समाजवादीमा सुगर, माओवादीमा अल्सर

समाजवादीमा सुगर, माओवादीमा अल्सर

तपाईंलाई थाहै छ, मधुमेह अर्थात् सुगरका रोगीको लक्षण । थकाइ, आलश्यता, जाँगर नचल्ने, पिसाब लागिरहने, मुख सुक्खा हुने, खाना बढी रुचि हुने, खुट्टा पोल्ने, खुट्टा झम्झमाउने, आँखा धमिलो हुने, कुनै पनि घाउ निको हुन गाह्रो हुने, पिसाब फेरेको ठाउँमा कमिला लाग्ने । यी ११ लक्षण अहिले नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्तामा छपक्कै देखिन्छ । विज्ञानले चाहिँँ यसलाई सुगर भएको भन्छ र खानपानमा सुधार गर्नुपर्छ भन्छ । तर, राजनीतिमा लागेको सुगर झन् डरलाग्दो हुँदोरहेछ । यसको सुधार खोज्ने कसरी भन्ने विषयमा नेताहरूले चासो दिएको पाइन्न । 

केपी ओलीको प्रतिगमनविरुद्ध एक भए पनि पार्टी फुटाउने कुरामा त्यतिखेर सुरेन्द्र पाण्डेले रुचि देखाउनु भएन । उहाँले भन्नुभएको थियो, ‘यत्रो दुःखले बनाएको पार्टी । अब अर्को पार्टी बनाउन मान्छे कहाँ छन्, पैसा कहाँ छ ? पहिलाजस्तो सजिलै मान्छे पछि लाग्दैनन्, खर्च पनि छैन, महँगो भयो राजनीति ।’ अर्को पार्टी बनाउने माधवकुमार नेपालको महान् अभियानमा सुगरको पहिलो लक्षण सुरेन्द्र पाण्डेलाई देखियो । उहाँ उतै बस्नुभयो । कसैले सोचेका थिएनन्, चितवन–१ मा उहाँको २०७९ मंसिर ४ को निर्वाचनमा पराजय हुन्छ ।

केही साताअघि एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रचार विभागमा पनि नपत्याएका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ तनहुँ समाजवादीका अध्यक्ष श्रीराम कार्कीकहाँ पुग्नुभएछ । यसअघि त्यहाँ गोकर्ण विष्ट, भगवती न्यौपानेहरू पुगेर धूप बालिसकेका थिए । गुरुङ आएपछि कार्कीज्यूलाई पनि ठूलै ‘देवता’ घरमै आएझैँ फेसबुकमा फोटो हाल्ने रहर जागिहाल्यो । उहाँ सिंगो पार्टी कमिटीसहित एमालेमा ‘विलिन’ हुने अनलाइन खबरीलालको पुलिन्दापछि फोन गरेँ । उहाँले अनेक ताडना सुनाउनुभयो । कांग्रेस यस्तो, माओवादी यस्तो, गठबन्धन यस्तो, एमाले त साक्खे दाइजस्तो ! दोहो¥याएँ, ‘माधव नेपाल र किसान श्रेष्ठसँग कुरा गर्नुभएको छ ?’ उहाँले कुरा भएको सुनाउनुभयो । त्यति मात्र भएन कुरा, नेपाल र श्रेष्ठ पनि उहाँजस्तै आजित भएर ‘तपाईंकै कुरा ठीक हो’ भन्ने अवस्थामा हुनुहुन्छ भन्ने सुनाउनुभयो । २४ घण्टापछि नै उहाँ एमालेको टीका लगाएर पवित्र र सुगरमुक्त हुनुभयो । उहाँको सिंगो जिल्ला कमिटी तनहुँमा एमालेमा गइसकेको खबर आएको छैन । सुकुम्बासी आयोगको पद खान उहाँ समाजवादी भएको भन्नेहरू तनहुँतिर टन्नै छन् । कतै एमालेले नै अध्यक्ष बन्नु भनेर काजमा पो पठाएको थियो कि, नयाँ पुस्ताले प्रश्न गर्ने हो । उहाँमा समाजवादी पार्टी बनाउन सकिन्न भन्ने सुगरको अरू लक्षण आलश्यपन, जाँगर नचल्ने, एमाले देख्यो कि बोलूँबोलूँ लाग्ने, पुरानो एमाले घाउ निको नहुने, समाजवादीका पक्षमा बोल्न खोज्यो कि मुख सुक्खा हुने लक्षण देखिए । 

केही दिनअघि सिन्धुपाल्चोकको साँगागढीचोक पुगेको थिएँ । अनेरास्ववियुबाट राजनीति गर्दै त्यहाँ उपमेयर बनेकी समाजवादी प्रदेश कमिटी सदस्य सीता थापासँग चिया गफ भयो । अघिल्लो दिन मात्र सुभाष कर्माचार्यलगायत नेता एमालेमा फर्किए । तनहुँमा भन्दा सिन्धुपाल्चोकमा समाजवादीमा अलि बढी सुगरको संक्रमण देखियो । युवा पुस्ताका रवि भण्डारीदेखि धेरै नेता एमालेमा फर्किए । स्थानीय तह निर्वाचनमा माओवादीको चुनाव चिह्नमा समाजवादी र केही माओवादी पनि समाजवादी चिह्नमा उठेका थिए । तर, अहिले त्यहाँ माओवादी साथीहरूसँग भन्दा बढी हिमचिम एमालेकै साथीहरूसँग छ । एमालेका दुई जना नेता कार्यकर्ता समाजवादीमा आउन लागे बाटो छेक्ने, आए माओवादीमा आउने नत्र एमालेमै बस्ने भनेर रोक्ने काममा फेरि माओवादी साथीहरू अन्य जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि कम्मर कसेर लागेका रहेछन् । माओवादीको यो अल्सरको लक्षण हो । यो लक्षण अहिले देशभर देखिएको छ । केही थान मुख्यमन्त्री, मन्त्री, कांग्रेसले दिएको उपमेयरका बलमा समाजवादीलाई नगन्ने संक्रमणले चुनावयता समाजवादीको प्रमुख दोस्ती माओवादीसँग हुनुपर्नेमा एमालेसँगै हुन थालेकामा माओवादीको स्थानीय नेतृत्व जिम्मेवार छ । 

‘अस्ति भर्खर बरु सरकार छाडिन्छ, कांग्रेसलाई मन्त्री दिइन्न’ भन्ने बागमती प्रदेशको माओवादी अन्ततः रामकृष्ण चित्रकारलाई मन्त्री बनाउन तयार भयो तर समाजवादीलाई पनि सम्मान दिन जरुरी छ भन्ने विषयमा चिन्तित छैन । उसले नेतृत्व गरेको स्थानीय विद्यालय, कलेज, वनतिरको तथ्यांक हेर्ने हो भने बरु एमालेलाई रोजीछानी छ, समाजवादीलाई पदेन सदस्य दिन पनि माओवादीको ह्याकुला बिरामी हुने गरेको देखिएकै छ । हुन त केपी ओलीको बार्दली गएर प्रधानमन्त्री भएपछि पुष्पकमल दाहालले भन्नुभएको थियो, ‘माधवजी सोचेजति सजिला होइन रहेछन् ।’ उहाँले त्यो कुरा खण्डन नगर्नुभएको र समाजवादीले नसुनेजस्तो गरेका कारण मात्रै सतहमा नआएको हो । माओवादीहरू नै समाजवादी कति छन् र ? एमालेमा गइहाल्छन् भन्ने गरिरहेका छन् । जबकि बलियो समाजवादी मोर्चा बनाउने हो भने माओवादीको प्रमुख मित्रशक्ति उपेन्द्र यादवभन्दा बढी माधव नेपालकै नेता–कार्यकर्ता हुनुपर्ने कुरा माओवादीले नबुझेको त कहाँ होला र ?

सुगरको लक्षण हो, खाइरहन मन लाग्ने । जब हाम्रा नसा सुक्छन्, त्यसपछि बिरामी भइन्छ । ज्यान सुक्दै जान्छ । मंसिरमा भएको प्रदेश र संघको निर्वाचनपछि नै समाजवादीमा यो लक्षण देखिएको हो । स्थानीय तह निर्वाचनमा अलि बढी तातो रिस र जोश थियो । चुनाव उठ्छु भन्ने केहीले टिकट पनि पाए । त्यसपछि मंसिरसम्म पुग्दा कांग्रेस र माआवादीले देखाएको तुजुकले समाजवादीहरू आत्तिसकेका थिए । जब प्रदेश र संघमा पनि रामचन्द्र पौडेलहरू पाल्नुपर्ने अवस्था आयो, एमालेका साथीहरूले समाजवादीलाई ‘खानपान’को लत बसाइसकेका थिए । निर्वाचनमा समाजवादी हराउन एमाले कम्मर कसेर लागेको थियो । केही नेता खुलेरै लाग्दा पनि कारबाहीको डण्डा बर्साउन सकिएन । ‘एमालेमा जाला’ भन्ने डरले काम गरिरह्यो । मुख सुकाएर पनि बस्ने काम भयो । निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्दा खुशी हुने समाजवादीहरूकै कारण तल संगठन कमजोर भइसकेको थियो । टिकट दिने ठाउँमा आफू लड्न नसक्ने अनि माओवादी र कांग्रेसको रिसले ‘एमाले ठीक’ भन्नेहरू बढ्दै जाँदा उनीहरू निकटले नै अवसर पाए, उनीहरू एमालेको साधारण सदस्य हुन दौडिए, उनीहरूका आफन्त पनि गए । यताको अवसर पनि सोहोरेरै लिए । उनीहरू नै लेखाइरहेका छन्, ‘समाजवादी सिद्धिनै लाग्यो ।’ काम नगर्नेहरूलाई पद र इञ्चार्ज दिएर भएको बदमासीको क्षतिपूर्ति कसरी असुल्ने ?

