माधव नेपाल भन्नुहुन्छ : भ्रष्टाचारविरुद्ध सरकारको कदममा पूर्ण समर्थन छ !
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप खेपिरहनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू सबै प्रकारको भ्रष्टाचारका विरुद्धमा रहेको बताउनुभएको छ ।
आज बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमप्रति पूर्ण साथ् र समर्थनसमेत जनाउनुभएको छ । अध्यक्ष नेपालले निर्दोष नफस्ने र दोषी नउम्किने भावनाका साथ अनुसन्धान अघि बढाउन सरकारलाई आग्रह पनि गर्नुभयो ।
बैठकमा अध्यक्ष नेपालले राखेका धारणाबारे जानकारी गराउँदै प्रवक्तासमेत रहेका उपमहासचिव जगन्ननाथ खतिवडाले भन्नुभयो, ’भ्रष्टाचारविरुद्ध सरकार लागि परेको छ यसमा संलग्न भएका जो कोहीलाई पनि कार्वाही गर्नुपर्छ । निर्दाेष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने भावनाले काम गर्न आह्वान गर्नुभएको छ ।’
प्रवक्ता खतिवडाका अनुसार बैठकमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर पार्टी गठन भएयताको अवस्था र समसामायिक राजनीतिका बारेमा ब्रिफिङ्ग गर्नुभएको थियो । त्यसक्रममा उहाँले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि विद्रोहको कठिन बिकल्प रोज्नुपरेको धारणा राख्नुभयो ।
भोलिसम्म चल्ने बैठकमा आज २६ सदस्यले धारणा राखेका छन् ।
टिप्पणीहरू