पत्रकार कुटिएको घटनामा प्रेस सेन्टरको चासो

पत्रकार कुटिएको घटनामा प्रेस सेन्टरको चासो

पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि नवराजपुर गाउँपालिकामा भएको सांघातिक आक्रमणको घटनालाई लिएर नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरले आपत्ति जनाएको छ । 

रिपोर्टिङमा रहेका पत्रकार कुटिएको घटना गम्भीर रहेको भन्दै सेन्टर जिल्ला शाखाले गम्भीर चासो देखाएको हो । नवराजपुर गाउँपालिका-३ फूलबरिया गाउँमा रिपोर्टिङ् गर्न गएका पत्रकार गुप्तामाथि भएको सांघातिक आक्रमण, दुरव्यवहार तथा मोबाइल लुटपाट भएको घटनाले आफूहरु गम्भीर बनेको सेन्टर जिल्ला शाखाले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

हिजो दिउँसो गाउँपालिकाले ठेक्का लगाएको पोखरी खाली गराउन माछा मारिरहेको निषयमा रिपोर्टिङ् गर्न पुगेका पत्रकार गुप्ताले फोटो र भिडियो खिच्ने क्रममा आक्रमण भएको हो । विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीसहित लुटिएको मोवाइल फिर्ता गराउन प्रशासन समक्ष जोडदार मागसमेत गरिएको छ ।  

पोखरीमा सरकारको स्वामित्व दावी गरिरहेको पक्ष र गाउँपालिका कार्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीबीच घम्साघम्सी परिरहेको दृश्य पत्रकार गुप्ताले आफ्नो मोबाइलबाट खिचेका थिए । त्यसक्रममा ‘किन फोटो खिचेको’ भन्दै एउटा समूहले उनीमाथि सांघातिक हमला गरेको थियो ।

टिप्पणीहरू