नेताले भन्न मिल्ने कुरा हुन् र यी ?

नेताले भन्न मिल्ने कुरा हुन् र यी ?
सुन्नुहोस्

मान्छेको कुरा सुन्नु भनेको एकअर्काको सुख र दुःख बुझ्नु हो । मान्छेका सुख के हुन् भने साँझ–बिहान राम्रोसँग खान र केही बचत गर्न पुग्ने आय । यस्तो भएपछि उसले घरको सरसफाइ गर्छ, बेलाबखत रुद्री, सत्यनारायणको पूजा लगाउँछ र गाउँलेलाई त्यसमा सहभागी गराउँछ । ज्वाइँ–छोरी आउँदा मीठो पकाएर ख्वाउँछ र फर्किंदा गाडीभाडा हातमा हाल्दिन्छ ।

दशैंमा टीका लगाउन आउनेलाई जमरा र दक्षिणा दिन्छ । बेलाबखत माछामासु घरमा ल्याएर खान्छ । छोराछोरीलाई लुगाजुत्ता किन्छ । दुःख के हो भने घरमा तेल छैन, चियापत्ती छैन । स्कूलको फिस तिर्न र स्कूल ड्रेस किन्दिन पैसा छैन । बिरामी पर्दा उपचार गर्ने पैसा छैन । श्रम नगरे हातमा पैसा आउन्न तर मजदुरी पाइन्न, आदि आदि । हामीले सुन्ने र समाधान गर्ने यी कुरा राजनीतिक पनि हुन् । तर हाम्रा नेताले यस्ता सुख–दुःखका कुरा हामीसँग नगर भन्छन् ।

जब जनताको सुख–दुःखलाई उसको निजी समस्या भनेर बुझिन्छ र त्यसलाई दरकिनार गरिन्छ त्यहीँदेखि जनताबाट टाढिने सिलसिला शुरु हुन्छ । काम नभएपछि नेतालाई नभनेर कसलाई भन्ने त ? आफ्नो नेतालाई, आफ्नो प्रतिनिधिलाई होइन र भन्ने ? नेताले नै होइन र उपाय बताइदिने ? के जनताले यति जना हाम्रा समर्थक बने, उतिजनाले पार्टी परित्याग गरेजस्ता रिपोर्टिङ मात्रै गर्ने हो र ? गाउँमा स्कूल राम्रो छैन, मेरो छोरोले प्लस टु पास गर्‍यो अब के गरौं भनेर नेतालाई भन्ने कि नभन्ने ? सुखदुःखको कुरा हामीसँग नगर भनेपछि तिनलाई नेता मान्नुको कुनै अर्थ रहन्छ र ? मान्छेलाई भोट खसाल्ने मेसिनको रूपमा लिने हो !

मान्छेका सपना हुन्छन् र ती सपनाका महल हुन्छन् । आफ्ना तिनै सपना पूरा गराउन मान्छेले काम गर्ने हो । त्यो काम गर्ने बेला आइपर्ने समस्या समाधान गर्ने सिलसिलामा नेतालाई भेट्नु र नेताहरूले त्यसमा सहयोग गर्नु ब्यक्तिगत काम हुँदै होइन । त्यो एकदमै सामूहिक र सामाजिक काम हो । सबै मान्छे लोकसेवा आयोग पास गरेका हुँदैनन् । सबैले सरकारी नोकरी पनि गर्दैनन् । र, साथसाथै सबैको पहुँच मीनबहादुर गुरुङ वा बिनोद चौधरीसँग हुँदैन जहाँ गएर नोकरी वा काम माग्न सकुन् । तिनीसँग उठबस गर्ने, लञ्च÷डिनर खाने त नेताहरू नै हुन् । ठेकेदारहरूसँग मार्सी चामलको भात खाने पनि तिनै हुन् । तिनीहरूले लोकसेवाबाट पास गराएर नोकरीमा राख्दैनन् । केही आफ्ना, केही नेताका र केही गाउँठाउँको चिनजानका मान्छेलाई नै काम दिन्छन् । भाटभटेनीमा काम खोज्न वा पाउन त नेतालाई नै भन्नुपर्ने हुन्छ किनभने सिधै त गेटबाट छिर्न पनि पाइन्न ।