सम्बन्धका हिसाबले माओवादी प्रमुख मित्र र प्रतिगमन ठानेर एमालेसँगै स्पर्धा गर्नुपर्ने हो । संगठन बनाउन सहज एमालेकै साथीहरू ल्याएर हो । तर, एमालेसँग झांगिएको मित्रता अहिले सबभन्दा डरलाग्दो देखिन्छ । एमालेले नीति लिएको छ, ‘व्यक्ति ल्याउने, संगठन नपत्याउने ।’ त्यहीअन्तर्गत हरेक हप्ता एमालेजन समाजवादी सदस्यको घरमा पुगिरहेका छन्, भेटिरहेका छन् । तर, समाजवादीमा भने एमालेका नेतासँग फोटो खिचेको स्क्रिन सर्ट पठाएर जागिर खानेहरूले नेताहरू छपक्कै ढाकिएका छन् । उनीहरूले पठाएको फोटो हेरेर को आफ्नो को पराइ भन्ने भेउ नपाउने अवस्थामा नेताहरू पुगेका छन् । फिल्डमा लडिरहेका, जुधिरहेका इमान्दार नेता कार्यकर्तामाथि शंकाको वातावरण बनाइदिनेहरूले समाजवादी हेडक्वार्टर मक्किरहेको छ । अनि एमालेहरूसँग झांगिएको प्रेम सुगर बनेर डरलाग्दो बनिरहँदा माओवादीले पनि आफूअनुकूल व्यवहार गर्दा साँँच्चै समाजवादीमा सुगरका सबै लक्षण देखिएका छन् । बनाउनुपर्ने पार्टी हो । तर, सामाजिक सञ्जालमा त्यस्तो देखिन्न । 

केही नेताको व्यवहार दोहोरो चरित्रको छ । जो देखे पनि ठिक्क पारिदिने । दशनामी आए दशनामी ठीक, क्षेत्री आए गजब, हो त भनिदिने प्रचण्डजस्तै व्यवहार गर्न खोज्दा नेताहरूको चरित्र ‘हाँसको चाल न कागको ताल’ भएको छ । समाजवादीमा रहँदा दैनिक दुई वटा स्ट्याटस माधव नेपाल र प्रचण्डलाई लेख्ने मुकुन्द न्यौपाने एमालेमा फर्केपछि केपी ओलीलाई लेख्न सक्छन् ? अहिले नेताहरू समाजवादीमा निकै उफ्रिपाफ्री गरिरहेका छन् । एमालेमा त्यस्तो सम्भव छ ? स्वयं पृथ्वी सुब्बा गुरुङ किन प्रचार विभागबाट हटे ? कतै असन्तुष्टि जनाउने ठाउँ छ ? कतै चाहिँदोभन्दा बढी स्वतन्त्रताले समाजवादीलाई सुगरपीडित बनायो कि ? अरू त उस्तै हो, एमालेबाटै आएकाले एमाले हुँदाको केही खराबी अझै नेताहरूले छाड्न सकेका छैनन् । कुरा लगाउनेको भीडले काम गर्नेहरूको भीड छोपिइरहेको छ । काम गर्ने र गर्छु भन्नेहरू पछि नै पारिएका छन् । केहीचाहिँ गुनासो मात्रै गरिरहन्छन् ।

अघिपछि एकाध प्रस्तावक र समर्थक नभएकाहरू पनि गुनासो गरेकै भरमा नेता भइरहने अनि भूगोलचाहिँ सिनित्त हुने अवस्था छ । समाजवादी पार्टीलाई टिकटक, फेसबुकजस्तै ठान्ने नेताहरूबाट पार्टी संगठन बन्दैन । उसो त महाधिवेशन आइरहेको छ । त्यसले पनि जुझारु नेतृत्व छान्ला । यथास्थितिमा जिल्लामा नेताहरूको मनोदशा बुझेर उसलाई सम्झाइबुझाइ गर्नुपर्नेमा कुर्सीमै हाइ काढेर ‘आलश्यपन’ देखाउनेहरूबाट संगठन बन्दैन भन्दा कोही रिसाउनु पर्दैन । माओवादीमा देखिएको समाजवादीप्रति ‘अल्सर’ र समाजवादीले अँगालेको ‘सुगर’ दुवै पार्टीका लागि दीर्घकालसम्म हानिकारक नै रहने देखिन्छ । 
 

टिप्पणीहरू