र जीवन धान्छन्। उनीहरूकाे छेऊ–छेऊमा बढिरहेकाे सर–सामानकाे भाउले आकाश छुन लम्केकाे छ। तरपनि बाँच्नैपर्ने बाध्यता छ।

सेनाकाे भयले उज्यालाे विहानीदेखि रात्रिसम्म तर्साउछ, मन। यीनै चक्रमा पिल्सिरहेका छन्, बर्मेलीहरू। दशकाैँकाे संघर्ष सिञ्चेर ल्याएका नियम–कानूनकाे सत्ताले हजाराैँ मानव समुदाय जुर्मुराएका थिए। सैन्य सत्ताकाे सानाे गल्तीले कैयाैँकाे वर्तमान र भविष्यलाई तहसनहस बनाएकाे छ।

बिग्रिँदै गएकाे बर्मेली–युगले शारिरीक र मनासिक यातना पाइरहेकाे छ। म्यान्मारबासीकाे शरिरभरी पट्किँदैछ बम–बारूद र हवाई आक्रमण। तर चुपचाप निस्किएका छन् धूवाँहरू। आफ्नाे घर जलेर पनि भन्न नसकेका यी पलहरू। छाेराछाेरी, पतिपत्नि, बुबाआमा र सबैसबैकाे हत्या हुँदापनि बाेल्न नसकेका यी मुखहरू। साच्चै भन्ने हाे भने क्रूर सत्तालाई समना गर्दैआएका यी काँटेधारहरू।

राज्य–सत्ताले सामाजिक सञ्जालमाथि प्रतिबन्द लगाएकाे छ। बर्मेलीहरूकाे मुख थुनिदिएकाे छ। हाल बाँधिदिएकाे छ। याे म्यान्मारकाे दुःखद् कथा–व्यथा हाे। दिल–दिमागबाट निस्किएकाे बेदना हाे।

बर्माकाे आकाशमाथि उडिरहेकाे ताताे मुस्लाे, केवल मुस्लाे हाेइन। त्याे बर्मेलीहरूकाे आँशुकाे वाफ हाे। आगाेकाे मुस्लाे मन–मनमा गुम्सिएका पीडाहरूकाे आवाज हाे। यतिबेला वेदना र दाह्रा किटेका आवाजहरूले म्यान्मार हल्लाएकाे छ। म्यान्मारको सैन्य ‘जुन्ता’ले दशकाैँदेखि आफ्नै जनतामाथि बम बर्साउँदा 'बर्मेली–सपना' सखाप भएको छ। र, 'जुता'काे क्रूरताभित्र थुनिरहेका छन् बर्मेली।
 

टिप्पणीहरू