हेर्दा यस्ता सवाल ब्यक्तिगत जस्ता लाग्न सक्छन् नेतालाई, किनभने काम माग्न आयो भन्ने देखिन्छ । तर त्यो ब्यक्तिगत होइन । कसरी बाँच्ने वा जीवन चलाउने भन्ने गम्भीर समस्या नपरिकन कसैले कसैको घरदैलो चहारेर हिँड्दैन । नोकरी माग्न नेताको ढोका हान्न जानु पनि स्वाभिमानको बर्खिलाप हो खासमा । तर मर्ता क्या नहीँ कर्ता भनेजस्तो जानैपर्छ र भन्नै पर्छ । त्यसकारण यो कुरा राजनीतिक हो भनेर बुझ्नु जरुरी छ । नेताको यही कुरालाई जजमेन्टको आधार बनाए उसले आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्छ । यो कुरा बुझ्नुपर्छ । 

गणतन्त्र आएपछि वामपन्थीहरू सरकारमा सामेल भएको निकै भइसकेको छ । समृद्धिको नारा बनेको पनि धेरै भएको छ । तर यो समयमा रोजगारी घटेको छ, बेरोजगारी र महँगी धेरै बढेको छ । यो समयमा शिक्षा धेरै महँगो र आममान्छेको पहुँचभन्दा टाढा पुगेको छ । स्वास्थ्य उपचार पनि गरिबको पहुँचमा छैन । कृषिको त कुरै नगरौं । खेतीपाती गर्नै नसकिने भएको छ । यस्तो भएपछि जनता÷मान्छेले के गर्ने ? चुपचाप सहेर बस्ने ? नेतृत्वले यस्ता बिषयमा रुचि राख्न छोडेको छ । एक त अब देशमा कामै छैन भनेपछि नेताले काममा लगाउनसक्ने कुरा पनि भएन । काम केहीको लागि युरोप, अमेरिका, जापान र कोरियातिर छ भने केही खाडी र इण्डियातिर छन् ।

कामको निम्ति नेतासँग एउटा ब्यक्तिमात्रै होइन सिङ्गो परिवार जोडिएको हुन्छ । अप्ठ्यारोमा सहयोग गर्नेलाई ‘बाउ’ समानको मान्ने चलन छ हाम्रो समाजमा । अब नेताले काम दिलाउन नसके वा नचाहेपछि जनतासँगको सम्बन्ध कसरी कायम रहन्छ त ? अहिले नेता र जनताको सम्बन्ध तोडिएको छ । हिजोजस्तो घरको सिंगो परिवारले एउटै मान्छेलाई भोट हाल्दैन । अब त जनताले भन्न थालेका छन् हरेक कुरा रेसिप्रोकल हुन्छ भाइ ! एउटा घरको पूरै भोट पाउन नसक्नेले चुनाव कसरी जित्ला ? आउने चुनावमा धेरै दिग्गज ठानिएका नेताहरूको पराजय हुने पक्का छ । 

सिद्धान्त, बिचार सहि भएपछि पार्टी बन्छ, चुनाव जितिन्छ र देश पनि बन्छ भन्ने कुरा सत्य हो । तर राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने नयाँ सिद्धान्त प्रतिपादन गरेपछि अब यो पुरानो सिद्धान्त स्वतः खारेज हुने कुरा ठीकै हो । अझ राजनीति जोगी बन्न गर्ने होइन भनेपछि त कुरा सक्किगो । टुपीभन्दा माथि रौं हुन्न भनेको यही हो । अहिले राजनीतिलाई सिद्धान्तहीन, विचारहीन, लक्ष्यहीन बनाउने काम भएको छ । चाँदीको थालमा विवाह भोज गराउने, हजारौँ संख्यामा मान्छे बोलाएर फाइभस्टार होटलमा विवाह भोज गराउनेहरू देशको राजनीतिक नेतृत्व गरिरहेका छन् । यिनले भनेको समाजवाद यसमा प्रष्टसँग देख्न सकिन्छ ।

बाँकी अरु पनि कोही कोसँग त कोही कोसँग जोडिएका छन् । भ्रष्टाचार महामारीकै तहमा छ । सुशासन कुन चराको नाम हो भन्ने बनिसकेको छ । आयाराम र गयारामहरू उत्तिकै छन् । अर्थात् अहिले हामी विशुद्ध ब्यक्तिवादको चंगुलमा छौं । यो भनेको हामीले भोट लिनको लागि मान्छेलाई एकठ्ठा गर्ने काम गरिरहेका छौं जनताको समस्या, देशको समस्या समाधानको निम्ति होइन । यस्तो राजनीतिले मान्छे मान्छेको बीचमा फाटो ल्याउन नै मद्दत गर्नेछ । बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउमै पैरो छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू